१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इन्डोनेसियासँग नेपाल पराजित

आगरा, (भारत) – भारतको आगरामा जारी एसियन स्कुल यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले दोस्रो हार बेहोर्नुपरेको छ।

आगरास्थित प्रिल्युड पब्लिक स्कुल स्टेडियममा सोमबार भएको खेलमा इन्डोनेसियाले २–१ गोलअन्तरले नेपाललाई पराजित गरेको हो । खेलमा लिएको अग्रता जोगाउन नसक्दा नेपाली टोलीको सेमिफाइनल यात्राको सम्भावना कमजोर बनेर गएको छ । यसअघि थाइल्यान्डसँग नेपाल २–० गोलले पराजित भएको थियो । दोस्रो हारसँगै प्रतियोगिताको ४६औं संस्करण चलिरहँदा पहिलो पटक भाग लिने अवसर पाएको नेपालको यात्रा समूहचरणबाटै टुंगिने सम्भावना बढ्दै गएको छ। 

सेमिफाइनल पुग्नका लागि नेपालले चीन र अफगानिस्तानलाई पराजित गरेर मात्रै पुग्दैन । नेपालको सेमिफाइनल यात्रा सुरक्षित हुन चीनले इन्डोनेसियालाई हराउनै पर्छ । नेपालले चीन र अफगानिस्तानलाई हराएपछि चीनले इन्डोनेसियालाई पराजित गर्दा मात्रै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल खेल्न पाउनेछ। 

खेलमा लिएको अग्रता जोगाउन नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । नेपालले ५०औं मिनेटमा राजन गुरुङको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो । दिनेश हेन्जनको कर्नर प्रहारमा राजनले हेड गर्दै बललाई पोस्टको दिशा दिँदा इन्डोनेसिया दबाबमा पर्याे । तर नेपालको त्यो खुसी एक मिनेट पनि टिक्न सकेन । नेपाली खेलाडी सम्हालिन नसकेको मौका छोप्दै इन्डोनेसियाले खेलमा फर्कने अवसर पायो । ५१औं मिनेटमा इन्डोनेसियाका एलेनले नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गरेको लङ प्रहारलाई नेपालका गोलरक्षक विष्णुकुमार केसीले पनि बचाउन नसक्दा खेल १–१ को बराबरीमा पुग्यो। 

६७औं मिनेटमा अल्फएड्राले गोल थपेपछि इन्डोनेसियाको जित पक्का भयो । डी बक्सभन्दा बाहिर नेपालका सञ्जित राईको पेटमा लागेको बललाई रेफ्रीले ह्यान्डको संकेत गर्दै इन्डोनेसियाले पेनाल्टी पाएपछि नेपालले हारको नतिजा भोग्नुप¥यो । त्यही पेनाल्टीमा अल्फएड्राले गोल गरे । खेलको अन्तिम समयमा नेपालका डिफेन्स विकास खवासलाई डी बक्सभित्र इन्डोनेसियाका खेलाडीले गलत ट्याकल गरे पनि रेफ्रीले पेनाल्टीको अवसरबाट वञ्चित गर्दै फ्रिकिक मात्रै दिने निर्णय गरेपछि नेपालले हार बेहोर्नुपर्याे।  

यसै समूहमा रहेको टिम थाइल्यान्डका प्रशिक्षकले समेत नेपालको हारको मुख्य कारण रेफ्रीको गलत निर्णय भन्दै आलोचना गरे । उनले नेपालले गरेको उत्कृष्ट प्रदर्शनको खुलेर प्रशंसा गर्दै आयोजकको कमजोर व्यवस्थापन र रेफ्रीको गलत निर्णय नेपालका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले रेफ्रीलाई खेल खेलाउने सामान्य नियमको समेत जानकारी नभएको उल्लेख गरे।  

नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाली टोलीले शतप्रतिशत खेले पनि नतिजाबाट विमुख हुनुपरेको बताए । ‘शारीरिक र प्राविधिक रूपमा इन्डोनेसिया मजबुत थियो,’ उनले भने, ‘तर पनि खेललाई भने नेपालले नियन्त्रणमा राख्न सक्नु नै ठूलो कुरा हो ।’ श्रेष्ठले नेपालको हारको मुख्य कारण आयोजकको रेफ्री छनोट र रेफ्रीले मैदानमा गरेको गलत निर्णय नै भएको बताए । सोमबारकै अर्को खेलमा थाइल्यान्डले अफगानिस्तानलाई पराजित गर्याे। 

प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा थाइल्यान्ड, इन्डोनेसिया, अफगानिस्थान र चीन छन् । तीनवटा खेल जितेको थाइल्यान्ड नौ अंक सहित शीर्ष स्थानमा छ । इन्डोनेसिया ६ अंकसहित दोस्रो र चीन तीन अंकसहित तेस्रो स्थानमा छ । नेपाल र अफगानिस्तानको अंक शून्य छ । समूह ‘बी’ मा आयोजक राष्ट्र भारत, भुटान, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन्।

 

प्रकाशित: ९ आश्विन २०७५ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App