४ वैशाख २०८१ मंगलबार
अर्थ

वर्षामा क्षमताअनुसारै विद्युत् उत्पादन

इलामको माई नगरपालिकास्थित सानिमा माई जलविद्युत् आयोजनाको क्यासकेड। तस्बिर : भीम/नागरिक

इलाम - हिउँदमा पानी सुकेर क्षमताको आधा पनि उत्पादन दिन नसक्ने जलविद्युत् आयोजनाहरूले यतिबेला पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् । कतिपय आयोजनाले क्षमताभन्दा केही बढीसमेत विद्युत् उत्पादन गर्दा राष्ट्रिय प्रसारणमा हिउँदभन्दा वर्षामा ठूलो योगदान हुने गरेको छ।

विद्युत् उत्पादनको उच्च सम्भावना रहेका इलाम, पाँचथर र ताप्लेजुङमा अहिले सय मेगावाट हाराहारी विद्युत् उत्पादन भइरहेको छ । हिउँदमा खोलामा पानीको बहाव कम हुँदा कुल २० देखि ४० मेगावाटसम्म मात्रै उत्पादन गर्ने आयोजनाहरूले अहिले ९७ मेगावाट उत्पादन गरिरहेको काबेली करिडोर आयोजनाले जनाएको छ । गोदकस्थित आयोजनाको कार्यालयमा इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित बिजुली जम्मा हुने गरेको छ । यहाँ संकलन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ।

यी तीन जिल्लामा नौ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । आयोजनाका अनुसार विद्युत् उत्पादन भइरहेकामध्ये इलामको हिस्सा सबैभन्दा बढी ७७.५ मेगावाट छ । इलामका सानिमा माईले २९ मेगावाट, पञ्चकन्याले १६, हिमाल दोलखाले १२, जोगमाईले साढे सात, अप्पर पुवाखोलाले तीन, पुवाखोला पहिलोले चार, पुवाखोलाले ६ मेगावाट विद्युत् उत्पादन गरिरहेको गोदकस्थित विद्युत् सब–स्टेसनले जनाएको छ । सब–स्टेसनका अनुसार पाँचथरको अप्पर हेवाखोलाले १५ मेगावाट उत्पादन गर्दैछ भने ताप्लेजुङको सिवानीले उत्पादन गरेको पाँच मेगावाट काबेली प्रसारणमार्फत् गोदक सब–स्टेसनमा आइरहेको छ।

आयोजनाको मेसिनमा पूर्ण क्षमता रहेपनि हिउँदमा खोलाको पानी कम हुँदा उत्पादन ज्यादै न्यून हुने गरेको आयोजना सञ्चालक बताउँछन् । पञ्चकन्या जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक सन्तोष प्रधानले हिउँदमा चारदेखि सात मेगावाट मात्रै उत्पादन गर्ने आयोजनाले वर्षायाममा क्षमताभन्दा बढी नै उत्पादन गर्न सक्ने बताए । ‘जेठदेखि असोजसमम खोलामा पानी भएका बेला मात्रै उत्पादन राम्रो हुन्छ,’ उनले भने, ‘कात्तिकपछि वैशाखसम्म नै क्षमताअनुसार उत्पादन हुन सक्दैन।’

यी तीन जिल्लामा नयाँ आयोजना पनि निर्माणाधीन छन् । इलाम नगरपालिका–५ बरबोटे र वडा २ सुम्बेकस्थित माइखोलामा ७.८ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना निर्माणाधीन छ । सुम्बेकमा ९.१ मेगावाटको सगरमाथा, सिद्धिखोलामा १० मेगावाटको सिद्धिखोला र माइबेनीमा ९.२ मेगावाटका जलविद्युत् आयोजना बन्दैछन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार इलाममा आठ, पाँचथरमा एक मेगावाट र ताप्लेजुङमा करिब पाँच सय किलोवाट विद्युत्को माग छ । प्राधिकरणका इलाम शाखा प्रमुख रविनबाबु घिमिरेले निर्माणाधीन आयोजनाको काम सकिएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिने बताए । ऊर्जा मन्त्रालयका अनुसार देशभरमा अहिले एक हजार चार सय मेगावाट बिजुली माग छ । तर, आठ सय मेगावाटजति मात्रै उत्पादन भइरहेको छ । प्रदेश १ का खोलाबाट मात्रै व्यवसायीले एक हजार सात सय मेगावाट बिजुली निकाल्ने अनुमति लिएपनि उत्पादन निकै कम छ । प्रदेश १ का खोलाबाट १५ हजार मेगावाट बिजुली उत्पादन हुनसक्ने अनुमान व्यवसायीको छ।

प्रकाशित: ८ आश्विन २०७५ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App