coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चन्द र चेम्जोङले बंगबन्धु गोल्डकप नखेल्ने

काठमाडौं – बंगलादेशमा आयोजना हुने पाँचाैं संस्करणको बंगबन्धु गोल्डकप प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङले नखेल्ने भएका छन्। 

बाँकी रहेको पुरस्कारको रकम अन्तिम समयमा नेपालले प्राप्त गरेसँगै प्रतियोगितामा सहभागिता पक्का भए पनि विदेशी क्लबबाट व्यावसायिक खेल खेल्दै आएका चन्द र चेम्जोङलाई पत्राचार गर्ने समय अपुग भएको भन्दै उनीहरूको ठाउँमा विकल्प खोजिएको नेपाली टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए। 

‘चन्द र किरणले केही वर्षयता व्यावसायिक खेल विदेशी क्लबबाट खेलिरहेका छन् । उनीहरुको आफ्नै तालिका रहेको हुन्छ। उक्त समयमा क्लबका लागि खेल्नु पर्नेहुन्छ । त्यसैले उनीहरु टोलीमा समावेश गर्न नसेका हौं,’ प्रशिक्षक महर्जनले भने, ‘दुवै जना टोलीका लागि अनुभवी र राम्रा खेलाडी खेलाडी हुन् । उनीहरूको अभाव त टोलीमा  स्वाभाविकै हो । यद्यपि हामीले उक्त अभावलाई पूर्ति गर्न युवा खेलाडी विशाल श्रेष्ठलाई गोलकिपरमा र तेज तामाङलाई रोहितको ठाउँमा समावेश गरेका छौं।’ 

गोलकिपर किरण माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट व्यावसायिक खेल खेलिरहेका छन् भने रोहितले इन्डोनेसियाको क्लब पर्सिजा जकार्ताबाट फुटबल खेल्दै आएका छन् । असोज १६ गतेदेखि आयोजना हुने पाँचाैं संस्करणको बंगबन्धु गोल्डकप २६ गतेसम्म हुँदै छ । ६ राष्ट्रले सहभागिता जनाउने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा नेपालसहित ताजिकिस्तान र प्यालेस्टाइन रहेका छन् भने समूह ‘बी’ मा आयोजक बंगलादेशसहित फिलिपिन्स र लाओस रहेका छन्। 

प्रतियोगितामा नेपालले ताजिकिस्तानसँग असोज १६ मा पहिलो खेल खेल्नेछ भने असोज २० गते प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ । लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । नेपाल चौथो संस्करणको विजेता हो। 

 

प्रकाशित: १० आश्विन २०७५ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App