coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मतदान समय थपेर राष्ट्रपतीय निर्वाचन

राष्ट्रपतीय निर्वाचनमा आइतबार राजधानी मालेस्थित एउटा मतदान केन्द्रमा मतदान गर्दै माल्दिभ्सका नागरिक। तस्बिर : एजेन्सी

माले – दक्षिण एसियाली मुलुक माल्दिभ्समा आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा मतदानका लागि लामो लाइन भएपछि तीन घण्टा समय थप गरिएको छ।

निष्पक्ष निर्वाचन नहुने आलोचनाकैबीच माल्दिभ्समा आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति अब्दुल्लाह यामिनको जित हुने अनुमान गरिएको छ।

राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न आएका मानिसको ठूलो लाइन भएपछि निर्धारित समयभन्दा तीन घण्टा बढी अर्थात् स्थानीय समयअनुसार साँझ सात बजेसम्म मतदान समय थप गरिएको माल्दिभ्सको निर्वाचन आयोगका अधिकारीले जानकारी गराएका छन्।

मुसलमान बाहुल्यता रहेको माल्दिभ्स दुई परम्परागत शत्रु राष्ट्र भारत र चीनको नाट्यशाला भएको छ। वर्तमान राष्ट्रपतिको महŒवकांक्षी भौतिक पूर्वाधार विकासमा चीनले सहयोग गरिरहेको छ, जसका कारण त्यहाँ बेइजिङको प्रभाव बढ्दो रहेको छ । यामिन सरकारले अधिकांश प्रतिपक्षी वा उनको शासनको विरोधीलाई जेल हालेका छन्, जसमा उनका सौताने भाइ एवं पूर्वराष्ट्रपति मौमुन अब्दुल गेयुमसमेत रहेका छन् । गेयुमलाई आतंकवादलाई प्रशय दिएकोदेखि भ्रष्टाचारमा डुबेकोसम्मका आरोप लगाइएका छन्।

देशैभर तोकिएका चार सय वटा मतदान केन्द्रमा करिब २५ लाख मानिस मतदान गर्न योग्य रहेका थिए । ५९ वर्षीय यामिन दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतीय निर्वाचनको दौडमा रहेका छन्।

आइतबार बिहानैदेखि राजधानी मालेस्थित मतदान केन्द्रबाहिर सयौं मानिस लामबद्ध भएका थिए। देशका केही टापुमा त मतदाताहरु शनिबार साँझैबाट लाइन लाग्न सुरु गरेका थिए । ‘मैले २०१३ मा गरेको गल्ती सुधार्नका लागि म मतदान गर्दैछु । म राष्ट्रपति मौमुनलाई रिहा गर्न मतदान गर्दैछु,’ राजधानी मालेमा समाचार एजेन्सी रोयटर्ससँग ४४ वर्षीया नाजिमा हसनले बताइन्।

राजधानी मालेमै मतदान गरेका ४६ वर्षीय अब्दुल रासिद हुसेनले भने देशलाई अर्को तहमा पु-याउनका लागि आफूले यामिनलाई नै मतदान गरेको रोयटर्ससँग बताएका छन्।

कोलम्बोस्थित माल्दिभ्स दूतावासमा रहेको मतदान केन्द्रमा केही मतदाताले सात घण्टाभन्दा बढी समय कुर्नु परेको र सयौं मतदाता अबेर रातिसम्म लाइनमा बसेको बताइएको छ।

‘यसअघिको निर्वाचनमा मतदान अत्यन्तै छिटो र सजिलैसँग भएको थियो तर यसपटक गञ्जागोल भएको छ,’ इब्राहिम राफिक नामक एक २० वर्षीय विद्यार्थीले समाचार एजेन्सी रोयटर्ससँग बताए।

‘यदि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा भयो भने विपक्षीले जित्छ,’ बिजनेश म्यानेजमेन्टका २४ वर्षीय विद्यार्थी अहमद इहुसानले रोयटर्ससँग बताए । मतदान प्रक्रिया ढिला भएकोमा निर्वाचन आयोग दोषी रहेको कैयौैं विपक्षी समर्थकले आरोप लगाएका छन् । लामो समयसम्म जनतालाई  लाइनमा कुराएर यामिन सरकारले दुःख दिएको विपक्षी समर्थकहरुले आरोप लगाएका छन् । कोलम्बोका लागि माल्दिभ्सका दूत मोहम्मद सारिफ हुसेनले निर्वाचन आयोगले पर्याप्त कर्मचारी नियुक्त नगर्दा मतदान प्रक्रिया ढिला भएको बताएका छन्।

निर्वाचनको पूर्वसन्ध्यामा शनिबार प्रहरीले देशको प्रमुख विपक्षीका निर्वाचन अभियान कार्यालयमा छापा मारेको थियो । गैरकानुनी गतिविधि रोक्न आएको भन्दै प्रहरीले कम्तीमा पाँच जना विपक्षी कार्यकर्तालाई मतदातालाई प्रभावित पारेको आरोपमा पक्राउ गरेको विपक्षी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

माल्दिभ्समा आइतबार भएको राष्ट्रपतीय निर्वाचनको मतदानमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले सहभागिता जनाएका छैनन् । युरोपेली संघ र संयुक्त राष्ट्रसंघ लगायतका पर्यवेक्षकले पनि माल्दिभ्स सरकारले निर्वाचन पर्यवेक्षणका लागि गरेको आग्रह अस्वीकार गरेका छन् । उनीहरुले निर्वाचनमा सम्भावित धाँधली हुनसक्ने तर्फ इंगित गर्दै आफूहरुको उपस्थिति यामिनलाई पुनः सत्तारोहण गर्ने बाटो नबनोस् भनेर पर्यवेक्षणमा सहभागी नभएको बताएका छन्।

आइतबारको निर्वाचनमा सहभागिता जनाएका अत्यन्तै कम पर्यवेक्षकमध्येको एक ट्रान्सपेरेन्सी माल्दिभ्सले मतदान अत्यन्तै सहज तरिकाले भएको बताएको छ। निर्वाचनमा वर्तमान राष्ट्रपति यामिनविरुद्ध प्रतिस्पर्धा गरिरहेका विपक्षीहरुका संयुक्त उम्मेदवार इबु भनेर चिनिने इब्राहिम मोहम्मद सोलिहले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । वर्तमान राष्ट्रपति यामिनले पनि आफूले पहिलो कार्यकालमा गरेको कामका कारण जनताले आफूलाई जिताउने पक्कापक्की रहेको बताएका छन्।

प्रकाशित: ८ आश्विन २०७५ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App