coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एक किलो सुन तस्करी गरेवाफत ५० हजार कमाई

काठमाडौं– सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा नपु-याई अनुसन्धान स्थगित गरेका बेला तस्करी अझै रोकिएको छैन। प्रहरीले बेला बेला सुन बरामद गर्दै आएको छ। यसै क्रममा सोमबार राजधानीको टोखाबाट दुई जनालाई ३ किलो सुनसहित प्रहरीले नियन्त्रणमा लियो।

रसुवागढी–केरुङ नाकाबाट सुन भित्रिएको भन्ने सुराक पाएर महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोमबार साँझ टोखा रोडको साइबाबा चोकमा बा ७३ प ३४०२ नम्बरको पल्सरमा सवार दुई जनालाई चेकजाँच गर्दा उनीहरुको शरीरबाट १२ टुक्रा (३ किलो) सुन भेटियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बरामद सुनको मूल्य १ करोड ५० लाख २० हजार ६९९ रुपैयाँ पर्न आउँछ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीले रसुवा गोसाईकुण्ड १ का २४ वर्षीय नरबहादुर घले र सोही ठाउँका २० वर्षीय पेम्वा तामाङलाई अवैध सुनसहित विशेष टोलीले नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार रसुवामा घर बनाउने र ठेक्कापट्टाको काम गर्दे आएका दुबै जना भरिया हुन्। उनीहरुले १ किलो सुन तस्करी गरेवाफत ५० हजार रुपैयाँ पाउँछन्।

‘सुन मालिकले १ किलो सुन पास गराए वापत ५० हजार रुपैयाँ दिँदो रहेछ’, एसपी जोशीले भने, ‘घले र तामाङले २ महिनामा दुईपल्ट गरी ३ किलो सुन ल्याई सकेको पाइयो।’ जोशीले सुन व्यापारीको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए। ‘सुनको मालिक को हो, कसले मगाएको भन्नेबारे अनुसन्धान जारी छ’, उनले भने।

सुन तस्करमा संलग्नविरुद्ध भन्सार ऐन २०६४ को दफा ५७ (१)(ङ) अनुसार १ करोड रुपैँया भन्दा बढी ५ करोड रुँपैयासम्मको विगोमा १ वर्षदेखि ३ वर्षसम्म कैद हुने व्यवस्था छ। 

अनुसन्धानपछि दुबै जनालाई आवश्यक कानुनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइने परिसरले जनाएको छ। 

प्रकाशित: ९ आश्विन २०७५ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App