८ वैशाख २०८१ शनिबार
खेल

दीपेश र रसिला च्याम्पियन

काठमाडौं – विभागीय टोली एपिएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल र महिला एकलमा क्रमशः च्याम्पियन बनेका छन्।

बसुन्धरास्थित जेस्ट ब्याडमिन्टन एकेडेमीको कोर्टमा आइतबार भएको पुरुष एकलतर्फको फाइनलमा दोस्रो वरीयताका एपिएफका दीपेशले शीर्ष वरीयताका तथा दुई पटकका विजेता रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गर्दै विजयी भएका हुन् । पहिलो सेटमा २१–१३ को सहज जित निकालेका दीपेशले दोस्रो सेट १८–२१ ले गुमाएका थिए । तर, निर्णायक सेटमा उत्कृष्ट पुनरागमन गर्दै दीपेशले २१–१८ को जित निकाल्न भए । दीपेशसँग पराजित भएसँगै तामाङ उपाधिमा ह्याट्रिक गर्नबाट चुकेका छन् । उपाधिसँगै दीपेशले ३० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो स्थानमा चित्त बुझाएका तामाङले १५ हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनलमा पराजित भएका सिल्क टे«डका प्रिन्स दाहाल र आर्मीका नवीन श्रेष्ठले समान ५÷५ हजार रुपैयाँ पाए।

यस्तै आइतबारै सम्पन्न महिला एकलतर्फको खेलमा आर्मीकी रसिला महर्जन एपिएफकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनिन् । महिला एकलमा यसअघिकी दुई पटककी च्याम्पियन नङ्सलदेवी तामाङले प्रतियोगितामा सहभागिता जनाएकी थिइनन् । रसिलाले जेसिकामाथि पहिलो सेट २१–१९ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २१–१७ ले आफ्नो पक्षमा पार्न सफल भएकी थिइन्।

यस्तै, पुरुष युगलमा एपिएफका दीपेश धामी र विजित थापामगरको जोडीले आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जिते । विजेता बनेका दीपेश र विजितको जोडीले २५ हजार रुपैयाँ हात पारे भने दोस्रो भएको रत्नजित र नवीनको जोडीले १२ हजार प्राप्त गर्दा सेमिफाइनलमा पराजित जोडीले ८ हजार रुपैयाँ प्राप्त गरे।

मिक्स युगलमा एपिएफका दीपेश धामी र पूजा श्रेष्ठको जोडी र आफ्नै क्लबकी विजित थापामगर र शोभा गौचनको जोडीलाई पराजित गर्दै च्याम्पियन बने । मिक्स युगलका विजेताले २० हजार रुपैयाँ प्राप्त गरे।

प्रकाशित: ८ आश्विन २०७५ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App