८ वैशाख २०८१ शनिबार
अन्य

अझै बनेन स्वयम्भूको कर्मराज गुम्बा

२०७२ सालको भूकम्पले भत्किएका स्वयम्भूका कर्मराज गुम्बा र ज्ञानमाला भजन खलको पुनर्निर्माण अझै सुरु भएको छैन । पुरातात्व विभागको ढिलासुस्तीले भूकम्प गएको साढे तीन वर्ष बित्दा पनि गुम्बा र खलको पुनर्निर्माण हुन नसकेको हो।

गुम्बाका पुजारी प्रवीण बुद्घाचार्य कर्मराज गुम्बासँगै पुजारीहरूको पनि घर बनाउनुपर्ने भएकाले पुननिर्माणमा ढिलाइ भएको बताउँछन् । ‘विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र भएकाले पुरातात्व विभागको अनुमतिबिना आफूखुुसी ढंगले निर्माण गर्न पाइँदैन । त्यसैले ढिला भएको हो,’ उनले भने, ‘कर्मराज गुम्बासँगै पुजारीको लागि थप २० भवन बनाउनुपर्ने भएकाले निर्माण गर्न अप्ठेरो परेको हो।’

पुरातात्व विभागको ढिलासुस्तीले भूकम्प गएको साढे तीन वर्ष बित्दा पनि गुम्बा र खलको पुनर्निर्माण हुन सकेको छैन।

भूकम्पले चर्किएको ज्ञानमाला भजन खल २०७४ पुसमा अचानक आगजनी हुँदा पूर्णरूपमा क्षतिग्रस्त भएको छ । स्वयम्भूमा भूकम्पले धेरै सम्पदा भत्किएकाले पुनर्निर्माणमा ढिलाइ भएको स्थानीय पेम्बा छिरिङ लामाले बताए । ‘भर्खरै  अनन्तपुर र प्रतापपुरको पुनर्निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘अन्य सम्पदाको पुनर्निर्माणले गति लिन सकेको छैन ।’ उनका अनुसार स्वयम्भू स्तुपा भ्रमण गर्न आउने पर्यटक भूकम्पले भत्किएका संरचना देखेर खिन्न भएर गुनासो गर्छन्।

‘बुद्ध जन्मिएको हाम्रो देशमा संसारभरका मान्छेहरू आउँछन् । पाहुनाहरूले गुम्बा किन बनेन भनेर सोध्दा धेरै चित्त दुख्छ,’ उनले भने, ‘यो पवित्र ठाउँलाई सबै मिलेर बनाउन पाए हुन्थ्यो।’       

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति सदस्य केशव श्रेष्ठले पुनर्निर्माणबारे गुरु रिम्पोचेसँग छलफल भए पनि गति नलिएको बताए । ‘कर्मराज गुरुले गुम्बा र पुजारीहरूको घर बनाइदिने आश्वासन दिनुभएको थियो,’ उनले भने, ‘के कारणले बन्न सकेन थाहा पाउन सकेका छैनौं।’

गुम्बा पुनर्निर्माण नहुनुमा महासमितिको दोष नभएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधारले बताए । ‘कर्मराज गुम्बा ठूलो क्षेत्रफलमा बनाउने योजना थियो । ठाउँ बलियो नभएको हुँदा चाँडै भत्किन सक्छ,’ उनले भने, ‘त्यसैले प्राकृतिक दृष्टिले ठूलो भवन बनाउन राम्रो हुँदैन । कर्मराज गुम्बाका साथीहरूले भारतको बोधगयामा रहेका रिम्पोचेलाई भेट्न जानुभएको छ । पुरातात्व विभागको मापदण्डअनुसार गुम्बाको पुनर्निर्माण गर्ने भएको छ।’

ज्ञानमाला भजन खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूले दसैंअघिदेखि ज्ञानमाला भजन खलको पुनर्निर्माण सुरु हुने बताए । ‘हामी आफैंले ज्ञानमाला भजन खल बनाउन खोजेका थियौं । विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले नमिल्ने रहेछ । ढिलै भए पनि पुरातात्व विभागले बनाइदिने भएको छ,’ उनले भने, ‘ज्ञानमाला भजन खलको पुनर्निर्माण दसैंअघिदेखि सुरु हुँदैछ।

गुम्बा बनाउन तीन वर्ष पहिलेदेखि दौडधूप गरे पनि आन्तरिक विवादले पुनर्निर्माणमा ढिलाइ भएको छ,’ उनले भने, ‘पुनर्निर्माणमा ढिलाइ छ । गुम्बा पुनर्निर्माण नहुँदा स्वयम्भू गहना नलगाएकी युवतीजस्तै भएको छ।’

काठमाडौं महानगरपालिका– १५ का कार्यवाहक अध्यक्ष निमाघ्याम्छो तामाङले आर्थिक कारणले पुनर्निर्माणमा ढिलाई भएको स्वीकारे । ‘कर्मराज गुम्बाको पुनर्निर्माण गर्न थोरै रकमले पुग्दैन,’ उनले भने, ‘पुरातात्व विभागको डिजाइन अनुसार कर्मगुरु रिम्बोचेको अगुवाइमा ४० करोडको हाराहारीमा कर्मराज गुम्बा र पुजारीहरूको घरको  पुनर्निर्माण ह¬ने भएको छ भने ज्ञानमाला भजन खल पुनर्निर्माणको सुरुवाती चरणमा छ।’

पुरातात्व विभागका प्रवक्ता रामबहादर क¬ँवरले विश्व सम्पदा सूचीमा परेको सम्पदाहरू पुरातत्व विभागकै मापदण्ड अनुसार पुनर्निर्माण हुनुपर्ने बताए । ‘ज्ञानमाला भजन खलको पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको  छ । पत्रिकामा टेन्डर आह्वान गरिएको छ,’ उनले भने, ‘विश्व सम्पदा सूचीमा सूचीकृत ज्ञानमाला भजन खलको पुनर्निर्माण पुरानै शैलीमा चाडै सुरु हुने भएको छ । कर्मराज ग¬म्बाको ड्रइङ डिजाइन आउने क¬रा भएको छ । पुरातत्व विभागको गाइड लाइनमा आयो भने छलफल गरेर स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइने छ।’

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका कोषाध्यक्ष पुण्य सागर लामाले गुम्बा पुनर्निर्माणका लागि छलफल भइरहेको बताए । ‘गुरु रिम्पोचेले बनाइदिने प्रतिबद्धता गर्नुभएको छ,’ उनले भने।

प्रकाशित: ८ आश्विन २०७५ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App