coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कल्याणकारी परियोजनामा निजी क्षेत्रको लगानी बढाउनुपर्छः विनोद चौधरी

काठमाडौं– चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कल्याणका परियोजनामा निजी क्षेत्रको लगानी उल्लेख्य वृद्धि हुनुपर्ने बताएका छन् । ‘हाम्रो मुनाफामा समाजले महत्वपूर्ण योगदान गरिरहेको हुन्छ भन्ने हामीले बिर्सनु हँुदैन,’ मिल्केन इन्स्टिच्युटद्वारा शुक्रबार सिंगापुरमा आयोजित एसिया समिटमा अध्यक्ष चौधरीले भने, ‘हाम्रो बिजनेसमा योगदान पु¥याइरहेको समाजका लागि हाम्रो योगदान के रह्यो भन्ने पक्षमा निजी क्षेत्रले आत्मसमीक्षा गर्नु आवश्यक छ ।’

विश्वका निजी क्षेत्रका अग्रणीहरु र गैरसरकारी संस्थाका प्रतिनिधिहरु सहभागी एसिया समिटमा अध्यक्ष चौधरीले व्यवसाय विस्तार र मुनाफाको वृद्धि मात्रै लगानीकर्ताको उद्देश्य हुन नहुने भन्दै सामाजिक योगदान सहितको व्यवसाय आजको आवश्यकता रहेकामा विश्व समुदायको ध्यानाकर्षण गराए।

गत वर्ष नेपालले भोग्नु परेको विनाशकारी भूकम्पबाट प्रभावित सर्वसाधारणका लागि चौधरी ग्रुपले कार्यान्वयन गरेको सिजी आश्रय र सिजी शिक्षालय परियोजनाका कारण अन्तर्राष्ट्रियस्तरमै प्रशंसा पाइरहेको पृष्ठभूमिमा अध्यक्ष चौधरीले सामाजिक क्षेत्रको लगानी अभिवृद्धि गर्न विश्वका निजी क्षेत्रका प्रतिनिधिको ध्यानाकर्षण गरेका हुन् । भूकम्पबाट प्रभावितका लागि प्रभावकारी कदम चालेका कारण गत अगस्टमा चौधरीलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको भवनमा आयोजित कार्यक्रममा ‘एसियन म्यान अफ दि इयर’ बाट सम्मानित गरिएको थियो ।

भूकम्पपछिको पुनर्निर्माण चरणमा रहेको नेपालको प्रयासमा साथ दिन अध्यक्ष चौधरीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह पनि गरे । ‘नेपाल अहिले पुनर्निर्माण कार्यलाई अगाडि बढाउने प्रयासमा छ । यसका लागि हामी व्यावसायिक क्षेत्रको पनि ठूलो दायित्व हुन्छ ,’ अध्यक्ष चौधरीले भने, ‘हामी सबै मिलेर यो काममा योगदान गर्न सक्छौं र यो सहयोगका लागि म तपाईंहरुलाई आग्रह गर्दछु।’

नेपालले भोगेको भूकम्प निकै दुःखदायी र अकल्पनीय विपत्ति रहेको बताउँदै उनले भूकम्पपछिको पुनर्निर्माणलाई नेपालको आर्थिक विकासको अवसरका रुपमा उपयोग गर्न सम्भव रहेको धारणा राखे । ‘हामी पुनर्निर्माणका लागि सक्दो पहल गरिरहेका छौं तर अपेक्षित रुपमा विकास अभियानका रुपमा अगाडि बढाउन भने सकिरहेका छैनौं, उनले भने, ‘हामीसामू यो अवसर अझै पनि बाँकी छ।’

अध्यक्ष चौधरीसँगको छलफलमा सिंगापुरस्थित बहुराष्ट्रिय केएस इनर्जीका अध्यक्ष क्रिस विलुवान, भारतीय शोभा ग्रुपका संस्थापक पि.एन.सी. मेनन, र रुम टु रिडका संस्थापक जोन उड लगायतले आआफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन हङकङस्थित जेपी मोर्गन प्राइभेट बैंकका प्रमुख कार्यकारी अधिकृत एन्ड्र्यु कोहेनले गरेका थिए । तीनदिने उक्त समिटमा विश्वका प्रमुख निजी तथा गैरसरकारी क्षेत्रका महŒवपूर्ण पदाधिकारीको उपस्थिति रहेको थियो।

मिल्केन इन्स्टिच्युट गैरनाफामुखी तथा स्वतन्त्र थिंकट्यांक हो, जसले विश्व समृद्धिको लक्ष्यका साथ विभिन्न विषयमा छलफल, सम्मेलन, अनुसन्धान तथा नीतिगत बहस सञ्चालन गर्दै आएको छ । सहकार्यका माध्यमद्वारा पुँजीमा पहुँच, रोजगारीको सिर्जना, र जनस्वास्थ्यमा सुधार विषयमा क्रियाशील यो संस्थाको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ ।
 

प्रकाशित: ३ आश्विन २०७३ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App