८ वैशाख २०८१ शनिबार
कला

‘अभिनेत्रीको पहिचान बनाउन गाह्रो’

काठमाडौं – नेपाली फिल्ममा ‘मिस नेपाल’को आगमन भइरहे पनि त्यसलाई निरन्तरता दिने सुन्दरी कमै छन्। नेपालकी प्रथम मिस नेपाल रुवी राणा फाट्टफुट्ट फिल्ममा देखिए पनि सन् २०१२ की ‘मिस नेपाल’ सृष्टि श्रेष्ठको व्यस्तता अन्य पूर्व मिस नेपालको तुलनामा बढी छ। फिल्म ‘गाजलु’मा नायक अनमोल केसीको अपोजिटका रुपमा ‘डेब्यु’ गरेकी उनको पछिल्लो रिलिज फिल्म ‘रोमियो एण्ड मुना’ हो । उनको नयाँ फिल्म ‘बाँध मायाले’ शुक्रबारबाट रिलिज भएको छ।

फिल्म ‘गाजलु’मा अनमोल र ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरे पनि सृष्टिलाई अझै पनि युवा दर्शकले पूर्व मिस नेपालकै रुपमा चिनेकोमा पछुतो छ। ‘मैले कम फिल्ममा अभिनय गरे पनि युवा दर्शकले मलाई नायिकाको रुपमा चिन्न सकेका छैनन्। उहाँहरु अहिले पनि मलाई ‘पूर्व मिस नेपाल’कै रुपमा चिन्नुहुन्छ ,’हालैको भेटमा सृष्टिले भनिन्,‘मिस नेपालभन्दा पनि अभिनेत्रीको पहिचान बनाउन गाह्राे पर्दो रहेछ । फिल्ममा कमै देखिने भएकाले पनि दर्शकले मलाई अभिनेत्रीको रुपमा अझै चिन्नु भएको छैन।’

युवा दर्शकले मलाई नायिकाको रुपमा चिन्न सकेका छैनन्। ‘पूर्व मिस नेपाल’कै रुपमा चिन्दछन् । मिस नेपालभन्दा पनि अभिनेत्रीको पहिचान बनाउन गाह्राे पर्दो रहेछ।

सृष्टिलाई फिल्मको अफर धेरै आए पनि सबैमा काम गर्न उनी रुचाउँदिनन्। ‘कुनै पनि काममा त्यतिकै हात हाल्न मन लाग्दैन । त्यही भएर फिल्मका लागि लामो समय लिन्छु ,’सृष्टिले भनिन्, ‘म हरेक चरित्रलाई गम्भीर रुपमा लिन्छु । त्यो चरित्रलाई न्याय दिन सकिन्छ या सकिन्न भनेर घोत्लिन्छु । त्यही कारण पनि म कममात्र फिल्ममा देखिएकी हुँ।’

अघिल्लो फिल्म ‘रोमियो एण्ड मुना’मा स्वाभिमानी चरित्रकी मुना बनेकी सृष्टि ‘बाँध मायाले’मा अनाथाश्रममा बस्ने श्रद्धाको चरित्रमा छिन् । सृष्टि यो फिल्मका  निर्देशक सबिर श्रेष्ठको कामबाट प्रभावित छिन् । ‘फिल्म ‘रोमियो एन्ड मुना’मा निर्देशक नरेशकुमार केसीसँग काम गर्दा धेरै ब्रेन स्ट्रोमिङ गर्नुपरेको थियो । तर यो फिल्ममा सबिर दाइसँग काम गर्दा स्वतन्त्रताको उपभोग गर्न पाएँ,’ सृष्टिले भनिन्।

फिल्ममा सृष्टिको अपोजिटमा नायक आर्यन अधिकारी छन् । काका निर्देशक आकाश अधिकारी निर्देशित फिल्म ‘के म तिम्रो होइन र’बाट अभिनयमा ‘डेब्यु’ गरेका आर्यन फिल्ममा गाउँले र सम्पत्तिविहिन अशिक्षित युवाको भूमिकामा छन् । ‘डेब्यु’ फिल्ममा एक्सन प्रेमीको अवतारमा देखिएका उनी त्यसपछिको फिल्म ‘बटरफ्लाई’मा एकहोरो प्रेमी चरित्रमा देखिए । ‘फिल्म ‘बाँध मायाले’ मेरा लागि पहिलो इमोसनल प्रेमकथाको फिल्म हो । अघिल्ला दुई फिल्मभन्दा फरक चरित्रमा यसमा छ,’आर्यनले भने ,‘यो फिल्मको चरित्र निर्वाह गर्दा मैले आफ्नो वास्तविक सुरुवाती संघर्षका दिन सम्झिएँ । सानो पैसामा पनि धेरै खुशी हुने भूमिका पनि दर्शकले हेर्न पाउनुहुनेछ।’

यो फिल्मबाट कोरियोग्राफर किशोर खड्का नवनायकका रुपमा ‘डेब्यु’ गर्दैछन् । ‘फिल्ममा म प्रहरीको भूमिकामा छु । फिल्ममा चरित्र निर्वाह गर्नकै लागि मैले बलिउड र दक्षिण भारतीय फिल्म हेरें,’किशोरले भने,‘यो फिल्मबाट अभिनयको धेरै कुरा सिक्न पाएँ ।’ रामहरि धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेको फिल्ममा राजाराम पौडेल, रविन्द्रप्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय छ।

प्रकाशित: ८ आश्विन २०७५ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App