७ वैशाख २०८१ शुक्रबार
समाज

युवतीमाथि फेरि एसिड प्रहार

भरतपुर अस्पतालमा उपचाररत वसन्ती परियार। तस्बिर : नागरिक

चितवन - कावासोती नगरपालिका–१६, डण्डाकी वसन्ती परियार एसिड र चक्कु प्रहारबाट घाइते भएकी छिन्। २७ वर्षीया परियारमाथि सोमबार साँझ छिमेकी युवक खले भन्ने ३७ वर्षीय विमल विकले एसिड र चक्कु प्रहार गरेका हुन्। डण्डा हाटबजारबाट घर फर्कंदै गर्दा वसन्तीमाथि एसिड र चक्कु हानिएको थियो।

वसन्तीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न सर्जन डा. सुरेश प्रधानका अनुसार एसिडका कारण वसन्तीको शरीरको २५ प्रतिशत भाग जलेको छ। त्यस्तै उनको पेट, छाती, गाला र टाउकोमा चक्कुले हानेको घाउ रहेको डा. प्रधानले बताए। चक्कु प्रहारबाट पेटको आन्द्रा निस्केको, गालाको हड्डीमा असर परेको, छातीमा हानिएको चक्कुले करङसम्म घाउ भएको जानकारी पनि डा. प्रधानले दिए। प्रधानका अनुसार वसन्तीको आँखामा पनि गहिरो चोट लागेको छ। एसिडले दुवै हात, अनुहार, घाँटी, छाती जलेको छ। ‘शल्यक्रिया गरियो, भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौं’, डा. प्रधानले भने, ‘अहिले यसै भन्न सकिने अवस्था छैन।’

वसन्तीका १३ वर्षीय छोरा र सात वर्षीया छोरी छन्। छिमेकीले यसरी आक्रमण गर्नुको कारण केही थाहा नभएको वसन्तीका पति यमबहादुर परियार ‘प्रकाश’ ले बताए। ‘वसन्तीलाई एक/डेढ महिनादेखि मार्ने योजना बनाएको रहेछ’, यमबहादुरले भने, ‘वीरगन्जबाट एसिड ल्याएको भन्ने पनि घटनापछि नै थाहा पायौं।’ आक्रमण गरेपछि प्रहरी कार्यालयमा गएर विमलले आत्मसमर्पण गरेको जानकारी यमबहादुरले दिए। आक्रमणकारी विमल कावासोती प्रहरी हिरासतमा छन् । वसन्तीलाई मार्ने योजना बनाएको विमलले प्रहरीलाई दिएको बयानबाट खुलेको यमबहादुरले बताए।

महिलामाथि यस किसिमका क्रुर आक्रमण बढ्दै गएका छन्। करिब दुई साताअघि रौतहटमा पनि दुई दिदीबहिनीमाथि राति सुतेको समयमा एसिड प्रहार गरिएको थियो। दुई दिदीबहिनीमध्ये एकको उपचारका क्रममा काठमाडौंमा आइतबार मृत्यु भएको छ। रौतहटका दिदीबहिनीमाथि पनि छिमेकीले एसिड हानेका थिए । एसिड प्रहारबाट गम्भीर घाइते चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना कुमारी दासको उपचारका क्रममा काठमाडौं कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। भदौ २६ गते राति सम्झना र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि एसिड हानिएको थियो । सुस्मिताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड आक्रमणको आरोपमा छिमेकी ५० वर्षीय रामबाबु पासवानलाई प्रहरीले पक्राउ गरेको छ। पटकपटक फोन गर्दा पनि फोन रिसिभ नगरेको झोंकमा एसिड प्रहार गरेको बयान पासवाले प्रहरीलाई दिएका छन्। पासवानविरुद्ध जिल्ला अदालत रौतहटमा कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

एक्कासि एसिड र चक्कु प्रहार : मीठू परियार
हाइवेबाट छ/सात घर भित्र गएपछि हाम्रो घर आउँछ। हामी दुई दिदिबहिनीले एउटै घरका दाजुभाइसँग बिहे गरेका छौं। हिजो (सोमबार साँझ) मामाकी छोरी, बहिनी र म बजार गएर आउँदै थियौं। डण्डा बजारमा लाग्ने हाटबजार गएका थियौं । म अलि अगाडि थिएँ । मामाकी छोरी र बहिनी सँगसँगै हिँड्दै थिए।

उसलाई (खले भन्ने विमल विक) पछाडि–पछाडि आउँदै गरेको देखेका थियौं। त्यस्तो गर्ला भन्ने थाहा नै भएन। सधैं भाउजू भन्ने, बोल्ने मान्छे हिजो बोलेन। पछाडिबाट बहिनीको कपाल झ्वाट्ट तान्यो। तेजाब हो कि के भन्छ त्यो खनाइदिएपछि बहिनी चिच्याइ। आबुई! यो के भयो भनेर भन्दा खेरि छुरी हान्न सुरु ग-यों। चिच्याउँदै बहिनी भएको ठाउँमा गएँ। चार/पाँच जना अरु महिला पनि जम्मा भयौं।

बजारबाट पाँच मिनेट जसोमा घर पुगिन्छ। घर नपुग्दै आधा बाटोमा त्यस्तो घटना भयो। बेलुका सात बज्न केही मिनेट बाँकी हुँदा यस्तो घटना भयो। सम्साँझैको कुरा हो। मेरो घर छेउको छिमेकीले त्यस्तो घटना गरायो। हामीले खले बाबु भनेर भन्थ्यौं। पुर्खाको पालादेखि छिमेकी भएर बसेका थियौं।

प्रकाशित: १० आश्विन २०७५ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App