८ वैशाख २०८१ शनिबार
खेल

बराबरीमा रोकियो चेल्सी

लन्डन (एएफपी) – प्रशिक्षक माउरिसियो सारीको आगमनसँगै इङ्लिस प्रिमियर लिगको लगातार ५ खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको चेल्सीले आइतबार भने सो यात्रालाई निरन्तरता दिन सकेन।

प्रिमियर  लिगअन्तर्गत आइतबार भएको खेलमा चेल्सी वेस्टह्यामसँग गोलरहित बराबरीमा रोकिएको हो।
यस नतिजापछि ६ खेलमा १६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ। समान १६ अंक जोडेको म्यानचेस्टर सिटी राम्रो गोलअन्तरमा दोस्रो स्थानमा छ । समान खेलमा १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ भने १३ अंक जोडेको वाट्फोर्ड चौथो, ११ अंकका साथ टोटेनह्याम पाँचाैं स्थानमा छन्।

यसअघि लिभरपुल र म्यानचस्टर सिटीले सहज जित दर्ता गर्दा पूर्वप्रशिक्षक एलेक्स फर्गुसन ओल्ड ट्राफोर्ड फर्किएको दिन शनिबार म्यानचेस्टर युनाइटेड भने उल्भरह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको छ।

योर्गान क्लोपको टोलीले घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको हो । साउथह्याम्पटनका वेस्ले होइटले गरेको आत्मघाती गोलमा अग्रता लिएको लिभरपुलका लागि  मोहम्मद सालाह र जोएल माटिपले थप एक/एक गोल गरेपछि जारी सिजन इङ्लिस प्रिमियर लिगमा लगातार छैटौें जित दर्ता गरेको हो । सबै खाले प्रतियोगितामा भने लिभरपुलको यो साताैं जित हो। क्लोपको टोलीले गत साता च्याम्पियन्स लिगको पहिलो खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) लाई ३–२ ले पराजित गरेको थियो।

लिभरपुललाई पछ्याइरहेको सिटीले कार्डिफमाथि ५–० को नतिजा निकालेको हो। यस जितसँगै सिटीले गत साता च्याम्पियन्स लिगमा लियोनसँग भोगेको हारमा मलमसमेत लगाएको छ।

यता मेमा मस्तिष्कघातको शल्यक्रियापछि पहिलो पटक ओल्ड ट्राफोर्ड फर्किएका फर्गुसनले दर्शकदीर्घामा बसेर नियालेको खेलमा युनाइटेड उल्भरह्याम्पटनसँग अंक बाँड्न बाध्य भएको हो।

क्लोपले गत साता पिएसजीविरुद्ध खेलाएको टोलीमा तीन खेलाडी परिवर्तन गर्दै साउथह्याम्पटनविरुद्ध टोली मैदान उतार्दा जार्दान साकिरी र जोएल माटिपले जारी सिजन पहिलो पटक पहिलो रोजाइमा स्थान बनाउन सफल भएका थिए।

खेलको १०औं मिनेटमा साउथह्याम्पटनका होइटले गरेको आत्मघाती गोलमा लिभरपुलले अग्रता लिएको थियो । होइटले साकिरीको प्रहार रोक्ने क्रममा बलले पोस्टको दिशा लिएको थियो । २१औं मिनेटमा माटिपले ट्रेन्ट–एलेक्जेन्डर–अर्नोल्डको कर्नरमा हेड गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा सालाहले गोल  गर्दै लिभरपुलको अग्रता ३–० मा पु-याएका थिए । साकिरीको फ्रि–किक बारमा लागेर फर्कंदा प्राप्त बललाई सालाहले जाली चुमाएका थिए । यस गोलसँगै सालाहले पछिल्लो ४ खेलदेखि जारी गोल खडेरीसमेत तोडेका छन्।

‘लगातार छैटौं जित हात पार्दा टोलीको मनोबलका साथै यसलाई जोगाइराख्ने चुनौतीसमेत थप बढेको छ। टोली अहिले उत्कृष्ट लयमा छ,’ क्लोपले भने।

स्ट्राइकर सर्जियो अग्विरोले गोल गर्दै सिटीसँगको सम्झौता नवीकरण यात्राको सुखद सुरुआत गरेको दिन पेप ग्वार्डिओलाको टोलीले कार्डिफ सिटीलाई ५–० ले पराजित गरेको हो। अग्विरोले शुक्रबार क्लबसँगको सम्झौता २०२१ सम्मका लागि लम्ब्याएका थिए।

३२औं मिनेटमा अग्विरोको गोलमा सिटीले अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि नै बर्नाडो सिल्भाले गोल गर्र्दै सिटीको अग्रता दोब्बर पारेका थिए। मध्यान्तर हुन एक मिनेट बाँकी एल्के गुडोगानले गोल गर्दै सिटीको अग्रता ३–० मा पु-याएका थिए।

दोस्रो हाफमा मिडफिल्डर रियाद महारेजले क्लबका लागि पहिलो गोल पूरा गरेपछि सिटीले सहज जित पक्का गरेको हो । महारेजले ६७औं र ८९औं मिनेटमा गोल गरेका थिए । उनी यसै सिजन लेस्टर सिटीबाट म्यानचेस्टर सिटीमा भित्रिएका थिए।

जोजे माउरिन्होको टोलीले भने उल्भरह्याटनसँग १–१ को बराबरीमा चित्त बुझाएको हो।

१८औं मिनेटमा प्रेडको गोलमा अग्रता लिए पनि ५३आैं मिनेटमा हुवाँ माउटिन्होले गोल गर्दै उल्भरह्याटनलाई खेलमा फर्काएसँगै युनाइटेडको स्पष्ट तीन अंक जोड्ने लक्ष्यले पूर्णता पाउन सकेन ।
त्यस्तै ह्यारी केन र इरिक लामेलाको गोलमा टोटेनह्यामले ब्राइटनलाई २–१ ले पराजित ग-यो।

प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा बर्नलीले बर्नामाउथलाई ३–० ले पराजित गर्दा लेस्टर सिटीले हडर्सफिल्डलाई ३–१ ले हरायो । क्रिस्टल प्यालेस र न्युक्यासल युनाइटेडले गोलरहित बराबरी खेले।

प्रकाशित: ८ आश्विन २०७५ ०४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App