coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीले खोज्दै, पप्पु कन्स्ट्रक्सनका रौनियार लुक्दै

रौतहट– गत भदौ ९ गते रौतहटको गौर नगरपालिका ४ टिकुलियानजिक बकैयामा दुर्घटना भएको ढुंगाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सनको संचालकलाई रौतहट जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ। समयमा पुल निर्माण नगरेको कारण दुर्घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा कन्स्ट्रक्सनका संचालक सुमित रौनियारलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउनुपर्ने माग गरेबमोजिम अदालतले पक्राउ पूर्जी जारी गरेको हो।

गत भदौ ९ गते भएको डुँगा दुर्घटनामा २९ जना सवार थिए। पश्चिमटिबाट पूर्वतर्फ आउँदै गरेको डुँगा पानीको तीव्र गतिको कारण निर्माणाधिन पुलको पिलरमा ठोक्किएर दुई टुक्रा भएको थियो। डुँगा दुई टुक्रा भएपछि डुँगामा सबार २९ जनामध्ये २४ जनाको उद्धार भएको थियो भने ५ जनाको मृत्यु भएको थियो। उद्धार गरिएकामध्ये पाँच जना घाइते भएका थिए।

मृतकका परिवार तथा आफन्तजनले डुँगा दुर्घटनाको मुख्य कारण ठेक्का सकार गरेको समयावधिभित्र पप्पु कन्स्ट्रक्सनले पुलको निर्माण नगरेको भन्दै स्थानीयले किटानी जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारजनले कन्स्ट्रक्सनका संचालक रौनियारलाई दुर्घटनाको मुख्य दोषी बनाई किटानी जाहेरी दिएका हुन्।

यसैगरी जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी निरीक्षक ओमप्रकाश यादवलाई घटनाको अध्ययन गरी प्रतिवेदन पेश गर्न अधिकृत तोकेको थियो। यादवले दिएको प्रतिवेदनमा पनि डुंगा दुर्घटना हुनुमा पप्पु कन्स्ट्रक्सनले गरेको लापरवाही र डुंगा चालक पप्पु चन्द्रवंशीलाई किटान गरेको छ। कन्स्ट्रक्सनका संचालकमाथि ज्यान मुद्दा चलाउन प्रतिवेदनले सिफारिश गरेको छ।

प्रहरी प्रतिवेदन र पीडित परिवारले पप्पु कन्स्ट्रक्सनका संचालक रौनियारविरुद्ध ज्यान मुद्दा चलाइनुपर्ने भनेपछि रौतहट प्रहरीले जिल्ला अदालतमा छानबिनको लागि पक्राउ पूर्जी जारी गर्ने आदेश माग गरेको थियो। जिल्ला अदालतले आदेश दिएपछि प्रहरीले कन्स्ट्रक्सनका संचालकलाई पक्राउ गर्न विभिन्न प्रहरी युनिटलाई पत्राचार गरेको छ।

रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा ९ को उपदफा २ बमोजिम डुंगा चालक पप्पु चन्द्रवंशी र पप्पु कन्स्ट्रक्सनका संचालक सुमित रौनियारविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको र अदालतबाट आदेश लिई पक्राउ गर्न विभिन्न प्रहरी युनिटलाई पत्राचार गरिएको जानकारी दिए।

पर्सा जिल्लाको पोखरिया नगरपालिकाको सतबरिया गाउँका स्थायी बासिन्दा कन्स्ट्रक्सनका संचालक रौनियार संघीय समाजवादी फोरम नेपालका सांसद हुन्। रौतहट प्रहरीले पत्र पठाई पक्राउ गर्न आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले रौनियार पर्सास्थित आफ्नो घरमा नरहेको जानकारी गराएको छ। कन्स्ट्रक्सनका संचालक एवं साँसद रौनियार काठमाडौँमा डेरा लिई रहने गरेको सुनिएपछि काठमाडौंको विभिन्न प्रहरी प्रभागलाई रौतहट प्रहरीले पक्राउ गर्न पत्राचार गरेको छ। 

संचालक रौनियार लुक्ने सबै ठाउँमा प्रहरीले निगरानी बढाएको छ। सम्भावित सबै ठाउँमा निगरानी बढाएकोले कन्स्ट्रक्सनका संचालक रौनियार छिट्टै प्रहरी नियन्त्रणमा आउने एसपी ढकाल बताउँछन्।

प्रकाशित: ९ आश्विन २०७५ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App