८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डो तेहेरो उपाधिमा केन्द्रित हुँदै

मिलान – फिफाको सर्वोत्कृष्ट वर्षखेलाडी पुरस्कार जित्न असफल भएपछि अब क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सबाट यो सिजन तेहेरो उपाधि जित्ने लक्ष्यमा आफूलाई केन्द्रित गर्नेछन्। 

पाँच पटकका बालन डी अर विजेता रोनाल्डो सोमबार राति लन्डनमा आयोजित पुरस्कार वितरण समारोहमा रियाल मड्रिडका पूर्व टिम सहयात्री लुका मोडरिचसँग पछि परेका थिए । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मोडरिचलाई सुम्पिएका रोनाल्डो पुस्कास सर्वोत्कृष्ट गोलको पुरस्कारमा पनि लिभरपुलका मोहम्मद सालाहसँग पछि परे। 

गत सिजनको च्याम्पियन्स लिग क्वार्टरफाइनलमा वर्तमान क्लब युभेन्ट्सविरुद्ध रियाल मड्रिडका लागि गरेको उत्कृष्ट ओभरहेड बाइसाइकल किक गोलका लागि उनी पुस्कास सर्वोत्कृष्ट गोलको पनि मनोनयनमा परेका थिए । रोनाल्डोले टुरिनमा त्यो गोल गर्दा युभेन्ट्सका समर्थकले पनि उनको सम्मानमा उठेर ताली बजाएका थिए।

युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले लिगका पछिल्ला दुई खेलमा तीन गोल गरेका रोनाल्डो उत्कृष्ट पुरस्कारको हकदार भएको बताए । गत सिजन च्याम्पियन्स लिगमा १५ गोल गर्दै रियाललाई लगातार तेस्रो पटक युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको उपाधि जिताएका कारण रोनाल्डो त्यसको हकदार भएको उनको भनाइ थियो।

‘लुका मोडरिचप्रति मेरो सम्मान छ । उनी अत्यन्तै राम्रा खेलाडी हुन् । तर उनीप्रति कुनै पूर्वाग्रह नराखी भन्दा पनि गत सिजनको प्रदर्शनका आधारमा रोनाल्डो सर्वोत्कृष्ट खेलाडी पुरस्कारको हकदार थिए।’

‘लुका मोडरिचप्रति मेरो सम्मान छ । उनी अत्यन्तै राम्रा खेलाडी हुन् । तर उनीप्रति कुनै पूर्वाग्रह नराखी भन्दा पनि गत सिजनको प्रदर्शनका आधारमा रोनाल्डो सर्वोत्कृष्ट खेलाडी पुरस्कारको हकदार थिए,’ एलेग्रीले भने। इटालियन च्याम्पियन युभेन्ट्सका लागि आगामी साता निक्कै महत्वपूर्ण छ । टोलीले सात दिनको बीचमा तीन महत्वपूर्ण खेल खेल्दै छ । बुधबार १८औं स्थानको बोलोग्नासँग खेलेपछि युभेन्ट्सले कार्लो एन्सेलोट्टीको नेपोलीसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । बोलोग्नाले सप्ताहान्तमा एएस रोमालाई २–० ले निराश पारेको थियो भने नेपोलीसँगको प्रतिस्पर्धा अंकतालिकाको शीर्ष स्थानका लागि निर्णायक भिडन्त हुनेछ। 

लिगमा सनसनीपूर्ण सुरुआत गरेको युभेन्ट्स पाँच खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा छ भने नेपोली १२ अंकका साथ दोस्रो स्थानमा छ । यसैबीचमा अर्को मंगलबार एलेग्रीको टोलीले च्याम्पियन्स लिग समूह चरणअन्तर्गतको खेलमा स्विस प्रतिद्वन्द्वी योङ ब्वाइजसँग खेल्नेछ । तर स्पेनमा भ्यालेन्सियाविरुद्ध सम्पन्न पछिल्लो खेलमा विवादास्पद रातो कार्डको सिकार भएका रोनाल्डो भने योङ ब्वाइजविरुद्धको खेलमा प्रतिबन्धमा हुनेछन् । नेपोलीले भने टुरिनको भ्रमण गर्नुअघि नवप्रवेशी पार्मालाई आतिथ्य प्रदान गर्नेछ । त्यसपछि टोलीले नेपल्समा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको खेल खेल्नेछ। 

‘गत सिजन हामीले टुरिनमा गएर जितेका थियौं । तर पनि सिजन सकिँदा हामी उपविजेतामै सीमित भयौं,’ नेपोलीका स्ट्राइकर लोरेन्जो इन्सिग्नेले भने, ‘मध्यसातामा पार्मालाई हराउन सकेनौं भने युभेन्ट्सविरुद्धको खेलको हामीलाई धेरै अर्थ बाँकी रहन्न । त्यसैले तत्काललाई हामीले पार्माविरुद्धको खेलमै आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । एक पटकमा एउटा खेलमा केन्द्रित भयो भने सिजन सजिलोसँग बित्छ।’

सिजनको खराब सुरुआतका कारण दबाबमा रहेको रोमाले पनि नवप्रवेशी फ्रोसिनोनेलाई निम्त्याउँदै छ । सप्ताहान्तमा बोलोग्नासँग पराजित भएपछि इटालियन सिरी ‘ए’ अंकतालिकाको १४औं स्थानमा सीमित भएको रोमा बुधबारको खेल जित्दै प्रतियोगितामा पुनरागमन जनाउन चाहन्छ। 

प्रशिक्षक इयुसेबियो डी फ्रान्सेस्कोलाई क्लब व्यवस्थापनले जागिर जोगाउनका लागि एक हप्ताको समय दिएको चर्चा चलेको छ । जुन एक हप्तामा उनले रोमबाहिरबाट आउने टोलीसँग खेलेपछि भने सप्ताहान्तमा लाजियोविरुद्धको डर्बी खेलको सामना गर्नुपर्नेछ । सप्ताहान्तमा युभेन्ट्ससँग खाएका दुईसहित जारी सिजनमा १२ गोल खाइसकेको फ्रोसिनोने अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा सीमित छ।

‘तत्कालका लागि फ्रोसिनोनेविरुद्धको अंक गणना नभएजस्तो भए पनि सिजनको अन्त्यमा यस्ता खेलमा निकालेको नतिजा महत्वपूर्ण हुने गर्छ,’ सप्ताहान्तमा नवप्रवेशी टोलीमाथि जित हासिल गरेपछि युभेन्ट्सका प्रशिक्षक एलेग्रीले भनेका थिए। 

प्रकाशित: १० आश्विन २०७५ ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App