८ वैशाख २०८१ शनिबार
अन्य

‘अपसोल्डर कट’को ट्रेन्ड

फेसन हरेक हप्ताजस्तो परिवर्तन भइरहन्छ । थरिथरि फेसनमा आफूलाई फेसनेवल बनाउनेको जमात निकै देख्न सकिन्छ । सहरिया जिवनशैलीमा नयाँ नयाँ फेसनमा रमाउने जमातले धेरै समयसम्म रुचाएको फेसन भएको छ, ‘अपसोल्डर कट’ । ‘अपसोल्डर कट’ डिजाइनका लुगाहरू प्रायः हरेक महिलाले लगाएको देख्न सकिन्छ । गर्मी मौसमसँगै भित्रिएको ‘अपसोल्डर कट’ निकै समयसम्म चलेको छ । यो हरेक उमेरका महिलाहरूले रुचाएको पाइन्छ । गर्मीमा लगाइने लुगामा ‘अपसोल्डर कट’को फेसन निकै चलेको व्यापारी बताउँछन । शरद ऋतुको सुरुवात भए पनि गर्मीले भने छोडेको छैन । गर्मी महिनालाई फेसन गर्ने समयका रूपमा लिनेहरूका लागि भने यो समय निकै राम्रो रहेको पाइन्छ । फेसनेवल जीवनशैलीमा रमाउनेहरूका लागि हरेक मौसम फेसनेवल नै हुन्छ।

न्युरोडको एक कपडा पसलमा टिसर्ट किन्न व्यस्त थिइन्, आस्मिका गुरागाईँ । यसपालिको किनमेलमा आफ्नी ममीसँग आएकी आस्मिकाको हातमा थियो, ‘अपसोल्डर कट’ टिसर्ट । उनले हलुका निलो रंगको टिसर्ट किन्ने विचार गरिन् । ‘यसपालि निकै चलेको फेसन ‘अपसोल्डर कट’ टिसर्ट पहिला पनि किनिसकेकी थिएँ, अझै लगाउने मन भएर फेरि किनेकी हुँ,’ उनले भनिन्।

‘अपसोल्डर कट’ लगाउँदा फेसेनेवल देखिनुको सँगसँगै  गर्मीमा सजिलो पनि हुने उनी बताउँछिन् । ‘अपसोल्डर कट’ अन्य टिसर्टभन्दा आकर्षक लुक्स देखाउने उनी अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘अरु टिर्सटभन्दा ‘अपसोल्डर कट’ लगाउँदा राम्री देखिएको फिल हुन्छ, हलुकासँगै गर्मीमा कुल देखाउँछ।’

बढ्दो गर्मीलाई रोकथामका साथै फेसनेबल राख्न बजारमा यसपाली आफ्नो पकड राख्न सफल भएको छ, ‘अपसोल्डर कट’  । ‘अपसोल्डर कट’ अर्थात् कुममा काटिएको टिसर्ट, सर्ट, ब्लाउज, कुर्ता, चोली, वानपिस्, लङ ड्रेसलगायत डे«सहरू फेसनमा निकै चलेका छन् । फेसनको दुनियाँमा तीन वर्षयता ‘अपसोल्डर कट’ले राज गरेको छ । सहरीया जीवनशैली बाँच्ने सबै उमेरका महिलाहरूलाई ‘अपसोल्डर कट’ले आकर्षण गरेको देख्न सकिन्छ।

पुल्चोक बस्ने प्रिती थापाले ‘अपसोल्डर कट’ ब्लाउज सिलाइन् । एक प्राइभेट कार्यालयमा कार्यरत उनी संस्थाको बार्षिक उत्सवमा साडी लगाउने योजनामा छिन् । कालो रङको सादा साडीमा गोल्डेन बोर्डर भएकाले गोल्डेन रङको ‘अपसोल्डर कट’ ब्लाउज सिलाउन दिएको उनी बताउँछिन्।

अफिसको कार्यक्रममा सबैले साडी लगाउने निधो गरेपछि ‘अपसोल्डर कट’ ब्लाउज बनाउने सोच आएको उनले बताइन् । ‘म फेसनलाई फलो गर्न रुचाउँछु, ठाउँ अनुसारको ड्रेसअप गर्न मलाइ मनपर्छ, यसपालि ‘अपसोल्डर कट’ निकै चलेको हुँदा यही स्टाइलको ब्लाउज बनाउने निधो गरे,’ उनले भनिन् । प्रितीले ब्लाउज मात्र नभएर क्याज्युवल्ली लगाइने टिसर्ट, कुर्ती, वानपिसमा समेत ‘अपसोल्डर कट’ भएको किनेकी छन्।

केहि वर्षयता बजार तताउँदै आएको ‘अपसोल्डर कट’ क्याजुअलदेखि पार्टी र अफिस ड्रेसका रूपमा नै राज चलाउँदै छ । हिलारी क्लिन्टनले ह्वाइट हाउसमा भएको स्टेट डिनरमा पहिलो पटक ‘अपसोल्डर कट’ लगाएकी थिइन् । सन् १९९३ मै ‘अपसोल्डर कट’ले बजारमा एक किसिमको राम्रो पकड जमाइसकेको थियो । २० वर्षपछि ‘अपसोल्डर कट’ फेरि फेब्रेट फेसनको रूपमा विश्वभरको बजारमा रुचाइएको पाइन्छ।

मंगलबजारको एक रेडिमेड कुर्ती पसलमा कुर्ती रोज्दै थिइन, राज्ञी महर्जन । भोजमा लगाउन कुर्ती किन्न आएकी राज्ञीलाई रोयल ब्लु कलरको कुर्ती मनपर्योे । उनले रोयल ब्ल्यु कलरको कुर्तीमा ‘अपसोल्डर कट’ भएको मागिन् । उनलाई रोयल ब्ल्यु कलर निकै मनपर्छ, ‘अपसोल्डर कट’ भएको लङ कुर्तीमा युनिक अनी स्मार्ट देखाउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘लगाउँदा सालीनताका साथै फेसनेवल लुक्स पनि दिन्छ, भोजमा पारिवारिक जमघट हुँदा मलाई यस्तै लुगा लगाउन मनपर्छ।’

न्युरोडस्थित पुनम रेडिमेट स्टोरका सञ्चालक मनोजकुमार गुप्ताका अनुसार यसपाली ‘अपसोल्डर कट’को फेसन निकै चलेको छ । ‘अपसोल्डर कट’को डिजाइनमा टिसर्ट, वानपिसलगायत लुगाहरूको व्यापार निकै राम्रो भएको उनी बताउँछन् । ‘फेसनको जमाना हरेकलाई फेसन गर्न मनपर्छ, साना केटीदेखि उमेरका महिलासम्म फेसन गर्न रुचाउँछन्,’ उनी भन्छन्, ‘अपसोल्डर कट’ले अलिक लामो समय नै बजारमा तहल्का पिट्यो।’

‘साना नानीको लुगामा समेत ‘अपसोल्डर कट’को फेसन देख्न सकिन्छ,’ उनले भने । ‘अपसोल्डर कट’ लगाउनेहरूको भीडमा विशेष कलेज पढ्ने टिनएजका युवतीदेखि उमेरका पाका महिला समेत आउने उनी बताउँछन् । रेडिमेड लेडिज आइटम बेच्दै आएका गुप्ता भन्छन्, क्रप्ट टिसर्ट, लङ टिर्सट, वानपिसलगायत प्रायः सबै ड्रेसमा ‘अपसोल्डर कट’ रोज्ने हुल निकै धेरैको छ।’

रेडिमेड लुगामा तयारी अवस्थामा आएको ‘अपसोल्डर कट’  पछि कपडा दिएर तयार पार्नेहरूले समेत बाहुलाको स्टाइल ‘अपसोल्डर कट’ बनाइदिन अनुरोध गर्ने बताउँछिन्, पाटनकी लक्ष्मी श्रेष्ठ । ६ वर्षदेखि सिलाई कटाई गर्दै आएकी लक्ष्मी हरेक दिनजसो कुर्ता र ब्लाउजका थरिथरिका डिजाइन बनाउन व्यस्त हुन्छिन् । ‘ओहो, ‘अपसोल्डर कट’ त यसपालिको फेसनको ट्रेन्ड नै भयो, साना नानीलाई समेत यो फेसन मनपर्छ,’ उनले हास्ँदै भनिन्।

‘अपसोल्डर कट’को ब्लाउजको पनि निकै राम्रो बजार भएको उनी अनुभव सुनाउँछिन् । चिसो मौसमको सुरु हुन लागेको भए पनि ‘अपसोल्डर कट’ को बाहुलाको फेसन रोज्नेको संख्या भने नघटेको उनी अनुभव सुनाउँछिन् । ‘अपसोल्डर कट’लाई धेरै महिलाले गर्मीका लागि निकै रुचाइएको उनले बताइन् । यसपालि बजारमा सबैभन्दा बढी चलेको फेसन नै ‘अपसोल्डर कट’ रहेको उनी अनुभव सुनाउँछिन् । पसलमा रेडिमेड लगाउनेले देखि थानको कपडा सिलाउन ल्याउनेले समेत ‘अपसोल्डर कट’ डिजाइन सिलाउन दिने उनी बताउँछिन् । ‘गर्मीमा शीतल हुने, हेर्दा राम्रो नयाँ डिजाइनको फेसन पनि देखिने भएकाले धेरैले यहि डिजाइन सिलाउन रुचाउँछन्।’

प्रकाशित: ८ आश्विन २०७५ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App