५ वैशाख २०८१ बुधबार
शिक्षा

१० वर्षदेखि घरमै हाजिर गरेर तलब खाएको आरोप

सर्लाहीको बरहथवा नगरपालिका–१०, भगवानपुरस्थित श्री प्रावि। तस्बिर : टंक/नागरिक

सर्लाही - जिल्लाको दक्षिणी क्षेत्रस्थित एक विद्यालयका प्रधानाध्यापकलाई बाल विकास केन्द्रको शिक्षिकामा आफ्नै छोरीलाई नियुक्ति गरी १० वर्षदेखि घरमै हाजिर गराएर तलब खुवाएको आरोप लागेको छ। बरहथवा नगरपालिका–१०, भगवानपुरस्थित श्री प्राविका प्रधानाध्यापक महेन्द्र राय यादवलाई आफ्नै छोरी गीताञ्जली यादवलाई बालविकास केन्द्रको शिक्षिकामा नियुक्ति दिई घरमै हाजिर गराएर तलब खुवाएको आरोप लागेको हो। उनकी छोरी कहिलेकाहीं मात्र विद्यालय आउने र अधिकांश समय घरमै बस्ने गरेको तर, तलब भने खाइरहेको विद्यार्थी तथा अभिभावकको आरोप छ।

प्रधानाध्यापक यादवले छोरीलाई घरमै राखेर हाजिर गराएर तलब खुवाउनुका साथै भौतिक पूर्वाधार निर्माणको बजेटसमेत हिनामिना गरेको हालै निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरेश साहको आरोप छ । त्यस्तै यादवले जिल्ला शिक्षा कार्यालयबाट आएको कम्प्युटरसमेत घरमै राखेर दुरूपयोग गरेको व्यवस्थापन समितिका अन्य पदाधिकारीले समेत आरोप लगाएका छन्।

बरहथवा नगरपालिका–१०, भगवानपुरस्थित श्री प्राविका प्रधानाध्यापक महेन्द्र राय यादवलाई आफ्नै छोरी गीताञ्जली यादवलाई बालविकास केन्द्रको शिक्षिकामा नियुक्ति दिई घरमै हाजिर गराएर तलब खुवाएको आरोप लागेको हो।

‘प्रअज्यूले आफ्नी छोरीलाई घरमै हाजिर गराएर तलब खुवाउने गरेका छन्,’ व्यवस्थापन समिति अध्यक्ष साहले भने, ‘त्यस्तै कम्पाउन्ड वाल निर्माणको बजेट तथा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त कम्प्युटर समेत घरमै राखेर दुरूपयोग गरेका छन्।’ प्रधानाध्यापक यादवले एक÷डेढ महिनामा हाजिरी रजिष्टर घरमै लिएर जाने र छोरीको हाजिरी गराउने गरेको सोही विद्यालयका राहत शिक्षक सोनेलाल साहले बताए।

विद्यालयको जग्गामा रहेको जामुन, सिसौ लगायतका रूख काटेर बिक्री गरेको रकमसमेत प्रधानाध्यापकले दुरूपयोग गरेको व्यवस्थापन समिति सदस्य रामआधार महतोको आरोप छ। उनको अनियमितताविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल तथा बर्दिबास स्थित सम्पर्क कार्यालय, जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयमा वर्षौंदेखि लिखित तथा मौखिक उजुरी गर्दागर्दा आफूहरू थाकेको तर, कुनै सुनुवाइ नभएको व्यवस्थापन समिति अध्यक्ष साहले गुनासो गरे। गत जेठ १० गतेको अभिभावक भेलाबाट आफू अध्यक्ष तथा अन्य सदस्यहरू सहितको व्यवस्थापन समिति गठन भए पनि प्रधानाध्यापक यादवले बैंक खाता सञ्चालनमा आफूलाई सहभागि नगराएको समेत साहको आरोप छ।

यता प्रधानाध्यापक यादवले भने हालका व्यवस्थापन समितिका अध्यक्ष साहले अफ्नो विरोध गर्दै आइरहेको तर, आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्। ‘मेरी छोरीले विज्ञापन प्रकाशित गरेरै भएको खुला प्रतिष्पर्धाबाट बालविकास केन्द्रकी शिक्षिकामा २०६५ साउन ९ गते नियुक्ति पाएकी हुन् र निरन्तर विद्यालयमा पढाउँदै आइरहेकी छिन्,’ यादवले नागरिकसँग मोबाइलमा भने, ‘मेरो ज्वाइँ जापानमा हुनुहुन्छ र छोरी पनि कात्तिकसम्ममा जापान जाने प्रक्रियामा रहेकाले हाल बिरामी बिदामा बसेर जापनिज भाषा सिक्दैछिन्, कात्तिकमा राजिनामा गरेर जापान जाँदैछिन्।’ यदि १० वर्षदेखि आफ्नी छोरीले घरमै बसेर तलब खाएको भए भर्खर मात्र विरोध हुनुले त्यत्रो वर्षदेखि विरोधी पक्षले के हेरेर बसेका थिए भन्दै प्रधानाध्यापक यादवले प्रतिप्रश्न गरे।

१० वर्ष पहिला आएको कम्प्युटर थोत्रो भइसकेको उल्लेख गर्दै विद्यालयमा झ्याल ढोका नभएकाले घरमै राखेको र कम्पाउन्ड वालका लागि आएको रकममध्ये व्यवस्थापन समितिका पूर्वअध्यक्षले पेश्की लिएर काम नगरेको उनको दाबी छ। यस्तै कल्पवृक्ष बोर्डिङ स्कुलमा पढाइरहेको आफ्नो बच्चा विद्यालयमा भर्ना गराउने लिखित सम्झौता गरेर रामहरेश साहलाई व्यवस्थापन समिति अध्यक्ष चयन गरिए पनि हालसम्म भर्ना नभएकाले आफूले अध्यक्ष नमान्ने प्रधानाध्यापक यादवले बताए।

तत्कालीन शिक्षा कार्यालय तथा हाल जिल्ला प्रशासन कार्यालयअन्तर्गत शिक्षा विकास तथा समन्वय एकाइका उक्त क्षेत्र हेर्ने स्रोतव्यक्ति दिनेश रायले प्रधानाध्यापक यादवकी छोरी लामो समयदेखि अध्यापन गर्न नआएको तथा उनी स्वयं भदौ १५ गतेदेखि विद्यालयमा नआएको जानकारी दिए। ‘अभिभावकहरुले नगरपालिकाको शिक्षा शाखामा उजुरी दिएपछि उपस्थित हुन मैले लिखित पत्र काटे पनि उहाँ उपस्थित हुनु भएन,’ स्रोतव्यक्ति रायले सोमबार नागरिकसँग भने, ‘दुई दिनअघि फोनमा कुरा गरेर म विद्यालयमा पढाउन आईसकें मात्र भन्नुभयो।’ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कारबाही प्रक्रियामा समेत अटेर गर्ने प्रधानाध्यापकले आफूहरू जस्ता निरीह कर्मचारीको पत्रको कुनै टेरपुच्छर नलाउने गरेको उनले गुनासो गरे।

बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले प्रधनाध्यापक यादवविरुद्ध थुप्रै गुनासा आएको र सबैकुरा बुझेर आवश्यक कारबाही गरिने बताए।

प्रकाशित: ९ आश्विन २०७५ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App