८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएन विज्ञ सम्मेलनको तयारी पुरा

काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंमा असोज २६ देखि २८सम्म प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। सम्मेलनको आवस्यक तयारी पुरा भएको संघले जनाएको छ।

विज्ञ सम्मेलनमा ४ सय भन्दाबढि सहभागी हुने निश्चित भएको सम्मेलन संयोजक डा. हेमराज शर्माले जानकारी दिए। विदेशमा कमाएको पूँजीका अतिरिक्त विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपयोग गर्ने भन्दै गैर आवसीय नेपाली संघले उक्त सम्मेलन गर्न लागेको हो। ’विदेशमा सिकेको ज्ञानलाई स्वदेशमा पुर्याउने एनआरएनको उदेश्य नै हो’, शर्माले भने, ‘विदेशमा सिकेको ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित हुनेछ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनमा दोस्राे दिन चारवटा प्लेनरी सत्र रहने जनाइएको छ। पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्थालगायत विषयमा छलफल गर्ने कार्यक्रम छ।

दोस्राे सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल गर्ने कार्यक्रम छ। तेस्राे सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको संभावना र यस क्षेत्रमा लगानी बिषयमा छलफल हुनेछ। नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भुमिका हुन्छ भन्ने बिषयमा समेत छलफल हुने आयोजकले जनाएको छ।

कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवरणीय प्रदुषण न्युनीकरण, व्यवस्थित शहरीकरण, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, संघीयतामा शिक्षाको मोडललगायतको विषयमा छलफल हुने डा. शर्माले बताए।

सम्मेलनमा नेपाल भित्र र बाहिर रहेका विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र वुद्धिजीवि, नेपालको निजी क्षेत्र, नेपालस्थित कुटनीतिज्ञ लगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहने आयोजकले जनाएको छ।
 

प्रकाशित: ९ आश्विन २०७५ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App