८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर महिलाको मृत्यु प्रकरण : प्रहरीमाथि घटना तोडमोडको आरोप

कोहलपुर– करेन्ट लागेर महिलाको मृत्यु भएको घटना रहस्यमय बन्दै गएको छ। सोमबार बिहान करेन्ट लाग्दा कोहलपुर–१२, निबुवाकी २८ वर्षीया देवी विकको ज्यान गएको हो। देवी करेन्ट लागेर लडेपछि उनलाई उठाउन खोज्दा उनकी ११ वर्षीया छोरी एलिसालाई पनि करेन्ट लाग्यो। उनी घाइते छिन्। 

धारामा पानी भर्ने क्रममा मोटरबाट विद्युत सर्ट भई करेन्ट लागेर मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ। तर, आफन्तले अन्नबाली जोगाउन राखिएको ग्याबिन तारबाट करेन्ट लागेर मृत्यु भएको बताएका छन्। 

वन्यजन्तुबाट बाली जोगाउन भन्दै राखिएको विद्युतीय तारमा परेर बहिनीको ज्यान गएको दाइ विक्रम विक बताउँछन्। उनका अनुसार पानी तान्ने मोटर जडान भएको धाराभन्दा करिब एक मिटरको दूरीमा तार बिछ्याइएको छ। छिमेकीले बाली जोगाउन भन्दै जोखिमपूर्ण तरिकाले खेतैभरि विद्युतीय तार बिछ्याएको उनको भनाइ छ। 

मृतकका भिनाजु गोपिलाल लोहारले प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाए। प्रहरीले मुचुल्का तयार गर्दा परिवारलाई जानकारीसमेत नदिएको उनको भनाई छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकृत प्रहरी निरीक्षक मानबहादुर बिसीले धारामा जडान भएको पानी तान्ने मोटरबाट करेन्ट प्रवाह भई देवीको मृत्यु भएको बताए। तर, आफन्तले घटनापछि पनि मोटरबाट करेन्ट प्रवाह नभएको बताउँछन्। 

प्रहरीले खेतमा भएका ती तारहरू नियन्त्रणमा लिएको छ। ‘त्यो तारमा करेन्ट प्रवाह भएको देखिँदैन’, कोहलपुर प्रहरी प्रमुख डिएसपी रमेशबहादुर सिंहले भने, ‘तर पनि हामी अनुसन्धान गरिरहेका छौं।’ मृतकका परिवारबाट आउने जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउने उनको भनाई छ। 

वैदेशिक रोजगारमा रहेका मृतक देवीका श्रीमानले घटना थाहा पाएपछि नेपाल फर्किंदैछन्। उनी आएपछि जाहेरी दिने पीडित परिवारले बताएका छन्। शवको पोष्टमार्टम पनि देवीका श्रीमान आएपछि मात्रै हुने मृतकका भिनाजु लोहारले बताए।

प्रकाशित: ९ आश्विन २०७५ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App