coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्रिकेटर लामिछाने सम्मानित

मकवानपुर - नेपाली क्रिकेट टाेलीका सदस्य सन्दीप लामिछानेलाई मकवानपुरका आधा दर्जन संघसंस्थाले सम्मान गरेका छन्। हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, मकवानपुर बहुमुखी क्याम्पस, मदन भण्डारी स्पोर्टस् एकेडेमी लगायतले उनलाई आईतबार हेटौंडामा सम्मान गरेका हुन्।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले उनलाई सम्मान स्वरुप एक लाखको चेक प्रदान गरे। मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पनि लामिछानेलाई सम्मान गरेको छ। क्याम्पसका कार्यबाहक अध्यक्ष अनन्त पौडेलले उनलाई खादा ओडाएर सम्मान पत्र प्रदान गरे। त्यस्तै, मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुर र मकवानपुर क्रिकेट एशोसिएसनले पनि सम्मान स्वरुप क्रिकेटर सन्दीप लामिछानेलाई सम्मान गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले क्रिकेटर लामिछानेको तारिफ गर्दै देश र जनताका लागि युवा शक्ति लाग्नुपर्नेमा जोड दिए। यस्तै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता श्रीधर पोखरेल, मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य नवीन सिग्देल, मकवानपुर अध्यक्ष नीरज सिंह ठकुरी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, व्यवसायी अरुणराज सुमार्गी, राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटी लगायतले क्रिकेट सहित खेल क्षेत्रको विकासमा राज्यले बिशेष ध्यान दिनुपर्नेमा जोड दिए।

सम्मानित लामिछानेले राज्यले क्रिकेट क्षेत्रमा लगानी गर्नुपर्नेमा जाेड दिए। ‘क्रिकेट भनेको नेपालीहरुको लागि खेल मात्र होईन, जीवन नै भईसकेको छ,’ उनले भने, ‘एउटा खेलाडीको जीवन कसरी सुरक्षित बनाउने भनेर संघ र प्रदेश सरकारहले गम्भीर भएर सोच्नुपर्दछ।’ प्रदेशहरुले खेल क्षेत्रको विकास गरे पुरै नेपालकै खेल जगतमा आमूल परिवर्तन हुन सक्ने भन्दै उनले त्यसो भए नयाँ पुस्ताका खेलाडीहरुको भविष्य उज्वल हुने बताए।
 

प्रकाशित: ७ आश्विन २०७५ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App