नेपालमा नेतृत्व विकास

नेतृत्वमा पुरानाकै कब्जाः नयाँलाई निषेध कहिलेसम्म?

सोमबार, ०८ असोज २०७५, १८ : २४ थिरलाल भुसाल  | @thiralalbhusal

2868


सन् १९८२ (वि.स २०३९ साल) मा झलनाथ खनाल तत्कालिन शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा (माले) को प्रमुख बन्दा अहिलेका विश्वका केही चर्चित सरकारप्रमुख तथा राष्ट्रप्रमुख बालखै थिए। आफ्नै पिताको मृत्युपछि एकलौटी शक्ति हातमा लिएका उत्तर कोरियाका नेता किम जङ युन त्यतिबेला जन्मिएकै रहेनछन्। बीबीसीका अनुसार, खनाल महासचिव भएको कम्तीमा एक वर्षपछि सन् १९८३ वा १९८४ मा जन्मिएका किम अहिले संसारकै चर्चित नेतामा पर्छन्। न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डिन सन् १९८२ मा एक वर्षकी थिइन्, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रों चार, ग्रीकका प्रधानमन्त्री एलेक्सिस् सिप्रास् सात र क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रडु दश वर्षका रहेछन्।

अहिले तीनमहिने शिशुकी आमा आर्डेन गत वर्ष सरकारप्रमुख बनेकी हुन्। उनी एक वर्षभित्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमैं एक लोकप्रिय नेताका रूपमा स्थापित भइसकेकी छन्। ग्रीस गम्भीर आर्थिक संकटमा परेका बेला प्रधानमन्त्री बनेका ४० वर्षे सिप्रास्ले मुलुकको समस्या समाधानतर्फ उल्लेख्य प्रगति गरेर देखाइसकेका छन् भने उता, ट्रडु र म्याक्रोंले पनि नेतृत्वमा पुगेको केही समयमैं आआफ्ना मुलुकमा आशा जगाइसकेका छन्।

  • देउवा पहिलोपटक प्रधानमन्त्री बनेको १३ वर्षपछि राष्ट्रपति बनेका ओबामाले पदबाट अवकास लिइसके
  • झलनाथ खनाल पार्टी प्रमुख बन्दा अहिलेका विश्वका केही चर्चित नेता बालकै थिए । उत्तरकोरियाका किम त त्यतिबेला जन्मेकै रहेनछन्

प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा गठित पहिलो निर्वाचत सरकारमा शेरबहादुर देउवा गृहमन्त्री र रामचन्द्र पौडेल स्थानीय विकास तथा कृषिमन्त्री बन्दा बराक ओबामाले हार्भर्ड ल स्कुलबाट भर्खरै अध्ययन पूरा गरी युनिभर्सिटी अफ शिकागो ल स्कुलमा संवैधानिक कानुन पढाउन सुरु गरेका थिए । देउवा पहिलोपटक प्रधानमन्त्री बनेको १३ वर्षपछि मात्र ओबामा सन् २००८ मा अमेरिकी राष्ट्रपति भए। उनले सफल रूपमा दुई कार्यकाल पूरा गरी एक अत्यन्त लोकप्रिय नेताका रूपमा ह्वाइट हाउसबाट बिदा भए । हामीले नेपालमा युवानेता भन्ने गरेका केही नेताहरूकै दौँतरीजस्ता देखिने ५७ वर्षे ओबामा दुई छोरी, श्रीमती र परिवारका अन्य सदस्यसँग रमाइलो जिन्दगी बिताइरहेका छन् । शान्ति, आप्रवास, स्वास्थ्यसेवा, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, व्यापारलगायत विषयमा हुने अन्तर्राष्ट्रिय बहसमा उनले राख्ने धारणालाई विश्वले उच्च महत्व दिन्छ। सन् २००९ मैं नोबेल शान्ति पुरस्कार पाएका उनले स्वदेश तथा विदेशमा आफ्नो विशिष्ट छवि बनाएका छन्।

सन् १९९५ मा देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा उनका समकक्षी थिए– भारतमा पिभी नरसिंह राव र बेलायतमा सर जोन मेजर। त्यतिबेला अमेरिकी राष्ट्रपति थिए, बिल क्लिन्टन र चीनमा जियाङ जेमिन राष्ट्रपति थिए। त्यसपछि भारतमा एचडी देवेगौडा, इन्दरकुमार गुजराल, अटलबिहारी वाजपेयी, मनमोहन सिंह र अहिले नरेन्द्र मोदी प्रधानमन्त्री बनिसकेका छन्। त्यसयता, बेलायतमा टोनी ब्लेयर, गोर्डन ब्राउन र डेभिड क्यामरनले आफ्ना कार्यकाल पूरा गरिसकेका छन्।

सन् १९९५ यता बिल क्लिन्टन, जर्ज डब्लु बुश, बाराक ओबामा सबैले आफ्ना दोहोरो कार्यकाल पूरा गरी ह्वाइट हाउसबाट बिदा लिइसके। चीनमा जियाङ र हु जिन्ताओ दुवैले दुई–दुई कार्यकाल पूरा गरी हाल सी जिनपिङको दोस्रो अवधि जारी छ। कार्यकाल पूरा गरेका यी नेताहरू पुनः सत्तामा दोहोरिनेभन्दा आफ्नो अवकाशप्राप्त जीवनमा पुस्तक लेखेर वा अन्य कुनै सामाजिक वा मानवीय कार्यमा बिताइरहेका छन्।

राप्रपा अध्यक्ष कमल थापा सन् १९८६ (वि.सं २०४३) मा पहिलोपटक मन्त्री हुँदा अमेरिकाका राष्ट्रपति थिए– रोनाल्ड रेगन। त्यतिबेला थापा ३० वर्षका थिए । त्यसयता उनी कहिले मन्त्री, सांसद, विपक्षी नेता, पार्टी प्रमुख वा अन्य कुनै न कुनै भूमिकामा ३२ वर्षसम्म निरन्तर राष्ट्रिय राजनीतिमा हालिमुहाली गरिरहेकै छन् । अहिले संवैधानिक राजतन्त्र र हिन्दु राज्य हुनुपर्छ भन्ने मुद्दा समाएर राजनीति गरिरहेका थापा निर्दलीय पञ्चायती व्यवस्था, २०४६ पछिको बहुदलीय व्यवस्था, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र हालको धर्मनिरपेक्ष गणतन्त्रात्मक व्यवस्था सबैमा गरी पटकपटक शक्तिशाली मन्त्री तथा उपप्रधानमन्त्री भइसकेका छन्।

प्रधानमन्त्री वा राष्ट्रपति जस्ता राजकीय पदमा नपुगी पनि एक विशिष्ट नेताका रूपमा स्थापित गर्न सफल रहे– गणेशमान सिंह र मदन भण्डारी । २०४६ सालपछि नेपाली राजनीतिमा सम्भवतः सबैभन्दा सम्मानित नेता हुन् सिंह र भण्डारी ।

एसियालगायत अन्य केही व्यवस्थित मुलुकमा कसरी निश्चित प्रणालीका आधारमा राजनीतिक नेतृत्व हस्तान्तरण हुन्छ तर, यता नेपालमा भने हरेक दलमा निश्चित व्यक्तिहरू नै दल र सरकारको नेतृत्व कसरी वर्षौं कब्जा गरिरहेका हुन्छन् भन्ने केही तुलनात्मक उदाहरण हुन् यी । यी मुलुकमा राजनीति, राज्यसंयन्त्र, अर्थतन्त्र वा प्रशासन निश्चित नीति, सिद्धान्त तथा स्थापित अभ्यासका आधारमा चल्छन् । त्यसैले ती मुलुकले प्रगति गरेका छन्। ती मान्यतालाई उनीहरूले बिरलैमात्र उल्लंघन गरेका हुन्छन्।

सधै सत्तामा टाँसिने नेपाली मानसिकता
सन् १९९० (वि.सं २०४६) को राजनीतिक परिवर्तनपछि केवल दुईजना नेताले मात्र नेपाली राजनीतिमा आफूलाई अपवादको रूपमा स्थापित गर्न सफल भएका छन् । प्रधानमन्त्री वा राष्ट्रपति जस्ता राजकीय पदमा नपुगी पनि एक विशिष्ट नेताका रूपमा स्थापित गर्न सफल रहे– गणेशमान सिंह र मदन भण्डारी । २०४६ सालपछि नेपाली राजनीतिमा सम्भवतः सबैभन्दा सम्मानित नेता हुन् सिंह र भण्डारी । बहुदलीय प्रजातन्त्रका लागि गरिएको राजनीतिक आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले सिंहलाई गरेको प्रस्ताव अस्वीकार गरी अर्का नेता कृष्णप्रसाद भटराईलाई प्रधानमन्त्री बनाउने सिंहकै प्रस्तावका कारण उनी सर्वोच्च नेताको रूपमा सम्मानित रहे । उनी कहिल्यै पार्टी प्रमुख बनेनन् । केही वर्ष पार्टी महासचिव बनेका भण्डारी मन्त्री, प्रधानमन्त्री बनेनन् । ४२ वर्षमा मृत्यु हुनुअघि नै पार्टी महासचिव भइसकेका भण्डारीले एक सशक्त सिद्धान्तको प्रतिपादन गरेर परम्परागत शैलीको कम्युनिस्ट पार्टीलाई व्यापक रूपमा लोकतान्त्रिक र आधुनिक दलको रूपमा रुपान्तरण गरे र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चर्चामा रहे।
सन् १९९३ मा भण्डारीको मृत्युपछि उनका सहकर्मी कमरेडहरू मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीले विभिन्न समयमा सरकार र दलको नेतृत्व गरे । सन् १९९४ ( वि.सं २०५१) मा बनेको अधिकारी नेतृत्वको सरकारमा माधव नेपाल परराष्ट्र र रक्षासहित उपप्रधानमन्त्री तथा केपी ओली गृहमन्त्री बने । खनाल भने २०४७ सालको अन्तरिम सरकारमा समेत मन्त्री बनिसकेका थिए । तीन वर्षपछि बामदेव गौतम संयुक्त सरकारमा गृहमन्त्री बने । त्यसयता यी नेताहरू पटकपटक दलीय र सरकारी सत्तामैं रहे।

अन्य मुलुकका लोकप्रिय नेता चुनाव हारेपछि जनादेशलाई मानेर पटकपटक सोही पदमा चुनावसमेत लड्न चाहँदैनन् । बरु आफूलाई मन लागेको क्षेत्रमा जीवन समर्पण नै गरेर उदाहरणीय काम गरेका छन् । तत्कालीन लोकप्रिय अमेरिकी उपराष्ट्रपति अल गोर सन् २००० को राष्ट्रपतीय चुनावमा निकै झिनो मतले हारेपछि उनले पुनः त्यही पदका लागि संघर्ष गरेनन् । बरु, सक्रिय राजनीतिबाट बिदा भएर जलवायु परिवर्तनको क्षेत्रमा खटिए । उनले पु¥याएको योगदानका लागि सन् २००७ मा गोरलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो।

युद्ध गरेको माओवादीले अन्यत्र परिवर्तन ल्याए पनि दलको नेतृत्व भने निरन्तर एउटै व्यक्तिको कब्जामा रह्यो, ३० वर्षसम्म । पुष्पकमल दाहालबाट दोस्रो व्यक्तिमा नेतृत्व परिवर्तन नै नगरी दल नै एमालेमा गाभियो ।

अमेरिकाकै राष्ट्रपति जिम्मी कार्टरले दोस्रो कार्यकालको चुनावमा हारे । त्यतिबेला ५७ वर्षे उनले कार्टर सेन्टर स्थापना गरे र संसारका कैयौं मुलुकमा शान्ति र प्रजातन्त्रका लागि काम गरे ।  सन् २००२ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । उनी अझै क्रियाशील छन्।

कार्टर, गोर, र बेलायतका टोनी ब्लेयरजस्तै अन्य कैयौं नेताले आफ्नो निश्चित राजकीय कार्यकाल पूरा गरेपछि आफ्ना फाउन्डेसन वा कुनै प्रतिष्ठित संस्थामार्फत् कुनै न कुनै सामाजिक, मानवीय वा अन्य कुनै क्षेत्रमा विशिष्ट भूमिका निभाएका हुन्छन् । जर्ज एचडब्लु बुस, उनका छोरा जर्ज डब्लु बुस, क्लिन्टन, ब्लेयर वा चिनिया राष्ट्रपतिहरू जियाङ तथा हु पनि पाको उमेरमा अझै सक्रिय जीवन बिताइरहेकै छन् तर, पदीय राजनीतिमैं टाँसिएर होइन । हालका चिनिया राष्ट्रपति सीले आफ्नो कार्यकाल लम्ब्याउने संकेत गरेका छन् र त्यसलाई चीनले पछिल्ला दशकमा स्थापित गरेको नेतृत्व हस्तान्तरण परिपाटीमाथिको एउटा अशुभ संकेतका रूपमा लिइएको छ।

देउवा, नेपाल, ओली, दाहाल तथा भट्टराईजस्ता नेताको अनुभव देशका लागि पक्कै महत्वपूर्ण हुन्छ । तर, त्यसका लागि के उनीहरू सत्तामैं टाँसिरहनै पर्ने वा प्रधानमन्त्री वा राष्ट्रपति जस्तो पदबाहेक अन्यत्र रहेर त्यो अनुभवको सदुपयोग गर्न सकिँदैन त? सकिन्छ । तर, नेपाली नेतामा त्यो इच्छाशक्ति र जाँगर देखिएन।

नेपालमा नेतृत्व हस्तान्तरणको समस्या नयाँ होइन । वि.सं २००७ सालअघि खुलेका दलमा सुरुकै दशकदेखि नेतृत्वमा हानथाप र विवाद निरन्तर भइरहेको देखिन्छ। हालको सर्वशक्तिशाली सत्ताधारी दलमा देखिएका पछिल्ला दुई घटनाले अहिलेका नेता सत्ता हस्तान्तरणका लागि पटक्कै इच्छुक नभएको देखाउँछ । एमालेको महाधिवेशनबाट पारित दलको कार्यकारी पदका लागि ७० वर्षे उमेर हद नेकपा–एमाले र एनेकपा (माओवादी) एकीकरण गर्ने क्रममा हटाइयो । दोस्रो, सो दलले गत चुनावमा हारेका पार्टीका प्रभावशाली नेता बामदेव गौतमलाई पुनः संघीय सांसदको रूपमा निर्वाचित गराउन डोल्पा वा अन्य कुनै सहज निर्वाचन क्षेत्रको खोजी गरिरहेको छ । ७० वर्षे उमेर हदको प्रावधानलाई त गौतमले सार्वजनिक रूपमै सो व्यवस्था आफूप्रति पूर्वाग्रह राखेर ल्याइएकोले हटाइएको बताए । अहिले खनाल, नेपाल, ओली र दाहाल ७० नजिक पुग्दैछन् भने गौतम ७० पुगिसकेका छन्।

पुरानाकै छत्रछायाँमा दोस्रो तहका नेता
मातहतका नेताहरूबाट जबर्जस्त दबाब सामना नगरेकाले पनि यी नेतामा अनवरत नेतृत्वमैं रहने लालसा बढेको देखिन्छ। दोस्रो तहका नेतामा शीर्ष नेताको हालिमुहालीविरुद्ध आवाज उठाएर ‘उनीहरूको तारो बन्ने’ जोखिम उठाउनुभन्दा एक शीर्ष नेताकै छत्रछायाँमा आफ्नो भविष्य सुनिश्चित गर्नु बुद्धिमानी ठान्ने प्रवृत्ति पछिल्लो समय बढ्दो छ । यसैकारण ७० वर्षे उमेरहद हटाउने निर्णयविरुद्घ कुनै जबर्जस्त आवाज उठ्न सकेन।

पाका नेताकै शासनलाई नै ठीक मान्ने प्रवृत्ति सबै दलमा छ । यो अवस्था केवल नेकपा, नेपाली काँग्रेस वा राप्रपामा मात्र नभई राष्ट्रिय रोगको रूपमा साना–ठूला सबै दलमा जकडिएको छ । सबै दलका नेतृत्व पुरानै अनुहारले कब्जा गरेका छन् । सत्तामोह कम भएका भनी चिनिने मोहनविक्रम सिंह, चित्रबहादुर केसी, नारायणमान बिजुक्छे र महन्थ ठाकुर पनि पार्टीको सत्ता चाहिँ छाड्न चाहँदैनन् । उनीहरू वर्षौंदेखि पार्टी नेतृत्वमा छन् । निरन्तर सांसद रहेका र कहिल्यै मन्त्री नबनेका विजुक्छेले गत वर्ष सांसद् नबन्ने निर्णय गरेर वाहवाही कमाए। तर, नेमकिपाको दलीय लगाम भने उनैले समाइरहेका छन्।

देशका शासकलाई सत्ताच्युत गर्ने, परम्परागत मूल्यमान्यता, अभ्यास र शक्तिकेन्द्रलाई जरैदेखि फालेर सँधै सत्ताबाहिर रहेकालाई नेतृत्वमा पुर्याउने भनी युद्ध गरेको माओवादीले अन्यत्र परिवर्तन ल्याए पनि दलको नेतृत्व भने निरन्तर एउटै व्यक्तिको कब्जामा रह्यो, ३० वर्षसम्म । पुष्पकमल दाहालबाट दोस्रो व्यक्तिमा नेतृत्व परिवर्तन नै नगरी दल नै एमालेमा गाभियो । अहिले एकीकृत दलमा पनि दाहालले आफूलाई शीर्ष नेतृत्वमैं स्थान सुरक्षित गर्न सफल भएका छन् । वि.सं २०६२–६३ को आन्दोलनपछि उदाएका कुनै पनि मधेसी दलको नेतृत्व हस्तान्तरण भएको छैन । ६ दल मिलेर एउटा संयुक्त दल बन्दा पनि ६ जना नै सहअध्यक्ष छन् । यसबाट प्रस्ट हुन्छ– दलीय सत्ताप्रतिको लालसा । २०४८ सालदेखि निरन्तर सत्तामा रहेका विजय गच्छदार क्षेत्रीय राजनीतिको रौनक कम भएपछि गत वर्ष पुरानै दल नेपाली काँग्रेसमा फर्किए।

पुरानाको यो कब्जा र नयाँको खडेरीले नेतृत्वमा गम्भीर समस्या सिर्जना गर्छ । पहिलो, यसले नयाँ नेताहरूको उदयलाई निरुत्साहित गर्छ भने समाजका उत्कृष्ट युवामा राजनीतिप्रति कुनै आकर्षण हुँदैन । दोस्रो, नयाँ व्यक्तिको प्रवेश निषेध भएपछि नेतृत्वमा नवीन विचारको शून्यता हुन्छ। निर्णय प्रक्रियामा एकैखालका, पुरानै तर्क र विचार तथा ‘हो–मा–हो थप्ने’ प्रवृत्ति हावी भइरहन्छ । बैठकमा फरक र उत्कृष्ट विचार आउन सक्दैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, राजनीतिक, आर्थिक, कुटनीतिक र गम्भीर मानवीयलगायत विषयमा निर्णय लिनुपर्ने निकाय स्वच्छ विचारको प्रवाह भइरहने एउटा नदीजस्तो हुनुपर्नेमा नेपालको राजनीतिक नेतृत्व पछिल्लो समय पुराना कुवाहरूजस्तो ‘जाम’ भइरहेका छन्।

अवकासप्रति अनिच्छा
देउवा, नेपाल, ओली, दाहाल तथा भट्टराईजस्ता नेताको अनुभव देशका लागि पक्कै महत्वपूर्ण हुन्छ । तर, त्यसका लागि के उनीहरू सत्तामैं टाँसिरहनै पर्ने वा प्रधानमन्त्री वा राष्ट्रपति जस्तो पदबाहेक अन्यत्र रहेर त्यो अनुभवको सदुपयोग गर्न सकिँदैन त? के अन्य मुलुकका अवकाशप्राप्त नेताले जस्तै गर्न सकिँदैन ? सकिन्छ । तर, नेपाली नेतामा त्यो इच्छाशक्ति र जाँगर देखिएन।

मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा र सुशील कोइराला अन्तिम सास रहुन्जेलसम्म नेतृत्वमैं रहे । अरु नेताले त्यही परिपाटी अनुसरण गरिरहेका छन् । एउटा सशक्त शैक्षिक योग्यता र विज्ञता भएका डा. बाबुराम भट्टराईले समेत परम्परागत राजनीतिभन्दा पर सोच्न सकेका छैनन् । एकपटक शक्तिशाली प्रधानमन्त्री बनिसकेका भटराईको दल संघीय संसदमा एक सिटमा खुम्चिँदा पनि पुरानै शैलीको राजनीतिभन्दा माथि उठ्न, सोच्न सकेका छैनन् ।

पछिल्लो समय ७० वर्ष नजिक पुगेका देउवा, दाहाल र नेपालले आफ्नो सारा ध्यान र शक्ति फेरि सरकार वा पार्टीको प्रमुख कसरी बन्ने भन्नेमा केन्द्रित गरेका छन् । उता, पटकपटक शक्तिशाली मन्त्री बनिसकेका गौतम र पौडेल जीवनमा एकपटक पार्टी वा सरकार प्रमुख बन्ने अभिलाषा बोकिरहेका छन्।

नेपाल, भट्टराई, पौडेल वा सुवास नेम्वाङजस्ता नेताले कुनै फाउन्डेसन्मार्फत् संसारभर नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, यहाँको प्रकृति, संस्कृतिलगायत विषयमा सन्देश प्रवाह गर्ने एउटा छुट्टैअभियान सुरु गर्न किन सक्दैनन् ?

निकै लामो संघर्ष गरी राजनीतिलाई एउटा चरणमा पु¥याएका नेताहरू बदलिँदो परिस्थितिमा पनि सत्तामैं टाँसिनु आफैलाई अपमानित र असान्दर्भिक सावित गर्नु हो । कृपया, नयाँलाई ठाउँ छाडौँ । अब त ढिला भइसक्यो।

यो आलेख अंग्रेजीमा No country for new leaders शिर्षकमा रिपब्लिका दैनिकमा छापिएको थियो। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...