coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सहिद स्मारक लिगः खेलतालिकामा केही परिवर्तन हुने

तस्बिर साैजन्यः गाेलनेपाल डटकम

काठमाडौं – पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका केही परिवर्तन हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने सहमति भएको थियो। 

‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि सुरु हुँदै छ भने बंगबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १४ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ । राष्ट्रिय टोलीका खेलाडीहरू ‘ए’ डिभिजनका छ क्लबमा आबद्ध छन् । बंगबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राख्दा ती क्लबलाई अप्ठेरो पर्ने क्लबले बताएपछि खेलतालिका परिवर्तन हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। 

‘बंगबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेलतालिका सार्वजनिक गरेका थियौं । अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुन सक्छ,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले भने। 

‘बंगबन्धु गोल्डकपमा नेपालको प्रदर्शन हेरेर लिगको खेलतालिकाको टुंगो लगाउनेछौं ।  नेपाल अघिल्ला चरण पार गर्न सफल भयो भने तालिका अलि बढी र पहिलो चरणबाटै बाहिरिए थोरै मात्र खेल परिवर्तन हुन्छन्।’

सहमतिअनुसार असोज १३ गतेदेखि सुरु हुने लिगको उद्घाटन खेल खेलाउने र बंगबन्धु गोल्डकप अवधिभर लिग स्थगित गर्ने निर्णय भएको छ । ‘असोज १३ गते उद्घाटन खेल खेलाउने निर्णय भएको छ, त्यसपछि राष्ट्रिय टोली बंगबन्धुमा सहभागी भइन्जेल लिगका अन्य खेल स्थगित हुनेछ,’ लिग संयोजक विज्ञानराज शर्माले भने। 

नेपाल बंगलादेशबाट फर्केलगत्तै लिग पुनः सुरु हुने र त्यसपछिका खेलमा कुनै परिवर्तन नहुने संयोजक शर्माको  भनाइ छ । ‘बंगबन्धु गोल्डकपमा नेपालको प्रदर्शन हेरेर लिगको खेल तालिकाको टुंगो लगाउनेछौं ।  नेपाल अघिल्ला चरण पार गर्न सफल भयो भने तालिका अलि बढी र पहिलो चरणबाटै बाहिरिए थोरै मात्र खेल परिवर्तन हुन्छन्,’ संयोजक शर्माले भने। 

‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा न्युरोड टोली एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी भिड्नेछन् । आर्मीमा राष्ट्रिय टोलीका चार खेलाडी छन् । असोज १३ गते लिग खेलेको भोलिपल्टै आर्मीका खेलाडी विकेश कुथु, सुमन अर्याल, भरत खवास र नवयुग श्रेष्ठ राष्ट्रिय टोलीसँगै बंगलादेश जानेछन्। 

महासचिव तुलाधरका अनुसार ‘ए’ डिभिजन लिगको उद्घाटन गरेपछि बंगबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्धन नभएका क्लबबीचको खेल सञ्चालन गर्ने दुई विकल्पबारे छलफल भए पनि खेलतालिका परिवर्तन गर्न अधिकांश क्लबले प्रस्ताव गरेकाले तालिकामा हेरफेर गरिएको हो। 

प्रकाशित: १० आश्विन २०७५ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App