८ वैशाख २०८१ शनिबार
प्रवास

राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न प्रधानमन्त्री ओली न्यूयोर्कमा

अमेरिका – राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली आज अमेरिका पुगेका छन्। प्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीलाई अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीसहितको टोलीले जोनअफ केनडी एयरपोर्टमा स्वागत गरेकाे छ।

१३ दिने भ्रमणका लागि अमेरिका पुगेका प्रधानमन्त्रि ओलीले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सेप्टेम्बर २७ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा विश्वभरबाट आउने उच्चस्तरका नेताहरुसँग भेटघाट र दोहोरो छलफल हुने र विभिन्न सत्रहरुमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको राजदूत कार्कीले बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विश्वभरका नेताहरुलाई दिइने रात्रिभोजका क्रममा प्रधानमन्त्रि ओलीसँग संक्षिप्त भेट हुने कार्यक्रम रहेको बताइएको छ। कार्कीका अनुसार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि त्यहाँबाट प्रधानमन्त्री ओली मध्य अमेरिकी मुलुक कोष्टारिक जाने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीले राष्ट्रसंघमा सम्बोधन गर्नु अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलगायत विश्वका केहि नेताहरुसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। ओलीले दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको सम्मानमा जन्म शताब्दी मनाउने राष्ट्रसंघको सम्मेलन नेल्सन मण्डेला शान्ति शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनपछि ओली नेपाली समुदायसँगको भेटघाटसहित साइडलाइन भेटमा सक्रिय हुनेछन्।

सोहि साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका नेताहरुका लागि रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको छ। बिहीबार सम्बोधन पछि ओली शुक्रबार कोस्टारिका जाने कार्यक्रम छ।

ओलीको सम्बोधनकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क विदेशमन्त्रीसँग अनौपचारिक बैठक गर्नेछन्।

प्रधानमन्त्री ओलीले यस भ्रमणका क्रममा स्वीजरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेट, कोस्टारिकाका राष्ट्रपति कार्लोस आलभाद्रो र कम्बोडियाका प्रधानमन्त्री समेच उर्फमोह सेना पाडी तेच हान सेनसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव, परराष्ट्रका सहसचिव, चिकित्सक, सरकारी सञ्चारकर्मी र सहयोगीसहित २१ सदस्यीय टोली रहेका छन्।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक न्यूयोर्कमा सुरु भएको छ।

प्रकाशित: ८ आश्विन २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App