८ वैशाख २०८१ शनिबार
खेल

आसिफ यु–१९ क्रिकेट टाेलीको कप्तान

काठमाडौं – बंगलादेशमा आयोजना हुने यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि आसिफ शेखको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा हुँदा सूर्य तामाङले टोलीमा डेब्यु पाएका छन्। 

यु–१९ टिमका मुख्य प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मिलित छनोट समितिले आसिफ शेखको कप्तानी र कमलसिंह ऐरीको उपकप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। 

यही शनिबारबाट असोज २१ सम्म आयोजना हुने प्रतियोगितामा नेपालले यु–१९ युथ एसिया कपमा नेपालले पहिलो खेल भारतसँग शनिबार नै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा साबिकको विजेता अफगानिस्तानसहित भारत र युएई रहेका छन्। 

यसै महिना भारतमा खेलिएको भारत यु–१९ र अफगानिस्तान यु–१९ सम्मिलित चतुष्पक्षीय शृंखलामा सम्मिलित नभएका रोहित पौडेल, नन्दन यादव, रवीन्द्रजंग शाही र सूर्य तामाङलाई युथ एसिया कप खेल्ने मौका प्रदान गरिएको हो भने भारत भ्रमणमा रहेका सम्साद आलम, विपिन रावल, लोकेश बम, किशोर महतो टिममा परेका छैनन्। 

नेपाली टिमको प्रमुख प्रशिक्षकमा विनोद दास छन् भने टिम म्यानेजरको रूपमा शक्ति गौचन, सहायक प्रशिक्षकको रूपमा मनोज कटवाल रहेका छन् । युथ एसिया कप खेल्न नेपाली टोली बिहीबार बंगलादेश प्रस्थान गर्नेछ। 

प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरी खेल सञ्चालन गरिनेछ । नेपाल सम्मिलित समूह ‘ए’ मा नेपालसहित अफगानिस्तान, भारत र युएई रहेका छन् भने समूह ‘बी’ मा आयोजक बंगलादेश, हङकङ, पाकिस्तान र श्रीलंका छन्। 

लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा स्थान बनाउनेछन्। 

नेपाली टोली : आसिफ शेख (कप्तान), कमलसिंह ऐरी (उपकप्तान), रोहित पौडेल, रवि शाह, नन्दन यादव, रित गौतम, पवन सर्राफ, रवीन्द्रजंग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी,  सूर्य तामाङ

 

प्रकाशित: १० आश्विन २०७५ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App