coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

६/६ महिनामा बायोडाटा अपडेट

समाजमा अझै पनि त्यस्तो समूह भेटिन्छ–जसले सरकारी कार्यालय वा स्थायित्व हुने संस्थामा जागिर पायो भने ‘भाग्यमानी’ ठान्छ । कतिपयले स्थायित्व हुने संस्थामा जागिर पाउँदा जीवन नै बदलिएको ठान्छन् पनि । 

खैर ! त्यस्ता स्थायित्व हुने मानिएका जागिरबाट व्यक्तिको समग्र प्रगति कति भएको छ भन्नेबारे एकिन सायदै होस् । मापनको कुनै तथ्यसमेत नभेटिएको किन नहोस् । त्यस्ता जागिरलाई निकै महत्व दिनेहरू सक्रिय रहेको बेला यही समाजमा कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसलाई कुनै पनि संस्थामा काम थालेको दुई/तीन वर्ष पुग्यो कि अप्ठेरो लाग्न थाल्छ । कतिखेर जागिर छाडौं भन्ने हुट्हुटी नै चल्छ । एकै ठाउँमा काम गर्दा कतै आफू प्रतिस्पर्धी बन्न सकिएन या बजारमा कमजोर भएँ कि भन्ने महसुस हुन्छ ।  

करिब २३ वर्षे जागिरेका क्यारियरमा आधा दर्जनभन्दा बढी संस्थाको अनुभव सँगाल्दा नारायण ज्ञवालीले आफूलाई असुरक्षित होइन कि झन् बढी सुरक्षाको अनुभूति गरेका छन् । लामो समयसम्म एउटै संस्थामा काम गर्नु हुँदैन भन्ने ‘आत्मनियम’ बनाएका ४५ वर्षे ज्ञवालीले पटक–पटक संस्था फेर्दा आजको दिनसम्म कहिल्लै बेरोजगार भएका छैनन् । छिटोछिटो संस्था र जागिर परिवर्तन गरेकाले उनीमाथि विश्वास गर्नेहरू बढेका छन् । सधैँ अवसर नै अवसर पाइरहेका छन् । 

तिनै अवसरका कारण यतिखेर उनी देश र समाजले भरोसा गर्ने हैसियतमा समेत पुगेका छन् । २३ वर्षअघि एउटा सामान्य कृषि प्राविधिकको रूपमा जागिर सुरु गरेका ज्ञवाली यतिखेर लुथरन वल्र्ड रिलिफको कार्यक्रम निर्देशक छन् । जुन नेपालमै बसेर निकै कम नेपालीले पाउन सक्ने अन्तर्राष्ट्रिय स्तरको उच्च जागिर हो । उनी कार्यरत संस्थाले नेपाल र भारतको सीमावर्ती बस्तीका बाढीपीडित सर्वसाधारणलाई सशक्तीकरणमा जोड दिँदै आएको छ । त्यस्तै सर्वसाधारणको हितका लागि नीति, निर्माण तहमा लबिङ गर्ने उनको अर्को जिम्मेवारी छ ।  

६/६ महिनामा बायोडाटा पठाइरहने

ज्ञवालीले काम गरेका मध्ये सबभन्दा लामो अवधि गरेको संस्था लुथरन वल्र्ड रिलिफ हो । पछिल्लो संस्थामा भने उनी करिब पाँच वर्षदेखि काम गरिरहेका छन् । एकातिर पारिवारिक कारण र अर्कोतर्फ नेपालमै बस्दा अहिलेको भन्दा उपल्लो तहको जागिर खान सकिने ठाउँ नभएका कारण लुथरनमा पाँच वर्षदेखि रहनु पर्दा उनलाई चैन भने छैन । त्यसैले उनी कहिलेकाहीँ विदेशमा बसेर काम गर्ने हो कि भन्ने पनि ठान्छन् । 

यसअघि उनले काम गरेका अधिकांश संस्था दुई/तीन वर्षको अवधिमा छाडेका छन् । धेरै व्यक्तिका लागि आकर्षक मानिने संस्थासमेत छोटो अवधिमै छाडेपछि उनको कुनै पनि संस्थामा काम गर्नुपर्छ भन्ने सोच्दा रहेनछन् भन्ने पुष्टि हुन्छ । कुनै पनि संस्थामा काम थालेपछि दुई/तीन वर्षमै परिवर्तन गरिएन भने प्रतिस्पर्धाको रिङबाट बाहिर गएजस्तो लाग्छ उनलाई । ‘बजारमा प्रतिस्पर्धी भइरहन हरेक ६/६ महिनामा विभिन्न निकायमा बायोडाटा छाडिरहेको हुन्छु,’ उनले भने, ‘ती संस्थाबाट बोलावट भयो भने मात्र प्रतिस्पर्धी रहेछु भनेर सन्तोष हुन्छ ।’ 

काम गर्दै आइरहेको संस्था भने उनले त्यतिबेला छोड्छन्, जतिबेला नयाँ संस्थाले मागेअनुसार सेवा र सुविधा दिएको हुन्छ । मेड नेपाल नामक सानो एनजिओबाट काम थालेका ज्ञवालीले आजको दिनमा राम्रा भनेर चिनिएका धेरै एनजिओमा काम गर्न भ्याइसकेका छन् । मेड नेपालमा आबद्ध भएर रौटहट, बारामा काम गरेको पहिलो अनुभव नै उनका लागि आज राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा शिर ठाडो बनाउने र उदाहरण पेस गर्ने माध्यम बनेको छ । ‘गैरसरकारी संस्थाको दुनियाँको म आज जहाँ छु । त्यो मेड नेपालमा काम गर्दाको प्रतिफल हो भन्ने लागेको छ,’ उनले विगत सुनाए । 

गैरसकारी संस्थाको पहिलो अनुभव मेड नेपालबाट लिएका ज्ञवालीले त्यस संस्थामा दुई वर्ष काम गरे । स्थानीय गैरसरकारी संस्था मेड नेपालको दुई वर्षे यात्रापछि उनको यात्रा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालमा जोडिन पुग्यो । प्लान नेपालमा डेभलप्मेन्टको अर्डिनेटर पदबाट जागिर सुरु गरेका उनले त्यहाँ पनि तीन वर्षभन्दा बढी काम गर्न उचित ठानेनन् । एउटै काम र एउटै पदबाट जति सिक्नुपर्ने हो त्यो सबै प्राप्त भएपछि ज्ञवालीको रोजाइमा प¥यो– प्लानकै अनुगमन र मूल्यांकन शाखा । 

त्यस पदअन्तर्गत रहेर उनले भोजपुर र मोरङमा रहेर काम गरे । प्लानमै दुईवटा पदमा रहेर काम गरिसकेपछि ज्ञवालीले रोजाइ तत्कालीन साप नेपाल प¥यो । साप नेपालमा काम गर्दैगर्दा विकास, मूल्यांकन  र व्यवस्थापनमा अध्ययन गर्न बेल्जियम गएका ज्ञवाली विदेशबाट फर्केलगत्तै झनै बढी बिकाउ भए । ‘दुई वर्ष बेल्जियमको पढाइ सकेर फर्कनेबित्तिकै  एकैचोटी दुई ठाउँ (युरोपियन युनियन र आइडिई) बाट जागिरको अफर आयो,’ उनले भने, ‘त्यसपछि मलाई लाग्यो, ‘चाहिने विषय समयमै अध्ययन गरेको रहेछुँ ।’ 

एकातिर अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था र अर्कोतर्फ काठमाडौंमै स्टेसन भएका कारण उनले युरोपियन युनियन रोजे । तर, युरोपियन युनियनमा उनले सोचेजस्तो चाहिँ भएन । काम थालेको केही समयमै ठूलै समस्या आइलाग्यो । समस्या थियो– उनको हाकिमको प्रवृत्ति र सोच । नेपाल र नेपालीप्रति नकारात्मक धारणा बनाएका ती युरोपियन युनियनका हाकिम फ्रेन्च नागरिक (डोमेनिक फेरोनी) को व्यवहार ज्ञवालीप्रति पनि सकारात्मक रहेन । 

यी दुईको सम्बन्ध नौ महिनाभन्दा बढी टिक्न सकेन । र, अन्ततः ज्ञवालीले युरोपियन युनियन छाडिदिए । ‘ज्ञान र क्षमताको दृष्टिकोणले ऊभन्दा म निकै राम्रो थिएँ,’ ज्ञवालीले भने, ‘त्यसैले युरोपियन युनियन छोड्ने बेला फेरोनीलाई खैरो कपाल भएका कारण फूर्ती लगाउँछस् भन्दै राजीनामा दिने हैसियतमा थिएँ ।’ उनका अनुसार राजीनामा दिइसकेपछि उसले (फेरोनी) सँगै काम गर्नका लागि पटक–पटक सम्झाउन खोजेको थियो । उनले भने, ‘तर, मलाई त्यो मान्छेसँग काम गर्न मनै लागेन ।’ त्यसरी जागिर छोड्नु पर्दा भने चित्त दुःखेको उनको भनाइ छ । 

युरोपियन युनियनपछि उनले जाइकामार्फत काम थाले । ‘आठवटा मुख्य मन्त्रालयसँग समन्वय गरी काम गर्नुपर्ने भएकाले जाइकाको जागिर मेरा लागि निकै महत्वपूर्ण रह्यो,’ उनले भने, ‘कुनै पनि कार्यालयमा अनुमगन र मूल्यांकनलाई जोड दिने कामको प्रकृति थियो ।’ अनुगमन र मूल्यांकनका लागि नै विभिन्न साधनको विकास गरेको उनले अझै बिर्सेका छैनन् । 

तत्कालीन समयमा उनी आबद्ध रहेको संस्था जाइकामार्फत नै कैयन कर्मचारीलाई अनुगमन र मूल्यांकन सिकाउन जापानसमेत पठाएको उनले बताए । जाइकाको उम्दा जागिर पनि उनका लागि अब पुरानो भइकेकाले एसएनभी रोजाइमा प-यो । त्यस संस्थामा काम गरिरहँदा पनि उनले विभिन्न ठाउँमा बायोडाटा पठाउने क्रम जारी नै राखेका थिए। 

साढे दुई वर्षको एसएनभीको जागिरपछि उनलाई टिपिओ भन्ने संस्थाले बोलायो । त्यहाँ काम गर्न त गए । तर, काम र पढाइको पृष्ठभूमि नमिलेपछि एक वर्षमै त्यो संस्था छाडिदिए । टिपिओ छोडेपछि एकैचोटी उनलाई दुईवटा राम्रा संस्थाबाट जागिरको प्रस्ताव आयो । एउटा थियो– जिटिजेट र अर्को अहिले काम गरिरहेको लुथरन वल्र्ड रिलिफ । सातवटा देशमा कार्यक्षेत्र रहेकाले उनले लुथरन छनोट गरे । र, लुथरनमा उनका लागि पद पनि अध्ययन गरेको विषय अनुसारकै योजना तथा मूल्यांकनको काम गर्नु थियो । 

काम नगरी जागिर खान हुँदैन भन्ने मान्यता

२०३० मा गुल्मीको मानकोटमा जन्मेका ज्ञवालीको विद्यालय तहदेखि नै पढाइ राम्रो भएकाले अग्रजको चाहना सरकारी जागिर थियो । आफन्तदेखि चिनेजानेकाले सम्म सरकारी जागिर राम्रो हुन्छ भन्ने सल्लाह दिने गरेकाले किशोर अवस्थाका ज्ञवालीको सोच पनि त्यस्तै थियो । 

कपिलवस्तुको पिपरवास्थित जनता माध्यमिक विद्यालयबाट विद्यालय तहको अध्ययन सकेपछि तुरुन्त जागिर पाउन सक्ने र रुचिको विषयसमेत भएकाले उनले प्राविधिक शिक्षा अध्ययन गर्ने निर्णय गरे । एसएलसीपछि पाँचवर्षे कृषि स्नातक चितवनको रामपुर क्याम्पसबाट सकेपछि सन् १९९६ मा ज्ञवालीले कृषि अनुसन्धान परिषद (नार्क) मा जागिर खाने निर्णय गरे । 

उनको इच्छाअनुसार नार्कमा जागिर पनि भयो । जागिर पाएको केही महिनापछि उनलाई परवानीपुर पठाइयो । परवानीपुर त सरुवा गरियो । तर, त्यहाँ कृषिमा स्नातक गरेको व्यक्तिले गर्ने काम थिएन । ‘कृषि प्राविधिक अधिकृत भएकाले मेरो काम कृषि क्षेत्रमा अनुसन्धान गर्नुपर्ने हो,’ उनले भने, ‘अनुसन्धान गर्नु त कता हो कता कृषि प्राविधिकले गर्नुपर्ने कुनै काम नभएपछि काम थालेको एक वर्षमै राजीनामा गरिदिएँ ।’ 

सरकारी जागिरबाट राजीनामा दिँदा पिता भूवनेश्वर र माता जमुनादेवीबाट दबाब आएको घटना भने उनले अभैm बिर्सेका छैनन् । ‘जागिरका लागि जागिर गर्ने हो भने त कामै नगरी पनि बस्न सक्थेँ,’ उनले भने, ‘तर, मेरो चाहना काम गर्नुपर्छ भन्ने थियो । काम नगरी बस्न सक्दैन्थेँ ।’ त्यो जागिर छाड्नु नै जीवनमा प्रगति गर्नका लागि ‘टर्निङ पोइन्ट’ भएको उनको बुझाइ छ । 

सरकारी कर्मचारी प्रतिस्पर्धी तर...

जीवनमा पहिलो जागिर सरकारी कार्यालयमा खाएका ज्ञवाली सरकारी कार्यालयको काममा प्रभावकारिता हुन नसक्नुमा कर्मचारीको प्रवृत्तिलाई कारण ठान्छन् । 

अध्ययनको हिसाबले सरकारी कर्मचारी प्रतिस्पर्धी भए पनि योजना कार्यान्वयन भने विगतदेखि नै फितलो हुने गरेको उनको बुझाइ छ । सरकारी कर्मचारीको ध्यान व्यक्तिगत फाइदातिर मात्र केन्द्रित हुन्छ भन्ने धेरैको बुझाइप्रति उनी पनि सहमत छन् । विदेशतिर अनुगमन र मूल्यांकनमा जोड दिइएकाले सरकारी संयन्त्र राम्रोसँग कार्यान्वयन हुने गरेको बताउने ज्ञवाली नेपालमा भने अझै पनि अनुगमन र मूल्यांकनमा जोड नदिइएको ठान्छन् । ‘अनुगमन र मूल्यांकनमा बसेर काम गर्नुपर्दा नै कर्मचारी खुसी हुँदैनन्,’ उनले भने, ‘जसले सबै कामको नेतृत्व गर्ने हो सोही निकायमा काम गर्न पाउँदा नै खुसी नहुने सोचका कारण समस्या सिर्जना भइरहेको छ ।’ 

सरकारी निकायमा कर्मचारीले आफ्नो क्षमता देखाएर काम गर्नुभन्दा पनि हाकिमलाई खुसी बनाउन खोज्ने प्रवृत्तिले कर्मचारीतन्त्र फितलो भइरहेको उनको भनाइ छ । ‘तल्लो तहका कर्मचारीले चाप्लुसी गर्ने र हाकिमले पनि त्यही चाहने प्रवृत्ति रहेसम्म नेपालको कर्मचारीतन्त्रमा सुधार आउँदैन,’ उनले भने, ‘त्यस्तै कर्मचारीमा काम नगरे पनि तलब पाउँछौं भन्ने सोच त्याँग्न जरुरी छ ।’ कर्मचारीले क्षमतामा आधारित काम गर्नुपर्ने र जसका लागि गतिलो प्रणालीको विकास गर्नुपर्ने उनी बताउँछन् । जाइकामा काम गर्दा कर्मचारीलाई अनुगमन र मूल्यांकनमा प्रतिस्पर्धी बनाउन तालिमका लागि जापान पठाए पनि उपलब्धिमूलक भएजस्तो उनलाई लाग्दैन । 

गैरसरकारी संस्था सरकारी संयन्त्रभित्र छिर्नुपर्छ

पछिल्लो समयमा गैरसरकारी संस्थाले आफूखुसी काम गर्न दिने वा सरकारले नियन्त्रण गर्ने भन्नेबारे विवाद बढिरहेको बेला ज्ञवालीले गैरसरकारी संस्था सरकारी संयन्त्रणमा छिर्न आवश्यक देख्छन् । 

नेपालमा गैरसरकारी संस्थामाथि किन आलोचना भइरहेको छ भन्ने प्रश्नमा उनले केही संस्थाले एउटा उद्देश्यका लागि दाताबाट पैसा ल्याउने र अर्को काममा लगाउने गरेकाले आलोचना भएको बताए । ‘त्यसैले गैरसरकारी संस्था सरकारी संयन्त्रमा छिर्न जरुरी छ,’ उनले भने । उनको विचारमा गैरसरकारी संस्थाले अब काम गर्ने शैली परिवर्तन गर्न आवश्यक छ । गैरसरकारी संस्थाले बीउ वितरण गरेर किसानलाई सशक्तीकरण गर्न नसक्ने उनी बताउँछन् । ‘आर्थिक समृद्धि र सशक्तीकरणका लागि अब युवालाई उद्यमी बनाउने कार्यक्रमको जरूरी छ,’ उनले भने । विकासको नेतृत्व चाहिँ सरकारले गर्नुपर्छ । 

सल्लाहकार पत्नी

ज्ञवाली यतिखेर जसरी विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सल्लाह दिन्छन् । त्यसरी नै घरमा भने पत्नीसँग सल्लाह लिन्छन् । विराटनगरकी दुर्गा तिवारीसँग सन् २००२ मा मागी बिहे गरेका ज्ञवाली पत्नीकै सल्लाह र सहयोगले आफू सफल भएको ठान्छन् । बिहे गर्नुअघि शिक्षण पेशामा आबद्ध दुर्गाको आजकालको दैनिकी छोराछोरी हुर्काउनु र पतिको ख्याल गर्नु हो । 

‘दुर्गाले छोराछोरी र घर सम्हालेका कारण मैले ढुक्कसँग काम गर्न पाएको छु,’ नारायणले भने, ‘त्योबाहेक अप्ठेरो पर्दा उनले दिने महत्वपूर्ण सल्लाह र सुझाव त छँदैछन् ।’ बिहेपछि गृहिणी हुनु परेकोमा दुर्गालाई कुनै चिन्ता छैन । घर व्यहार सम्हाल्नु र छोराछोरीको रेखदेखलाई उनले खुसी मानेकी छन् । ‘कतिपय साथीभाइको अझै बिहे भएको छैन,’ उनले भनिन्, ‘प्रगति भनेको खुसी हो । त्यसैले म परिवार, श्रीमान र छोराछोरीसँग खुसी छु । यसैलाई प्रगति ठानेकी छु।’ छोरा अभिनव जन्मेको ११ वर्षपछि छोरी हर्षी जन्मेकाले ज्ञवाली परिवार झनै खुसी छ । 

प्रकाशित: ७ आश्विन २०७५ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App