coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सेवा केन्द्रका अधिकृत काजमा गएपछि नागरिकता बनाउन चार दिन

गोरखा- सिर्दिबासमा रहेको ईलाका प्रशासन कार्यालयमा एक जना अधिकृत स्तरको कर्मचारी नहुँदा स्थानीयले सात महिनादेखि त्यहाँबाट पाउने नागरिकता जिल्ला प्रशासन कार्यालय आएर लिईरहेका छन्। चुमनुब्री गाउँपालिकाको सिर्दिबाटबाट नागरिकता लिन सदरमुकाम आउँदा चार दिन समय र कम्तीमा पाँच हजार खर्च हुने गरेको स्थानीय बताउँछन्। 

‘यहाँ रहनुभएका अधिकृत गौतम भण्डारीको जिल्ला प्रशासन कार्यालय गोरखामा काज सरुवा भएपछि नागरिकता दिन सकेका छैनौँ’ इलाका प्रशासन कार्यालय सिर्दिबासका नायब सुब्बा रामप्रसाद शर्माले भने ‘अधिकृत स्तरको कर्मचारी बिना हामीले सिफारिस गर्न मिल्दैन।’ त्यहाँका अधिकृत भण्डारी अहिले जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखामा काजमा खटिएका छन्। गृहमन्त्रालयले उनको काज सरुवा गरेपछि तिब्बतसँग सीमाना जोडिएको गाउँका स्थानीयले सिर्दिबासबाट पाउने सेवा लिन सदरमुकाम धाइरहेका छन्। 

२०७४ फागुनदेखि नागरिकता बितरण हुन सकेको छैन। कार्यालयबाट नागरिकताको सिफारिस र दर्ता चालनी बाहेकका अन्य काम केही नभएको उनले बताए। राहदानीको सिफारिस र तिब्बत जान आउन प्रयोग हुने प्रस्थान प्रवेश अनुमती पत्र लिन पनि सर्वसाधारण सदरमुकाम नै आउनुपर्छ। अधिकृत रहँदा सम्म यी सबै काम सिर्दिबासबाट हुने गर्थ्यो। गृहमन्त्रालयले अधिकृतको काज सरुवा गरेर प्रशासन कार्यालयमा पठाएकाले आफुले पुन ईलाका प्रशासन पठाउन नसक्ने प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए। उनले भने ‘ईलाका प्रशासन कार्यालय हामी मतहत होईन, गृहले कर्मचारी सरुवा गरेकाले त्यहाँबाट नागरिकता, राहदानीको काम अहिले हुन सकेको छैन।’ कर्मचारी नभएकै कारण सेवा प्रभावा हुन नसकेको उनी स्विकार्छन्। तर कर्मचारी खटाउन पहल भने प्रशासनले पनि गरेको छैन।

सिर्दिबासबाट दैनिक एक जनाले नागरिकता लिन्थे भने पासपोर्ट बनाउनेको संख्या मासिक ५ देखि १० जना हुने नासु शर्मा बताउँछन। ६ जनाको दरबन्दी तोकिएको त्यहाँ एक जना सुब्बा र दुई कार्यालय सहयोगी मात्रै छन्। तिब्बतसँग सीमाना जोडिएकाले छेकम्पार, सामागाउँ, बिही लगाएत ठाउँको नजिकको बजार तिब्बत हो । तिब्बत आउन जान स्थानीयले प्रस्तान प्रवेश अनुमती पत्र लिनुपर्छ। सिर्दिबासमा पाउनुपर्ने उक्त पत्र लिन अहिले सदरमुकाम आउनुपर्छ। अनुमती पत्र हरेक वर्ष नबिकरण गर्नुपर्ने झन्झटले सर्वसाधारणले सास्ती भोगेका छन्। स्थानीय तहको निर्वाचनपछि चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबास छ । ‘ईलाका प्रशासन कार्यालयबाटै नागरिकता दिईएको भए वडा कार्यालयको सिफारिस लिएर नागरिकता, राहदानी बनाउन स्थानीयलाई सजिलो हुथ्यो’ गाउँपालिका प्रमुख धनबहादुर गुरुङले भने। यस अघि नागरिकता दिँदै आएको कार्यालयले अहिले पुरानो बिवरण खोज्ने, हेर्ने, सिफारिस गर्ने बाहेक काम गर्दैन।

उत्तरी गोरखाका सर्वसाधारणलाई नागरिकता लिन धेरै दिन पैदल हिड्नुपर्ने बाध्यतापछि सिर्दिबासमा २०६८ सालदेखि एकीकृत सेवा केन्द्र संञ्चालनमा ल्याइएको थियो । त्यस अघि छेकम्पार, सामागाउँका स्थानीयलाई सदरमुकाम आएर नागरिकता बनाउन ८ देखि १० दिन समय खर्चनुपथ्र्यो। सर्वसाधारणलाई सास्ती नहोस् भनेर संचालन गरिएको सेवा केन्द्र एक जना अधिकृत नहुँदा २०६८ अघि जस्तै सेवा बिहिन बनेको छ । गत फागुनसम्म त्यहाँबाट नागरिकता, राहदानी, प्रवेश अनुमती पत्र, लगायत कृषि, स्वास्थ्यको सेवा पनि सर्वसाधारण पाएका थिए । साउन २९ गते गृहमन्त्रालयले पत्राचार गर्दै एकीकृत सेवा केन्द्रलाई ईलाका प्रशासन कार्यालय बनाएको हो। त्यसयता भने चुमनुब्री गाउँपालिका भित्रका साविकका सातवटा गाविसका स्थानीयले नागरिकता, राहदानी सिफारिस, तिब्बत आउने, जाने अनुमती पत्र सिर्दिबाट पाएका छैनन। 

दुर्गम भेग भएका कारण कर्मचारी त्यहाँ बस्न नमान्दा उत्तरी गोरखाका सरकारी कार्यालयका कर्मचारी अभाव हुने गरेको छ। ईलाका प्रशासन कार्यालय, वडा कार्यालय, गाउँपालिका देखि मालपोत, नापी लगायतका कार्यालयका अधिकासं कर्मचारी कहिेकाँही मात्रै त्यहाँ भेटिन्छन भने केही तत्काल काज मिलाएर सजिलो ठाउँमा सरुवा हुन्छन्।

प्रकाशित: ८ आश्विन २०७५ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App