coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पप्पुलाई ठेक्का दिएकोमा आपत्ति

काठमाडौं - पप्पु कन्स्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन बनाउन छनोट गरेकोेमा सांसदले विरोध जनाएका छन्। विकास तथा प्रविधि समिति बैठकमा मंगलबार बोल्दै सांसदहरूले कारबाही गर्नुपर्ने ठेकेदारलाई राष्ट्र बैंकको भवन निर्माण गर्न दुई अर्बको ठेक्का दिइएकोमा विरोध गरेका हुन्।

सांसद टोपबहादुर रायमाझीले कालोसूचीमा राख्नुपर्ने निर्माण कम्पनीलाई भवन बनाउन दिएर सरकारले के गर्न खोजेको भनी प्रश्न गरे । अर्का सांसद यज्ञ सुनुवारले पप्पु कन्स्ट्रक्सनका बारेमा समितिले थाहा नपाएको जस्तो गर्न नहुने धारणा राखे । त्यस्तै समितिका अर्का सदस्य दुर्गा पौडेलले पनि पप्पुको बदमासीप्रति प्रश्न गरिन्। ‘पप्पुले ठेक्का लिएर काम नगरेको पक्का हो, फेरि नयाँ ठेक्का किन दिन लागेको ? विकास समितिले छानबिन गरेर निचोड निकाल्नुपर्छ’, पौडेलले भनिन्। उनले विकास निर्माणका काम रोक्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार विकास समितिमा किन भन्ने प्रश्नसमेत गरिन्।

विकास समिति सभापति कल्याणी खड्काले काम नगर्ने ठेकेदारले उन्मुक्ति नपाउने स्पष्ट पारिन् । उनले राम्रोसँग अध्ययन गरेर भरपर्दाे निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्न भौतिक मन्त्रालयलाई निर्देशन दिने पनि स्पष्ट पारिन् ।

सिक्टामा लापरबाही
देशैभरिका ठेक्कामा ढिलासुस्ती गरिरहेको पप्पु कन्स्ट्रक्सनले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको शाखा नहरको काम निकै लाजमर्दो र चरम लापरबाहीपूर्ण तरिकाले गरेको छ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा पप्पुको लापरबाहीले हद नाघेपछि शाखा नहर निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको दाताले त्यस्तो सहयोग रोक्ने चेतावनी दिएका छन्। स्वदेशी लगानीमा निर्माण भइरहेको सिक्टामा दातामध्ये साउदी विकास कोष पहिलोपटक सहयोग गर्ने दातृ निकाय हो।

कोषको रकम खर्चेर उक्त आयोजनाअन्तर्गत डुुँडुवा खण्डको शाखा नहर बनाउन २५ महिनाअघि सिँचाइ विभागले पप्पुसँग सम्झौता गरेको थियो । तर, ठेक्का अवधिमा पप्पुले करिब सात प्रतिशत मात्र गर्न सकेपछि दातृ निकायले पप्पुबाट निर्माण सम्पन्न हुन नसक्ने ठहर गर्दै उक्त आयोजनाका लागि दिने भनिएको पूरै रकम रोक्ने चेतावनी सरकारलाई दिइसकेको छ । सिक्टाको निर्माण कार्य सुरु भएदेखि नेपालले विश्व बैंक, एसियाली विकास बैंकलगायत विभिन्न मुलुकसँग सहयोग र ऋण जुटाउने प्र्रयास गरे पनि सफल हुन सकेको छैन । विगतमा भारतीय अवरोधका कारण निर्माणकार्य अघि बढ्न नसकेको भनिएको सिक्टा सिँचाइ २०६१ देखि नेपालले आफ्नै लगानीमा बनाउन थालेको हो।

कोषले सिक्टाको डुँडुवा शाखा नहरका लागि दुई अर्ब ४१ करोड रूपैयाँ सहुलियत ऋण उपलब्ध गराउने अर्थ मन्त्रालयसँग सम्झौता गरेको छ । सोही रकमबाट सिक्टा सिँचाइ आयोजनाले पहिलो चरणमा २३ किलोमिटर शाखा नहर निर्माण गर्न पप्पुसँग ९८ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसारको समय सकिन अब तीन महिना मात्र बाँकी छ । कोषका अपरेसन विभागका इन्जिनियर नासिर अल्कासवीले हस्ताक्षर गरेको निर्णयमा समयमा काम नगर्ने पप्पुको ठेक्का नतोडिए सम्झौताअनुसारको सबै भुक्तानी प्रक्रिया अवरुद्ध हुने उल्लेख छ।

सम्झौताअनुसार काम नगरे पनि पप्पुले उक्त आयोजनाको करिब ११ करोड रूपैयाँ भने लिइसकेको छ। ‘मोबिलाइजेसनबापतको नौ करोड ८० लाख र छिटफुट काम गरेको भन्दै एक करोड १७ लाख रूपैयाँ पप्पुले लिएको छ,’ सिँचाइ मन्त्रालय स्रोतले भन्यो, ‘काम नगरी त्यति ठूलो रकम लिनु भ्रष्टाचार हो । त्यस्तो ठेकेदारलाई कारबाही गर्नुको साटो जिम्मेवारी लिएका अधिकारी तैं चुप मै चुप छन् ।’ पप्पुका प्रबन्धनिर्देशक सुमितका बाबु हरिनारायण रौनियार संघीय समाजवादी फोरमका तर्फबाट संघीय संसद्का सदस्य छन् । मन्त्रालयका कर्मचारी सांसद हरिनारायणकै कारण सिक्टाको शाखा नहर निर्माण कार्यमा ढिलाइ हुँदासमेत कारबाही गर्न गाह्रो भइरहेको गुनासो गर्छन्।

बाँकेको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी सुरु गरिएको उक्त आयोजनामा २५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । तर, अहिले भइरहेको कामको गति हेर्ने हो भने अब १० वर्षमा समेत सिक्टामा पानी नचल्ने स्थानीय बताउँछन् । उक्त आयोजना आर्थिक वर्ष २०७४/७५ मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्मको भौतिक प्रगति ५६ प्रतिशत छ । आयोजनाको हेडवक्र्स, मूल नहरको काम गर्दासम्म १४ अर्ब ७० करोड रूपैयाँ खर्च भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (सिँचाइ) सञ्जय शर्माले ठेकेदारको लापरवाहीले सिक्टाको डुँडुवा शाखा नहरको काममा ढिलाइ भइरहेको बताए।

प्रकाशित: १० आश्विन २०७५ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App