८ वैशाख २०८१ शनिबार
समाज

बुबा खोज्दै स्मारकमा

शान्ति स्मारकमा बुवाको नाम हेर्दै खेमप्रकाश बुढामगर ।    तस्बिरः दिनेश/नागरिक

रोल्पा – उनले भने  ‘ओइ हेर न मेरो बुवाको पनि नाम रैछ।’ 

छेउमा उभिएका अर्काले सोधे ‘खै कहाँ निर ?’ 

फेरी पहिलाकै ब्यक्ति बोले ‘उ ७ सय ३८ नम्बरमा छ।’ 

रोल्पा सदरमुकाम लिवाङमा भर्खरै बनाइएको ‘शान्ति स्मारक’मा बुधबार संविधान दिवसको अवसर पारेर आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा आएका एक युवाले द्धन्द्धका क्रममा मारिएका आफ्नो बुबाको नाम आउने गरी फोटो खिचाउँदै थिए।

तत्कालिन माओवादी सशस्त्र युद्धका समयमा २०५८ साल चैत १५ गते आफ्नै घरमा मारिएका थवाङ गाउँपालिका ५ मिरुलका धनबहादुर बुढाका माहिलो छोरा खेमप्रकाश मोवाइलमा फोटो खिच्न ब्यस्त देखिन्थे। ‘उहिले मेरो बुबालाई प्रहरी र सेनाले मारेको थियो तर आज त्यही प्रहरीको जिल्ला प्रहरी कार्यालय गेटमै स्मारक बनेको रैछ। उहाँहरूलाई पनि ‘फिल’ त हुन्छ होला। मेरो चाहि मन छोयो। कम्तीमा बुबाको निशानी त रैछ।’

दाङमा व्यवसाय गरेर बस्ने धनबहादुरका माहिलो छोरा खेमप्रकाश बुढामगरले भने, ‘अहिले भर्खरै रोल्पा पुगेको संयोगले आज यहाँ कार्यक्रम रैछ। बुबाको अभावमा जुन पीडा हामीलाई भयो त्यो शहिद परिवार सबैलाई भयो होला। अब राज्यले सहिदलाई सम्मान गर्नुपर्छ। साच्चीकै सहिद अमर हुँदा रहेछन्। आज यो स्मारकमा बुबाको नाम देखेर खुसी दियो।’ शान्ति स्मारक छेउमा उभिएका खेम प्रकाशले नागरिकसंग भने।

माओवादी द्धन्द्धको सुरुवातीबाटै भुमिगत भएका धनबहादुरलाई तत्कालीन राज्य पक्षले उनकै घरमा गोली हानेर मारेको परिवारका सदस्य बताउछन। ‘हाम्रै आखाँ अगाडि सेना पुलिसले गोली हान्यो। आमासँगै हामी ४ भाई र दिदी भागेर जंगल गयौ। ३ दिनपछि फर्केका गाउलेले बुबाको लाश आगनमा गाडिदिएका रहेछन। तीन दिनपछि आगनमा गाडेको लाश झिकेर परम्परागत रुपमा अन्त्येष्टि गरेका थियौ।’ बुबाको हत्या देखेका खेमप्रकाशले भने ‘बुबा सुरुदेखि नै भुमिगत हुनुहुन्थ्यो। उसदिन पार्टीले सम्पर्कमा बोलाएको रहेछ।’

गाउँमा खेतिपाती आमाको नरमाइलो दैनिकीसँग अभ्यस्त बुढा परिवार जस्तै आफन्तको अभावमा साँझ बिहान आशु झार्नेहरू धेरै छन्। ‘पीडा र अभावसँग धेरै लडियो। अहिले त आर्थिक रुपले ठिकै छ। तर पनि बुबाको अभावले पोलिरहन्छ। दिदीको बिहे भैसकेको छ। दाईले गाउँमै होटल गर्नुहुन्छ। मैले पनि व्यवसाय गर्छु। एउटा भाइ विदेश छ भने अर्कोले पोखरामा पढ्दै छ।’ उनले भने, ‘विगतको द्धन्द्धमा ज्यान गुमाएका अन्य परिवार र घाइते अपाङ्गको अवस्था नाजुक छ। राज्यले त्यता पनि ध्यान दिनुपर्छ। शहिदलाई उपेक्षा होइन सम्मान गर्नुपर्छ।’

केहि महिना अगाडि रोल्पा सदरमुकाम लिवाङमा एक गैरसरकारी सस्था र नगरपालिकाको पहलमा बनाइएको शान्ति स्मारकमा द्धन्द्धकालिन विभिन्न घटनामा ज्यान गुमाएका ९ सय ६९ जना मृतक र ३३ जना बेपत्ताको नाम नामेसी राखिएको छ। 

प्रकाशित: ७ आश्विन २०७५ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App