coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुलले जोडियो तातापानी, जोखिम हट्यो

सुर्खेत– साविकको तातापानी गाविस जोड्ने भेरी नदीको झोलुङ्गे पुल २०७१ सालको बाढीले बगायो। पुलसँगै तिखाकुना र तातापानीका दुई सयभन्दा बढी स्थानीय विस्थापित भए। बाढीले ५० बढीको ज्यान लियो। नदी वारपार गर्ने एकमात्र पुल बगेपछि उर्लदो भेलमा जोखिम मोलेर डुङ्गाबाट यात्रा गर्नुपर्ने बाध्यता यहाँका स्थानीयहरुसँग थियो। 

त्यहीँ बगेको झोलुङ्गे पुल नजिकै पक्की पुल आइतबारबाट सञ्चालनमा आएपछि स्थानीयहरु खुशी भएका छन्। पञ्चपुरी–१० कि धर्मादेवी ढकाल घरबाटै गाडी चढेर नगरपालिकाको केन्द्र बावियाचौर पुगिन्। ‘पहिले भेरी नदी वारपार गर्दा डुङ्गाको सहारा लिनु पर्दथ्यो, जोखिम धेरै हुन्थ्यो’ ढकालले भनिन्, ‘पुल बनेपछि पहिलो पटक गाडी चढेर आउन पाइयो।’ 

स्थानीयहरु डुङ्गाको जोखिमपूर्ण यात्रा समाप्त भएकोमा खुसी छन्। चार वर्षको अवधिमा भेरी नदी वारपार गर्नेक्रममा तीन जनाले ज्यान गुमाए। बर्खामा हप्तौसम्म साविकको तातापानी गाविस सम्पर्क बिहिन हुन्थ्यो। ‘पुल सञ्चालनमा आएपछि अब धेरै सहज भएको छ’, स्थानीय नन्द दमाईले भने, ‘जतिबेला पनि भेरी वारपार गर्न सहज भएको छ।’ भेरी पारीका बस्तीमा कोही विरामी हुँदा स्वास्थ्य संस्थामा ल्याउन समस्या हुन्थ्यो। 

आइतबार पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले पुलको सुभारम्भ गरे। उनले झोलुङ्गे पुल बगापछि नदी वारपार गर्न सास्ती खेप्दै आएका जनताका लागि पक्की पुल महत्वपूर्ण भएको बताए। 

‘पुल नहुँदा आवतजावत मात्रै होइन्, धेरै कुराको समस्या थियो’ उनले भने, ‘अव भेरी पारीका बासिन्दाहरुलाई नगरपालिकाको केन्द्र मात्रै होइन्, प्रदेश राजधानीमा पुग्न पनि सहज भएको छ।’ विष्ट सांसद हुँदा २०७२ साल माघदेखि पुल निर्माणको काम सुरु भएको थियो। 

पञ्चपुरी नगरपालिका मेयर उपेन्द्रबहादुर थापाले भेरीमा यसअघि निर्माण भएका भन्दा लामो पुल भएकाले पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने बताए। उनले सुर्खेतलाई कैलालीसँग जोड्नका लागि पनि यो पुलले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘कुइने–कचालीघाट, घाटगाउँ–तातापानी र चिप्लेमा पनि पक्की पुलहरु बन्दैछन्’ मेयर थापाले भने, ‘यी पुलको निर्माण सम्पन्न भएपछि पश्चिम सुर्खेत कैलालीसँग पनि जोडिन्छ।’

अनक–लुम्बिनी–हिम्दुङ जेभी कन्स्ट्रक्सनले पुल निर्माण गरेको हो। एक अर्ब बढीको लागतमा तयार भएको पुल ३५० मिटर लामो छ। पुलसँगै चार सय २५ मिटर लामो तटबन्ध निर्माण गरिएको छ। 

प्रकाशित: ७ आश्विन २०७५ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App