४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

गाेरखाका बालबालिकामा मस्तिष्क पक्षघात बढ्दो

गोरखा - २०७२ काे विनाशकारी भुकम्पपछि गोरखामा मस्तिष्क पक्षघातका बिरामी बढी देखिन थालेका छन्। भुकम्प पछि गर्भमा रहेको शिशु, गर्भवती महिलाले उचित स्याहार नगरेका कारण दुईदेखि तीन वर्ष उमेर भित्रका बालबालिकामा यस्तो समस्या धेरे देखिएको हो। युर्निभर्सिटी अफ सिड्नीको सहयोगमा सिएसएफ ग्लोबल नेपालले गोरखाको ६ वटा स्थानीय तहमा गरेको सर्वेक्षणले मस्तिष्क पक्षघातको अवस्था भयावह देखाएकाे हाे। गोरखा नगरपालिका भित्र मात्रै ५७ जनामा यो रोग देखिएको छ। १८ वर्ष मुनिका बालबालिकामा गरीएको सर्वेक्षणमा पालुङटार नगरपालिकामा २२, आरुघाट गाउँपालिकामा १५, शहिद लखनमा १८, भिमसेन थापा गाउँपालिकामा १२ र सिराञ्चोक गाउँपालिकामा ११ जनामा मस्तिष्क पक्षघात भेटिएको कार्यक्रम संयोजक अमिर बञ्जारा क्षेत्रीले बताए।

बालबालिका समान्य भन्दा फरक हुनु, असाधारण व्यवहार देखाउनु, शरीरका अंगहरु लुलो लंगडो हुनु, उमेर अनुसार वजन नहुनु, उमेर  भइसक्दा समेत हिडडुल गर्न नसक्नु जस्ता समस्या बढी देखा पर्ने गरेका छन्। जन्मजात नै हातखुट्टा फर्कनु, टाउको ठुलो हुनु, बालबालिकाले देखाउने व्यवहार र शारीरिक वृद्धी विकासमा फरक देखिनु र ति लक्षणको असरले मानसिक सन्तुलनमा समेत असर गर्नुलाई मस्तिष्क पक्षघात भनिन्छन। उक्त रोगको उपचार सम्भव छैन। ‘रोगबाट हुने असर कम गर्न र साधारण खालको पक्षघातलाई ठुलो हुनबाट बचाउन सकिन्छ’ डाक्टर अमृत देवकोटा भन्छन् ‘नियमित निग्रानी गर्ने, थेरापी गर्ने, खानपान र व्यवहारमा ध्यान दिने हो भने असर कम गराउन सकिन्छ तर हाम्रो देशमा उपचार सम्भव छैन।’

अाइतवार गोरखा सदरमुकामको आमा बा अस्पतालमा मस्तिष्क पक्षघात भएका २१ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो। यस अघि गत जेठ महिनामा पनि एक सय ३१ जनाको जाँच गराउँदा अधिकांस कम उमेरकामा मस्तिष्क पक्षघात बढी भेटिएकाे थियाे। जनजाती र दलित समुदायका बालबालिकामा यो रोग धेरै देखिएको डाक्टर देवकोटा बताउँछन्। गर्भवती हुँदा खानपानमा ध्यान नदिने, स्याहार कम हुने, पौष्टिक तत्वको अभाव, बालबालिकालाई शिशु अवस्थामा स्याहार नपुग्ने, समान्य समस्या आउँदा अत्तालिएर अविभावकले धेरै औषधी प्रयोग गर्ने जस्ता कारणले मस्तिष्क पक्षघात भएको पाइएकाे छ। 

प्रकाशित: ८ आश्विन २०७५ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App