४ वैशाख २०८१ मंगलबार
समाज

चार वर्षमा भवनकाे जगमात्र

ओखलढुंगा - तत्कालीन जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सदरमुकाममा एक व्यक्तिको निजी घरबाट सञ्चालन भइरहेको छ। वार्षिक आठ लाख रुपैयाँ भाडामा व्यक्तिको निजी घरमा कार्यालय सञ्चालन गर्न थालेको चार वर्ष भयो। शिक्षा कार्यालयको नयाँ भवन निर्माणको जिम्मा लिएको ठेकेदारले समयमा भवन नबनाउँदा घर भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको हो।

१८ महिनामा नयाँ भवन बनाइसक्ने गरी ठेक्का पाएको निर्माण कम्पनी गाल्वा÷पुष्पाञ्जलि जेभी काठमाडौंले भवनको जग मात्र हालेर अलपत्र छोडेको छ । निर्माण कम्पनीले तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवनको जग मात्र हालेर चार वर्ष बिताएको स्थानीय बासिन्दा बताउँछन् । काम सम्पन्न गर्ने अन्तिम म्याद सकिएको पनि तीन वर्ष भइसक्यो।

२०७१ असार ३१ गते तत्कालीन जिल्ला शिक्षा कार्यालय र निर्माण कम्पनीबीच भ्याट रकमसहित २ करोड ८८ लाख ६७ हजार २ सय ५७ रुपैयाँ ५२ पैसामा नयाँ भवन बनाउने ठेक्का सम्झौता भएको हो । स्रोतका अनुसार ठेकेदारले भवन निर्माणका लागि छुट्याइएको बजेटको पहिलो किस्ता लिइसकेको छ । सम्झौता भएको एक वर्षपछि मात्र निर्माण कम्पनीले कार्यादेश पाएको थियो । तत्कालीन जिल्ला शिक्षा कार्यालयले निर्माण कम्पनीलाई भवन निर्माण थाल्न २०७२ असार ८ गते पहिलो कार्यादेश दिएको हो । तोकिएको मितिसम्म पनि ठेकेदारले भवन निर्माण अघि नबढाएपछि शिक्षा कार्यालयले पटकपटक स्पष्टीकरण मागेको थियो । जवाफमा शिक्षा कार्यालयले पुरानो भवन हटाउन ढिलो गरेको, निर्माण सामाग्री निर्माणस्थलसम्म पु¥याउने बाटो नभएको, भूकम्प लगत्तैको नाकाबन्दी लगायतका विविध समस्याका कारण भवन निर्माण अघि नबढेको ठेकेदार कम्पनीले जनाएको छ।

कम्पनीले पुनः एक वर्ष म्याद थपका लागि २०७३ मंसिर २१ गते तत्कालीन जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएको थियो । शिक्षा कार्यालयले ठेकेदारलाई फेरि दोस्रोपटक २०७३ पुस ७ गते कार्यादेश दिएको थियो । दोस्रोपटक कार्यादेश दिइएको पनि २१ महिना बितेको छ । शिक्षा कार्यालय भवन निर्माण अहिले अलपत्र अवस्थामा छ । निर्माण व्यवसायी आफैले बनाएको कार्यसूचीअनुसार काम नभएको विकास तथा समन्वय एकाइले जनाएको छ । कम्पनीले ०७३ असोज १४ गते काम सुरु गरेको तत्कालीन जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराएको थियो । शिक्षा कार्यालयका प्राविधिकहरूले निर्माणस्थलमा अनुगमन गर्दा कुनै काम सुरु भएको थिएन । यसरी ठेकेदार कम्पनी गाल्वा÷पुष्पाञ्जलि जेभीले विभिन्न बहानामा शिक्षा कार्यालयको भवन निर्माण अवधि लम्ब्याउँदै लगेको छ । जग खनेर अलपत्र राखिएका कारण नजिकै रहेको जिल्ला प्रशासन कार्यालयसमेत जोखिममा परेको छ । वर्षाका बेला पहिरो गई कार्यालयमा क्षति पुग्ने देखिएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले निर्माण व्यवसायीसँग समन्वय गरी चाँडै काम सक्न लिखित रूपमै निर्देशन दिएका थिए।

प्रमुख जिल्ला अधिकारी दाहालले पत्रमा व्यवसायीले काम नगरे हदै सम्मको कारबाही गर्न उपयुक्त हुने रायसहितको पत्र शिक्षा मन्त्रालयलाई समेत पठाएका थिए । पटक–पटकको आग्रह र निर्देशनलाई बेवास्ता गर्दै आएपछि निर्माण कम्पनीलाई कालो सूचीमा राख्न शिक्षा कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको थियो।

कालोसूचीमा राख्नु नपर्ने कारण खुलाई ०७३ चैत ११ गतेभित्र स्पष्टीकरण पेश गर्न भन्दै पत्राचार गरेको थियो । सूचनाअनुसार कम्पनीका निर्देशक नरेन्द्रकुमार श्रेष्ठले ०७३ चैत १० गते शिक्षा कार्यालयलाई लिखित जवाफ पठाएका थिए । साथै म्याद थपका लागि आग्रह समेत गरेका थिए । तर, निर्देशक श्रेष्ठले पठाएको जवाफ सन्तोषजनक नभएको शिक्षा कार्यालयले जनाएको छ । तोकिएको समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई कुनै कारबाही हुन सकेको छैन । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खगेन्द्र श्रेष्ठका अनुसार निर्माणस्थलमा निर्माण कम्पनीका कुनै कर्मचारी छैनन् । ‘भवनको जग हाल्नेबाहेक अरू काम भएको छैन, निर्माण कम्पनीसँगको ठेक्का तोड्न र कारबाहीका लागि गत जेठमा विभागमा पत्रचार गरेका थियौंं,’ उनले भने, ‘तर, विभागबाट कुनै निर्देशन आएको छैन ।’ निर्माण कम्पनीले पुनः म्याद थपका लागि आग्रह गरेको भए पनि शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुंगाले म्याद थपको कुनै औचित्य नभएको भनी विभागलाई चार महिनाअघि टिप्पणी पठाइसकेको छ।

प्रकाशित: १० आश्विन २०७५ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App