८ वैशाख २०८१ शनिबार
अन्य

गुह्येश्वरी मन्दिरमा थप दुई सय तोला सुन

तस्बिर क्याप्सन : गुहेश्वरीको मन्दिर। तस्बिर : श्याम राई

गुहेश्वरी मन्दिरको भित्रको पर्व गृह र भैरव आकारको मूर्तिमा सुन राखिने भएको छ । दर्शनार्थीहरूले ढोग्ने क्रममा सुन खिइएकोले थप राख्न लागिएको हो।

पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत सिताराम रिसालले त्यहाँ करिब दुई सय तोला सुन राख्न लागिएको जानकारी दिए । ‘पहिले हालेकै सुनमा थपेर हाल्ने छौँ,’ उनले भने । उनका अनुसार २०५७ सालमा मन्दिरको पर्व गृहमा राखिएको तीन सय ३४ तोला सुनमध्ये ८८.५ तोला घटेको छ । भैरवमा हालिएको ३ सय ७९ तोला सुनमध्ये ८५ तोला घटेको उनले बताए।

धार्मिक पर्यटन विकास प्रवद्र्धनका लागि पनि सुन हाल्न लागिएको उनले बताए ।  सरकारबाट छिट्टै बजेट विनियोजन भएमा यो वर्षभित्रमा सुन राखीसक्ने रिसालको भनाई छ।

गुहेश्वरी क्षेत्रका सम्पदाको धमाधम पुनर्निर्माण
भूकम्पले क्षतिग्रस्त गुहेश्वरी क्षेत्र आसपासका सम्पदाको धमाधम पुनर्निर्माण भइरहेको छ । गुहेश्वरी शत्तल, किराँतेश्वर मन्दिर, गोरकनाथ सत्तल, र विश्वरूपा मन्दिरको निर्माण भइरहेको छ । भूकम्पले यी सम्पदा जीर्ण बनेका थिए । पुनर्निर्माणका लागि किराँतेश्वर मन्दिर भत्काइँदै छ । मन्दिरको २० प्रतिशत काम सकिएको पशुपति क्षेत्र विकास कोषका इन्जिनियर केदार थपलिएले बताए । ‘हामीले ढिलासुस्ती गर्दैनौ, सरासर काम हुन्छ,’ उनले भने।

प्रेरा तुल्सी जेबी कम्पनीले तीन करोड ९४ लाखमा मन्दिर निर्माणको ठेक्का लिएको थियो । सम्झौता अनुसार २०७६ पुस २५ गते मन्दिरको पुनर्निर्माण सक्नुपर्नेछ।

सम्झौता सकिएका सम्पदाको पनि समयमै काम सकिने उनले प्रतिवद्धता गरे।

गोरकनाथ सत्तलको भने ९० प्रतिशत काम सम्पन्न भइसकेको पशुपति विकास क्षेत्र कोषका आयोजना शाखाले जनाएको छ । सत्तलको छानो हाल्न र प्लास्टर गर्न बाँकी छ । दसैंपछाडि पुनर्निर्माण सम्पन्न हुने शाखाले जनाएको छ । गोरकनाथ सत्तल चार करोड ४५ लाखमा सुनकोसी विनायक रामजेवी कम्पनीले ठेक्का लिएको थियो । सत्तल पुनर्निर्माण आगामी कात्तिकमा सक्नुपर्ने सम्झौतामा उल्लेख छ।

आयोजना शाखाका अनुसार प्लेस मान्तक बनको टाकुरामा रहेको विश्वरूपा मन्दिरको भने ड्रोइङ डिजाइन बन्ने क्रममा  छ।

गुहेश्वरी शत्तल निर्माणका लागि पुरानो सत्तल भत्काउदै गरेको पशुपति क्षेत्र विकास कोषका सचिव डा. प्रदीप ढकालले जानकारी दिए । उनका अनुसार सबै सम्पदाहरू पुरानै शैली अनुसार बनाइनेछ।

प्रकाशित: ८ आश्विन २०७५ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App