coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पप्पु कन्ट्रक्सनका सञ्चालकविरुद्ध पक्राउपूर्जी जारी

फाइल फाेटाे

रौतहट – पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारलाई पक्राउ गर्न रौतहट प्रहरीले पक्राउपूर्जी जारी गरेको छ। गत भदौ ९ गते रौतहटको गौरस्थित टिकुलीया घाटमा पप्पु कन्ट्रक्सनले बनाइरहेको पुलको पिलरमा ठोकिएर २९ जना सवार डुंगा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो। मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय रौतहटमा पप्पुका सञ्चालक हरिनारायण रौनियार र सुमित रौनियारविरुद्ध कतव्य ज्यान मुद्दा दर्ता गराएका थिए। हरिनारायण संघीयसमाजवादी फोरमबाट प्रतिनिधिसभाका सदस्य हुन्।

स्थानीयले मुद्दा दर्ता गरेपछि रौतहट प्रहरीले प्रहरी निरिक्षक ओमप्रकाश यादवलाई घटनाको अध्ययन प्रतिवेदन तयार गर्ने जिम्मा दिएको थियो। पप्पुको लापवाहीले ठूलो क्षति भएको निश्कर्षसहितको प्रतिवेदन तयार पार्दै यादवले पप्पुका सञ्चालक सुमित र डुंगा चालक गौर–४ का पप्पुकुमार चन्द्रवंशीलाई ज्यान मुद्दा चलाउनु पर्ने ठहर गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ९ को उफा २ बमोजिम उनीहरु दुवै जनालाई पक्राउ गर्न जिल्ला अदालत समक्ष माग गरेकोमा अदालतले असोज ४ गते पक्राउ गर्न आदेश जारि गरेको हो।

रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालका अनुसार रौतहट प्रहरीले पर्सा प्रहरीलाई असोज ५ गते सुमितलाई पक्राउ गरिबुझाउन पत्रकाटेकोमा पर्सा प्रहरीले उनी काठमाडौं रहेको बताएपछि प्रहरीले पुनः महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत बानेश्वरलाई पत्र पठाएको छ। प्रहरीले हालसम्म उनलाई पक्राउ गर्न भने सकेको छैन। प्रहरीले उनको खोजी कार्यतिव्र पारेको जनाएको छ।

डुंगा दुर्घटनामा गौर–४ का ४५ वर्षीया इन्दुदेवी, ६४ वर्षीया शान्तिदेवी, १० वर्षीया उष्मा कुमारी पटेल, सहचालक ओमप्रकाश चन्द्रवंशी र स्थान नगरपालिका–३ की ४० वर्षीया रुनादेवीको ज्यान गएको थियो। घटना पश्चात जिल्ला प्रशासन कार्यालय रौतहटले सहायक प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीको नेतृत्वमा छानविन टोली गठन गरेको थियो। उक्त टोलीले प्रतिवेदन तयार गरिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। उनले एक दुई दिन भित्रै प्रतिवेदन तयार हुने जानकारी पाएको बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App