८ वैशाख २०८१ शनिबार
अर्थ

निर्वाचन क्षेत्र पूर्वाधारको बजेट स्थानीय तहमार्फत खर्चिन माग

इलाम– नेपाल नगरपालिका संघले निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमको बजेट स्थानीय तहमार्फत् खर्च गर्ने व्यवस्था गर्न माग गरेको छ। संघको सोमबार इलाममा सम्पन्न १ नम्बर प्रदेशस्तरीय बैठकले दुवै कार्यक्रमको बजेट नगरसभाले पारित गरेका योजनामै खर्च गर्ने व्यवस्था गर्न संघीय सरकारसमक्ष माग गर्ने निर्णय गरेको हो। 

निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमको बजेट सम्बन्धित क्षेत्रका सांसदमार्फत् खर्च गरिँदा हदैसम्मको अनियमितता हुने गरेको गुनासो बर्सेनी आइरहेको छ। सांसदले आफूनिकटका कार्यकर्तालाई योजना छान्न लगाउँदा बजेटको चरम दुरुपयोग हुनेगरेको गुनासो बारम्बार आइरहेपनि उसैगरी बजेट आउन छाडेको छैन। ‘स्थानीयस्तरमा आवश्यक योजना सम्पन्न गर्न नगरपालिकासँग सहकार्य हुने र विकासका काम एकै ढोकाबाट हुने भएकाले संघले नगरपालिकामार्फत् यस्तो बजेट खर्च गर्ने व्यवस्था चाहेको हो,’ इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले भने, ‘नगरसभाले पास गरेका योजनामा मात्रै सांसद विकास कोषको रकम खर्च होस् भन्ने जनप्रतिनिधिको अपेक्षा हो।’ 

संघका १ नम्बर प्रदेश संयोजक तथा इलाम नगरपालिका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले केन्द्र तथा प्रदेश दुवै संसद्का सांसदमार्फत् आउने रकम स्थानीय तहमार्फत् खर्च गर्न आग्रह गर्ने निर्णय गरेको हो। जिल्लामा रहेका समानान्तर कार्यालय स्थानीय तहमातहत ल्याउने संघीय सरकारको निर्णय पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। यस्ता कार्यालय स्थानीय तहमा ल्याउने निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई पुनःमाग गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले जनप्रतिनिधिको ‘मानमर्दन’ हुनेगरी निर्धारण गरिएको उनीहरूको सेवा–सुविधामा समेत पुनर्विचार गरी थप गर्न आग्रह गर्ने निर्णय गरेको छ। ‘जनप्रतिनिधिको मर्यादाक्रम सच्याउन र सेवा–सुविधा बढाउन आग्रह गर्ने निर्णय पनि भएको छ,’ बैठकको आमन्त्रित सहभागीसमेत रहेका प्रवक्ता श्रेष्ठले भने। 

संघको १ नम्बर प्रदेशस्तरीय भेला आउँदो मंसिर ७ गते सुनसरीको इटहरीमा आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ। भेलामा १ नम्बर प्रदेशका सबै नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रत्येक नगरबाट १ महिलासहित २ वडाध्यक्ष सहभागी गराइने भएको छ। सोमबारको बैठकमा संघका केन्द्रीय सदस्य ज्ञानेन्द्र सुवेदी, १ नम्बर प्रदेशका संयोजक बस्नेत, सहसंयोजक तथा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, सदस्य तथा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा, अर्का सदस्य फुङलिङ नपाका उपप्रमुख बमबहादुर भट्टराई, खोटाङको रूपाकोटमझुवागढी नपाकी उपप्रमुख वीणादेवी राई, शिवसताक्षी नगर उपप्रमुख भोजकुमारी नेपाल, इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङ र इलाम नपाका वडाध्यक्षहरूको सहभागिता थियो।  

प्रकाशित: ८ आश्विन २०७५ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App