coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन बोर्डबाटै सरकारी कार्यविधिको अवज्ञा

काठमाडौं - नेपाल पर्यटन बोर्डले सरकारी कार्यविधिको अवज्ञा गरेको पाइएको छ । बोर्डले ट्रेकिङ वा पर्वतारोहणमा जाने विदेशीलाई गाइडबिनै भ्रमण अनुमति दिएर साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ का प्रावधान उल्लंघन गरेको हो।

गाइडबिना पदयात्रामा जाने पर्यटक हराउने क्रम बढेपछि सरकारले गत भदौ १६ गतेबाट लागू हुने गरी साहसिक तथा पर्वतीय पर्यटकको खोज, उद्धार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । कार्यविधिको बुँदा नं. ३ (२) मा गाइड साथमा राखेर मात्रै पदयात्रा गराउनुपर्ने उल्लेख छ । ट्रेकिङ एजेन्सीहरुले पर्यटकलाई पदयात्रामा पठाउँदा अनिवार्य रुपमा गाइड पठाउने गरेका छन् । बोर्डले अनुमति दिएर पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) जारी गरी पठाउने पर्यटकले भने बिनागाइड भ्रमण गरिरहेका छन् । तथ्यांक अनुसार पदयात्राका क्रममा हराउनेमा अधिकांश बोर्डले टिम्स दिएर गाइडबिना पठाइएका पर्यटक नै छन्।

पदयात्रामा जाने पर्यटकको लागि अनिर्वाय गाइड लैजानुपर्ने कार्यविधि बनेपनि पर्यटन बोर्डले भने गाइडबिनै पर्यटकलाई पदयात्रामा पठाइरहेको छ । यसरी पदयात्रामा पर्यटक पठाउँदा हराउने समस्या तथ्यांक छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पदयात्रामा जाने पर्यटकलाई साथमा अनिवार्य गाइड लैजाने व्यवस्था कार्यान्वयन गर्न पर्यटन विभागलाई भदौ २४ गते पत्र पठाएको छ । सोही पत्रको आधारमा विभागले भदौ ३१ गते पदयात्रामा पर्यटक पठाउँदा गाइड अनिवार्य गर्न बोर्ड र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लाई पत्राचार गरेको छ । विभागको निर्देशन अनुसार टानले पदयात्रामा जाने पर्यटकलाई गाइडबिना टिम्स कार्ड जारी गर्दैन । ‘हामी त पदयात्रामा जाने पर्यटकले अनिवार्य गाइड लैजानुपर्छ भन्ने पक्षमै थियौं,’ टानका महासचिव आङपेम्बा शेर्पाले भने, ‘गाइड नलाने पर्यटकलाई हामी टिम्स कार्ड नै दिँदैनौं।’

सरकारले गरेको नयाँ व्यवस्थाको स्वागत गर्दै कार्यान्वयन गरिरहेको शेर्पाले बताए । उनका अनुसार टानले यसअघि पनि गाइडबिनाका पर्यटकलाई टिम्स जारी गर्दैनथ्यो । तर, बोर्डले गाइड नभएका पर्यटकलाई पनि टिम्स कार्ड दिएर पदयात्रामा पठाइरहेको छ । बोर्डले विभागको पत्रलाई समेत लत्याएर अनुमति दिइरहेको छ । ‘बोर्डले अहिले दैनिक सरदर ४० जना पर्यटकलाई टिम्स कार्ड दिइरहेको छ,’ बोर्डका सिइओ दीपकराज जोशीले भने, ‘मध्य सिजनमा दैनिक दुईदेखि तीन सयजना पर्यटक बोर्डबाट अनुमति लिएर पदयात्रामा जान्छन् ।’ उनका अनुसार मन्त्रालयले गरेको व्यवस्था र विभागबाट जारी पत्रबारे बोर्ड जानकार छ।

‘गाइडबिना पदयात्रामा पयर्टक पठाउन नहुने व्यवस्था राम्रो हो,’ जोशीले भने, ‘तर पनि सरकारले गरेको व्यवस्था कार्यान्वयन गर्न सकेका छैनौं ।’ उनी एक्लै पदयात्रामा जाने पर्यटकलाई कसरी कम्पनीमार्फत पठाउने भन्नेमा अन्योल रहेको बताउँछन् । त्यसैले गर्दा बोर्डले पहिलेकै व्यवस्था अनुसार गाइडबिनाका पर्यटकलाई समेत टिम्स कार्ड दिइरहेको छ । टिम्स कार्डबिना विदेशी पर्यटक ट्रेकिङ वा पर्वतीय क्षेत्रको पदयात्रामा जान पाउँदैनन्।

बोर्डबाट टिम्स कार्ड लिएर पदयात्रामा जाने पर्यटक फ्री इनडिभिडुअल ट्रेकर (एफआइटी) हुन् । एफआइटीलाई गाइड अनिवार्य गर्ने गृहकार्य भइरहेको उनले बताए । ‘गाइड अनिवार्य गर्दा टे«कर सुरक्षित हुने र नेपाली गाइडले रोजगारी पनि पाउने हुँदा हामीलाई नै फाइदा हुन्छ,’ उनले भने, ‘कसरी लागू गर्ने भन्नेमा गृहकार्य गर्दैछौं।’

जोशीले आउँदै गरेको विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को चटारोले गर्दा व्यापक छलफल गरेर यो विषय टुंग्याउन नसकिएको बताए । पर्यटन दिवस मनाएपछि विभाग र टानसँग बसेर छलफल गर्ने उनको भनाइ छ । त्यसपछि उपाय पहिल्याएर पदयात्रामा जाने सबै पर्यटकलाई अनिवार्य गाइडको व्यवस्था कार्यान्वयन थालिनेछ।

विभागले पनि गाइड अनिवार्य गर्नुको विकल्प नभएको बतायो । ‘गाइडबिना पदयात्रामा जाने पर्यटक हराउने, बिरामी हुने समस्या छ,’ विभागका प्रवक्ता सुरेन्द्र थापाले भने, ‘सुरक्षित पदयात्राको विकल्प भनेकै अनुभवी गाइड हो।’

बोर्डका अनुसार नेपाल आउने पर्यटकमध्ये सरदर २० प्रतिशत गाइडबिनै घुम्न जाने गरेका छन् । गाइडबिनै जाने पर्यटक बढी बेपत्ता हुने गरेको अभिलेख छ । नेपाल प्रहरीका अनुसार आव ०६९/७० मा ८ जना, ०७०/७१ मा १२ जना, ०७१/७२ मा १२ जना, ०७२/७३ मा १४ जना र ०७३/७४ मा १६ जना पर्यटक बेपत्ता भएका थिए।

लाङटाङ क्षेत्रमा पदयात्राको अनुमति लिएर हिँडेका २१ वर्षे ताइवानी लाइङ सिङ युन र १९ वर्षीया लिउ चेन चुन २०७३ फागुन २० मा बेपत्ता भए । ५५ दिनपछि धादिङको खोंचमा युनलाई जीवितै र चुनलाई मृतावस्थामा भेटिएको थियो । लाङटाङ क्षेत्रकै पदयात्रामा हिँडेका डेनमार्कका २६ वर्षीय मार्टिन अडसेन ओभरगार्ड पनि २०७३ फागुन २३ मा बेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन् । उनीहरु गाइडबिनै जाँदा बाटो पत्ता लगाउन नसकेर हराएका थिए । यसरी हराउनेमध्ये केही पर्यटक जिवितै र केहीको लाश भेटिएको छ भने केहीको अवस्था अझै अज्ञात छ।

प्रकाशित: ८ आश्विन २०७५ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App