८ वैशाख २०८१ शनिबार
अर्थ

जुत्ता चप्पल बनाउन जातले छेकेन

धनकुटा– छालाजुत्ता बनाउने पेसा कुनै एक जातिले मात्रै गर्नुपर्छ भन्ने सामाजिक मन्यता धनकुटा मौनाबुधुकका महिलाले तोडेका छन् । उनीहरुले तालिम लिएर छालाको जुत्ता–चप्पल बनाउने पेसा सबै जात र समुदायले अपनाउन सकिन्छ भन्ने गतिलो उदाहरण देखाएका छन् ।

सीप र सिर्जना कुनै जात र समुदायको हुँदैन । जुन पेसा गरेर जीविकोपार्जन गर्न सकिन्छ, त्यही काम गर्नुपर्छ भन्ने सोचले जुत्ता–चप्पल बनाउने तालिम लिइरहेको मौनाबुधुक–९ की विमला बस्नेतले बताइन् । महिलाको लागि गाविस, जिविस र घरेलु उद्योग कार्यालयले सिलाइकटाइ, हाते होजियरी, चिप्स बनाउने र ब्युटीपार्लर जस्ता तालिम दिन्छन् । ती तालिमले जीविकोपार्जनमा सोचे जस्तो सहयोग गरेन । त्यसैले नौलो सोचका साथ जुत्ता–चप्पल बनाउने तालिम लिएको वस्नेतले बताइन् ।

गाविस स्तरीय महिला समन्वय समितिका सचिव कृष्णकुमारी खड्कालाई पनि जुत्ता–चप्पल बनाउन जातले छेकेन । सीप सानो र ठूलो हुँदैन । जात विशेषको पनि हुँदैन । गत वैशाख १२ गतेदेखि तालिम लिइरहेकी खड्काले विभिन्न स्टाइलको चप्पल बनाउन सक्ने भएको बताइन् ।

तालिम लिइरहेकी लक्ष्मीकुमारी लिम्बुले राजारानी बजारमा बिक्री कक्ष खोल्न सटरसमेत खोजी सकेकी छिन् । तालिम लिइरहेका साथीले र आफूले बनाएको चप्पल–जुत्ता बिक्री गर्ने योजनासहित बिक्री कक्ष खोलेको लिम्बुले बताइन् ।

त्यसो त दर्जनौं ठाउँमा तालिम दिएका प्रशिक्षक रामबहादुर दुलाल पनि सुरुमा त अचम्ममा परे । ‘अन्य ठाउँमा तालिम दिन जाँदा सार्की र अन्य दलित समुदायका मान्छे सहभागी हुन्थे,’ उनले भने, ‘यहाँ त महिला छन्, त्यो पनि ठूला जात भनिएका समुदायबाट । सीप सिक्छन् जस्तो लागेकै थिएन ।’ तर सबैले उत्साही भएर सिकेर व्यवसाय सुरु गर्ने योजना बनाएको प्रशिक्षक दुलालले बताए ।

महिला समन्वय समिति मौनाबुधुकले सञ्चालन गरेको यो तालिममा गाविस कार्यालयले ७३ हजार रुपैयाँ सहयोग गरेको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय धनकुटाले प्रशिक्षकको खर्च दिएको छ । नपुगेको रकम महिला समन्वय समितिका सदस्यले व्यक्तिगत रुपमा उठाएका छन् ।
यो तालिमको लागि प्रस्तावना लिएर घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय धनकुटा पुग्दा त्यहाँका कर्मचारीले नपत्याएको महिला समन्वय समितिले जनाएको छ । ‘निकै कर गरेपछि मात्रै तालिममा सहयोग गर्ने सहमति भयो,’ महिला समन्वय समितिकी सदस्य एवं उद्यमी राजकुमारी लावतीले भनिन् ।

ढाका कपडा बुनेर राष्ट्रियस्तरको उद्यमी पुरस्कार जितेकी लावतीले जुत्ता चप्पल बनाउने महिलालाई पनि व्यापार विस्तारमा सहयोग गर्ने बताइन् ।

 

 

प्रकाशित: १० असार २०७३ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App