८ वैशाख २०८१ शनिबार
राजनीति

'भाषण होइन, काम गर्नुपर्छ'

जिल्ला समन्वय समितिको चितवनको दोस्रो जिल्लासभाका सहभागी। तस्बिरः सविता/नागरिक

चितवन - नेकपाका अध्यक्ष पुष्पकमल दाहालले योजना बनाएर ठोस काम गरी अघि बढ्नुपर्ने बताएका छन्। सरकार पक्ष र प्रतिपक्ष भनेर झगडा गर्नुपर्ने कुनै कारण नभएको भन्दै उनले भाषणमा भन्दा काममा योजना बनाएर अगाडि बढ्नुपर्ने बताए। जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्लासभा उद्घाटन समारोहमा अध्यक्ष दाहालले विकासका योजना र आयोजनालाई प्राथमिकता छुट्ट्याएर काम गनुपर्ने बताए।

‘छलफल र भाषण धेरै नै गरिसकेका छौं,’ उनले भने, ‘प्राप्त भएको अवसरलाई सदुपयोग गर्ने संकल्पका साथ काम गर्नुपर्छ, अहिलेको समय एक्सनको हो।’ काम गर्न पहिलो, दोस्रो, तेस्रो गर्दै क्रमशः प्राथमिकता छुट्ट्याएर राख्नुपर्ने उनी बताउँछन्। जनताले हेर्न सक्नेगरी प्राथमिकता तोकेर योजना नक्सांकन गर्नुपर्ने उनको भनाइ छ।

‘काम गर्छाैं भनेर जनताका अगाडि प्रतिबद्धता व्यक्त गरिरहँदा परिणाम देखिने गर्न सकेनौं भने हामीलाई पत्याइराख्नु पर्ने आवश्यकता हुँदैन। परिणाममा देखिनेगरी काम गर्न नीतिगत निर्णय गर्न समस्या छैन।’

सबैतिर हात हालेर विकासलाई गति दिन नसकिने भएकाले सिंगै जिल्लाको लागि पनि प्राथमिकता छुट्ट्याएर योजना बनाउनुपर्ने उनले बताए।

प्रतिनिधि, प्रदेश, राष्ट्रियसभा, स्थानीय तहमा पार्टीको नेतृत्व रहेकाले अत्याधिक बहुमत भएको समयमा जनताले परिणाम देख्नेगरी काम गर्नुपर्ने उनको भनाइ छ। ‘काम गर्छाैं भनेर जनताका अगाडि प्रतिबद्धता व्यक्त गरिरहँदा परिणाम देखिने गर्न सकेनौं भने हामीलाई पत्याइराख्नु पर्ने आवश्यकता हुँदैन,’ उनले भने, ‘परिणाममा देखिनेगरी काम गर्न नीतिगत निर्णय गर्न समस्या छैन ।’ यसअघिको एउटाले बनाउन खोज्ने अर्कोले भत्काउन खोज्ने प्रवृत्तिको अन्त्य गरेर विकासका लागि प्रतिपक्षले पनि सहयोगी भूमिका खेल्नुपर्ने उनले बताए।

जिल्ला समन्वय समितिको भूमिकाबारे प्रष्ट हुन आवश्यक रहेको धारणा उनले कार्यक्रममा राखे। स्थानीय, प्रदेश र संघीय तहलाई सन्तुलनमा राख्न समन्वयको भूमिका खेलेर विकासलाई गति दिन सकिन्छ भन्ने मान्यताअनुसार जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाइएको अध्यक्ष दाहाल बताउँछन् । समन्वय गर्ने अधिकार र समन्वय गर्ने स्रोतसाधन भएन भने समन्वय शब्दमा सीमित हुने भएकाले जिल्लासभाको बन्दसत्रबाट समितिलाई प्रभावकारी बनाउने सुझाव केन्द्रसम्म पु-याउनुपर्ने उनले बताए।

दाहालले चितवनमा नमुना जिल्ला बन्नको लागि आवश्यक सबै आधार भएको दाबी गरे । ‘पार्टी बलियो छ, जनआधार छ, जनचेतना, प्राकृतिक स्रोतसाधन छ,’ उनले भने, ‘रिङ रोड, हुलाकी मार्ग तटबन्ध, जलमार्ग, क्रिकेट रंगशाला, राष्ट्रियस्तरको रंगशाला, सिटी हल, प्रदर्शनी केन्द्रलगायतमा केन्द्रीत भएर काम गरे आउने पाँच वर्षमा चितवन उदाहरण बन्छ।’ विकसित देशमा पनि सबैतिर एकैपटक विकास नभएको उनले द्धृष्टान्त पेस गरे। सम्भावना भएका खास ठाउँको अध्ययन गरेर छिटो परिणाम दिन सकिने स्थानमा सुरु गरेका विकास आयोजनाका कारण नै विकसित बनेको बताउँदै अध्यक्ष दाहालले चितवन पनि देशको विकासमा क्रान्ति ल्याउने स्थान बन्नुपर्ने बताए।

जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभामा ३८ करोड ५६ लाख ८० हजार रुपैयाँ मौज्दात रहेको समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिए। आन्तरिक स्रोतबाट २२ करोड १४ लाख २२ हजार र राजस्व बाँडफाँटबाट १६ करोड, ४२ लाख ५८ हजार रुपैयाँ रहेको छ। जिल्लाका सबै स्थानीय तहमा आवधिक योजना तयार गरी कार्यान्वयन गरिने, सुविधा सम्पन बसपार्कका साथै सबै वडालाई जोड्नेगरी प्रत्येक स्थानिय तहमा रिङ रोड बनाउने, पर्यटकीय क्षेत्रको पहिचान तथा पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।

हरित सहरको अवधारणामा विकास गरिनुपर्ने, माडीमा २४ सै घन्टा स्वास्थ सुविधा दिने सुविधा सम्पन्न अस्पताल निर्माण गरिनुपर्ने, स्थानीय तहमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने, इको टुरिजमको विकास गरिने समन्वय समितिका प्रमुख डल्लाकोटीले बताए । सभाले चितवनलाई प्रदेश ३ को राजधानी बनाउनुपर्ने, नारायणी नदीमा बहुउद्धेश्यीय परियोजना सञ्चालन गरिनुपर्ने, नारायणी/त्रिशुली नदीमा जलविद्युत उत्पादनको संभाव्यता अध्ययन गरिनुपर्ने, हुग्दी–शक्तिखोरर बहुउद्धेश्यीय परियोजनाको डिटेल सर्भे गरिनुपर्ने, भरतपुर विमानस्थलको स्तरोन्नती गर्नुपर्ने प्रस्ताव प्रदेश तथा केन्द्र सरकारसँग राखेको छ।

प्रकाशित: ९ आश्विन २०७५ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App