८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टी एक भएपनि कार्यकर्ताको व्यवहार भने अलग

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका चाउलेचौरका नेकपाका कार्यकर्ता चित्रबहादुर बोहरालाई तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेको कुनै अनुभूति नै  छैन। दुई पार्टी मिलेर एउटै भएपनि व्यवहारमा अझै पनि दुई पार्टी नै रहेको उनको भनाइ छ।

तत्कालिन माओवादी र एमालेले चुनाव जितेका स्थानमा पुरानै पार्टीको जस्तो व्यवहार छ कसरी पार्टी एक छ भनौं उनले भने। तत्कालीन माओवादी केन्द्रका तर्फबाट निर्वाचित जनप्रतिनिधिले तत्कालिन एमालेका कार्यकर्तालाई फरक पार्टीको व्यवहार गर्ने गरेको उनले बताए। नलगाड नगरपालिकामा तत्कालिन एमालेका नेता कार्यकर्तालाई आफ्नो पार्टीका नभइ एमालेकै कार्यकर्ताको रुपमा तत्कालिन माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधिले हेर्ने गरेको उनले बताए। 

ओली र दाहाल एक भएपनि माओवादी र एमाले दुई पार्टी अलग जस्ता छन् उनले भने। बोहोरा जस्तै जुनीचाँदेकी तत्कालिन माओवादी नेतृ शिवा आचार्यले पनि गाउँ स्तरका कार्यकर्ताले पार्टी एकताको अनुभूति गर्न नसकेको बताइन्। पुरानो तिक्तता र फरक पार्टीबीचको एकताका कारण गाउँमा दुई पक्षका कार्यकर्ताले एउटै पार्टीको अनुभूति गर्न नसकेको बताइन्। तत्कालिन एमालेले चुनाव जितेका छेडागाड नगरपालिकामा आफ्नो पक्षका नेता कार्यकर्तालाई तत्कालिन एमालेका जनप्रतिनिधि र नेताहरूले फरक पार्टीको जस्तो व्यवहार गर्ने गरेको उनले बताइन्।

नलगाडका बोहरा र जुनीचाँदेकी आचार्य मात्र होइन तत्कालिन एमाले र माओवादी केन्द्रका तल्लोस्तरका कार्यकर्ताले पार्टी एक भएको अनुभूति गर्न नपाएको गुनासो गर्ने गरेका छन्।  माथि नेताहरू मिलेर एउटै पार्टी बनाएपनि  तल भने दुई पार्टीको जस्तो व्यवहार भएको उनीहरूको भनाइ छ। दुवै पक्षका तल्लो स्तरका कार्यकर्ताहरूले एक अर्कालाई फरक पार्टीको जस्तो अनुभूति गरेको र आफू बलियो भएको ठाउँमा पेल्ने काम भएको दुवै पक्षको गुनासो  छ।  पार्टी एक छ भनेर के गर्नु व्यवहार एक छैन्, तत्कालिन एमालेका एक कार्यकर्ताले  भने। 

भेरी नगरपालिकाकी तत्कालिन माओवादी केन्द्रकी नेतृ पार्वतीले माथिल्लो तहमा कुनै समस्या नभएपनि  तल्लो स्तरमा केही समस्या हुनु स्वभाविक भएको बताइन्।  माओवादी निकट प्रेस सेन्टर जाजरकोटका अध्यक्ष हेमन्त केसीले पनि  कार्यकर्ताकाबीचमा भावनात्मक एकताको झल्को नदेखिएको बताए। उता तत्कालीन माओवादी केन्द्रका नेता ढकबीर रानाले  तल्लो स्तरको कमिटीहरू निर्माण भइनसकेको कारण केहि समस्या देखिएको हुनसक्ने बताए। 

पुराना कार्यशैली, व्यवहार र सोचका कारण  पार्टी एकता कार्यकर्ताकाबीचमा भावनात्मक बन्न नसकेको उनको भनाइ छ। यस्तै तत्कालिन एमालेका नेता कृष्णबहादुर बुढाले पनि जिल्ला र गाउँ स्तरमा संगठनहरू नबनेका कारण कार्यकर्ताहरूमा  भावनात्मक एकता नेदेखिएको बताए।

नेता र कार्यकर्ताले पार्टी एकताको विषयमा जे भने पनि  युद्धकालका केहि विषयहरू र तत्कालिन एमालेले  स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको जनमतका कारण दुई पार्टीका  स्थानीय नेता कार्यकर्ताबीच  पार्टी एकतापछि पनि  भावनात्मक एकता हुन नसकेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।  

 

प्रकाशित: ९ आश्विन २०७५ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App