coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

चम्पादेवीमा स्थानीय पाठ्यक्रम तयार

ओखलढुंगा – जिल्लाको चम्पादेवी गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारी लागू गरेको छ। एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा पहिलोपटक चम्पादेवीले स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा लागू गरेको हो।

गाउँ शिक्षा समितिले विज्ञान, गणित, अंग्रेजी र सामान्यज्ञान समेटिएको पाठ्यक्रम निर्माण गरेको छ। पाठ्यक्रमको पाठ्यभार १०० पूर्णांक छ। पाठ्यक्रम गाउँपालिकाका ४२ वटै सामुदायिक विद्यालयमा लागू गरिएको शिक्षा अनुगमन समितिका संयोजक तथा शिक्षा समितिका सदस्य उज्जन बुढाथोकीले जानकारी दिए। ‘यो वर्ष कक्षा १ बाट स्थानीय पाठ्यक्रम पठनपाठन सुरु गरिएको छ’, उनले भने, ‘आउँदा वर्षअन्य कक्षामा लागू गर्ने योजना बनाइएको छ।’

पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि गाउँपालिकाले स्थानिय विज्ञ शिक्षकको समिति बनाएको थियो। बालमनोविज्ञानअनुसार स्थानीय परिवेश समेटेर अंग्रेजी माध्यमको पाठ्यक्रम तयार पारिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए। ‘सामुदायिक विद्यालयप्रति नागरिकको विश्वास घट्दो छ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामी लागि परेका छौं,’ उनले भने, ‘दुई वर्षभित्रमा चम्पादेवी गाउँपालिकाका सबै सामुदायिक विद्यालयको शैक्षिक अवस्था जिल्लामै नमुना बनाउनेछौं।’

गाउँपालिकाभित्रका ४२ विद्यालयमा कक्षा १ मा पढ्ने करिब पाँच सय ५० विद्यार्थी छन्। उनीहरू सबैले यसै वर्षदेखि स्थानीय विषयको पुस्तक पढ्न सुरु गरेका छन्। गाउँपालिकाले पाठ्यक्रमसँगै आफ्नै शैक्षिक क्यालेन्डर निर्माण गरेर लागू गरेको छ। शिक्षण क्रियाकलापमा एकरुपता ल्याउन गाउँपालिकाका सम्पूर्ण विद्यालयका लागि शैक्षिक क्यालेन्डर निर्माण गरिएको हो। गाउँपालिकामा एक क्याम्पस, सात माध्यमिक विद्यालय, ३२ वटा आधारभूत तहका विद्यालय छन्।

प्रकाशित: ९ आश्विन २०७५ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App