coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

डुंगाको बिम्बमा इशानका चित्र

काठमाडौं - आफ्नो देशको विकास गर्न विदेशी सोच हावी भएको अनुभूति नेपाली समाजमा जोकोहीले गरेकै छन्। अनुदान र दानबाट आर्थिक जोहो गरिरहेको कतै छिपेको छैन । त्यही सोचलाई कलात्मक रुपमा कलाकार इशान परियारले क्यानभासमा उतारेका छन्। नेपाली कला संस्कृतिको सम्मान यहाँको सरकारले अनुत्पादक क्षेत्रमा राखेको छ। कलामा लागेर कलाकारले जीविकोपार्जन गर्न सक्ने सम्भावना न्यून छ । तथापि ‘इथोज अफ सराउन्डिङ’ शीर्षकको उनको कला प्रदर्शनीमा राखिएका चित्रमा विदेशी आगमनले कला क्षेत्रको विकासको भरथेग गर्न सक्ने देखाउँछ।

उन्नाइसौं शताब्दीकी मेक्सिकोकी कलाकार फ्रिदा कालो भौतिक रुपमा नेपाल कहिल्यै आइनन् । तर उनको देहान्तको ७१ वर्षपछि इशानले उनलाई चित्रमार्फत नेपालमा भित्र्याए । कलामा प्रभाववाद झल्काउने फ्रिदा आफै पनि अरुलाई प्रभाव पार्ने स्वाभावकी थिइन् । नेपाली समाजमा लगाइने शिरफूल जस्तै उनी शिरफूल सजाउँथिन् । त्यही झल्को दिन इशानले गुराँसको फूल फ्रिदाको शिरमा सजाइदिएका छन् । ढाकाको पछ्यौरीमा उनी नेपाली बाला झै देखिएकी छिन् । अझ पोखराको फेवातालमा डुंगा सयर गरिरहेको उनको गतिले नेपालीपन दिएको छ।

डुंगा निर्जीव हो । तर भाव खोतल्दै जाँदा जीवित मानिसलाई एउटा किनारबाट अर्को किनारसम्म पु-याउने माध्यम पनि डुंगा हो । स्वार्थ बोकेर हिडेका मानिसलाई नदी तार्न निस्वार्थी डुंगाले मात्र सक्छ।

‘एउटा त विदेशी व्यक्तिलाई नेपाली भूमिमा स्वागत गर्न खोजेको हो,’ परियार भन्छन्, ‘उनीहरू आएपछि नेपाली कलाको पनि केही विकास होला कि भन्ने आशा गरिएको हो ।’ फ्रिदा जस्तै उनले मोनालिसालाई पनि नेपाली संस्कार संस्कृतिको आवरणमा फेवाताल पु-याएका छन् । हाकुपटासीको पहिरनमा खुलेकी मोनालिसाले डुंगा चढेर फेवाताल र माछापुच्छ्रेको सौन्दर्यलाई हेरिरहे झैं लाग्छ । उनले मोनालिसालाई दिवंगत कलाकार मनुजबाबु मिश्रको सम्झनाका रुपमा प्रस्तुत गरेको बताए । ‘जीवनको अन्तिम समयतिर मोनालिसँगको प्रेममा परे झैं लाग्ने उहाँलाई सम्झने माध्यम बनाएको हुँ,’ परियारले भने।

कलाकार गुस्ताभ क्लिम्टको सिको गर्दै उनले आकाशमा प्रेम गरिरहेका दृश्य चित्रमार्फत नेपाली कलामा भित्र्याएका छन् । धर्तीमा त्योसँगको फ्युजनका रुपमा आफ्नै सिर्जनाको नयाँ र पुराना डुंगालाई जीवनको संकेतका रुपमा प्रस्तुत गरेका छन् । परियारले स्वयंलाई पनि चित्रमा उतारेका छन् । मनका उथलपुथललाई जलकुम्भी झारका रुपमा शिरमा उमारेको उनका नीलो चित्रले अन्यौल भाव बोकेको  छ।

हरेक पटकको कला प्रदर्शनीमा एउटा विषय बोक्ने परियारले यसपटक डुंगालाई आफ्नो कलाको मुख्य विषय बनाएका छन् । सन् २०१३ मा भएको उनको ‘बेटर देन बिटर’ शीर्षकको कला प्रदर्शनीमा उनले तिते करेलालाई थिमका रुपमा ल्याएका थिए।

‘डुंगा निर्जीव हो तर भाव खोतल्दै जाँदा जीवित मानिसलाई एउटा किनारबाट अर्को किनारको गन्तव्यमा पु-याउने बलियो आशा पनि डुंगा हो,’ उनले भने, ‘स्वार्थ बोकेर हिडेका मानिसलाई निस्वार्थ नदी तार्न डुंगाले मात्र सक्छ।’

जीवनमा आफूले भोगेको संघर्षलाई उनले डुंगाको आकृतिमा मानिसका हातसँगको संसर्गमा सुल्झाउने ध्येय चित्रबाटै राखेका छन् । ‘माथि उठ्ने वा तल झर्ने भनेको आफ्नै हात र मेहनतमा भरपर्छ,’ उनले भने, ‘डुंगालाई जीवनमा कसरी प्रयोग गर्ने भन्ने कुरा भने बुझ्नुपर्छ।’

पुल्चोकस्थित जिजी मचानमा भदौ २४ गतेबाट सुरु भएको उनको कला प्रदर्शनी असोज १४ सम्म चल्नेछ । कला प्रदर्शनीमा रहेका १३ वटा चित्रको २५ हजारदेखि १ लाख २५ हजारसम्म मूल्य तोकिएका छन्।

प्रकाशित: १० आश्विन २०७५ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App