coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुर सिमेन्ट उद्योगलाई स्तरोन्नति गरिँदै

२६ वर्षपछि पहिलोपटक पूर्णरुपमा स्तरोन्नति हुँदै गरेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड।    तस्बिरः महेश्वर/नागरिक

जलजले (उदयपुर) – स्थापनायताकै सबैभन्दा बढी उत्पादन गर्न सफल सरकारी स्वामित्वको गैंडा छाप सिमेन्टको उत्पादक उदयपुुर सिमेन्ट उद्योग लिमिटेड (उसीउली) जलजलेको स्तरोन्नति र मर्मत कार्य सुरु भएको छ। गत मंगलबारदेखि सुरु स्तरोन्नति कार्यपछि साविकभन्दा दैनिक १ हजार बोरा थप सिमेन्ट उत्पादन गर्न सक्षम हुने उद्योगले जनाएको छ। 

स्तरोन्नतिअन्तर्गत उद्योगको सम्पूर्ण माग र यन्त्रहरूको मर्मत भइरहेको उद्योगका महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेले बताए। उनका अुनसार स्थापनायताको यो पहिलो पूर्ण मर्मत कार्य हो। ३० जना भारतीय प्राविधिक टोली दिनरात मर्मत कार्यमा लागिरहेको र यो क्रम झण्डै ३ साता चल्ने छ। मर्मत कार्यपछि हालका उत्पादन क्षमतामा दैनिक हजार बोरा थप हुने जिएम पौडेल बताउँछन्। 

‘फ्याट्रि स्थापनाको २६ वर्षे इतिहासमा यो नै पहिलो होलबडी मेन्टेनेन्स् हो’ जिएम पौडेलले यसबाट दैनिक उत्पादनमा वृद्धि हुने बताए। ‘यो मर्मत मात्र होइन, स्तरोन्नति कार्य पनि हो। त्यसैले यसपछि अहिलेको उत्पादनभन्दा दैनिक हजार बोरा बढी प्रोडक्सन हुन्छ।’ भारतीय दक्ष प्राविधिक टोलीले दिनरात २१ दिनसम्ममा लगाएर कारखानाका महत्वपूर्ण सबै यन्त्रदेखि स–साना भागसम्मको मर्मत र पार्टस् फेरबदल गर्ने जनाइएको छ। 

उद्योगको मुख्य भाग मानिने किल्न (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र), प्रिहेक्टर पंखा, ग्रावर्ल, बेड फिल्टर, मुख्य गियर बक्सलगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुर्नजडान गरिनेछ। त्यस्तै ३० वटा पुराना डक (हात्तीको सँुड आकारको यन्त्र) झिकेर नयाँ जडान गरिनेछन् भने १४ वटा एक्स्पेन्सन जोइन्टहरू पनि पुर्नजडान गरिनेछ। वायर (तार) र नट बल्टुसम्मको मर्मत कार्य हुने यो स्तरोन्नतिमा उद्योगको मुख्य किल्न सेल नयाँ राखिनेछ भने ४५ टन बराबरका नयाँ सामान ‘रिप्लेस’ हुने पौडेलले बताए। 

३ करोड लागतमा स्तरोन्नति मर्मत गरेपछि उद्योगबाट कम्तीमा ३ वटा फाइदा हुने उद्योगको दावी छ। दैनिक उत्पादनमा वृद्धि, बिक्री कार्यमा सहज तथा वार्षीक आयवृद्धि हुने उद्योगको अपेक्षा छ। ‘२६ वर्षअघि खुलेपनि पूर्ण मर्मतसम्भार नपाएको उद्योगका लागि यो ह्युज मेन्टेनेन्स् हो’ महाप्रवन्धक पौडेलले भने, ‘यसपछि दैनिक उत्पादन बढ्नुका साथै मासिक २१ करोडसम्म आम्दानी बढाउने हाम्रो लक्ष्य छ।’ उनका अनुसार यसले उत्पादन वद्धि गरेपछि वर्षमा १० देखि १५ करोडसम्म अतिरिक्त आय उद्योगलाई हुनेछ। यो स्तरोन्नतिपछि कम्तीमा ६ महिनासम्म कुनै सामान मर्मत गर्नु नपर्ने अर्को फाईदा छ।

मर्मतकार्य अवधिमा बेच्न पुग्नेगरी उद्योगमा सिमेन्ट स्टक रहेको पनि जनाइएको छ। नायव महाप्रवन्धक (डीजीएम) नवलकिशोर साहका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता उत्पादित साउन र भदौमा ४ लाख बोरा सिमेन्ट बिक्री गरेर ३६ करोड आम्दानी उद्योगले लिइसकेको छ। अझै २२ करोड बराबरको अढाइ लाख बोरा सिमेन्ट स्टक रहेको छ। दैनिक ८ सय टन सिमेन्ट उत्पादन क्षमताको उसीउलीले पछिल्लो २ वर्षयता ७ सय ६० टन दैनिक उत्पादन गर्न सफल भएको छ। स्तरोन्नतिपछि कम्तीमा ८ सय ५० देखि ९ सय टनसम्म सिमेन्ट उत्पादन हुने साहले बताए। 

०४४ सालमा जापान सरकारको सहयोगमा स्थापित उद्योग नेपाल सरकारलाई हस्तान्तरणसँगै दलीय कोपभाजन र मजदुर राजनीतिकरणले वर्षेनी उत्पादन घट्दै टाट पल्टन लागेपछि ०७१–७२ मा सरकारले नीजिकरण गर्न लागेको थियो। तर, सरकारले नीजिकरणको निर्णय फिर्ता लिदै पौडेललाई जिएम नियुक्त गरेर उद्योग सुधारको जिम्मा दियो। पौडेल नेतृत्वको व्यवस्थापकीय सञ्चालनपछि उद्योगले वर्षेनी सुधार गर्दै क्षमता अनुुसार उत्पादन गर्ने अवस्थामा पुर्याएको कर्मचारीहरू बताउँछन्।

उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीका अनुसार ०७१–७२ को दाँजोमा पछिल्लो आर्थिक वर्ष झण्डै दोब्बर उत्पादन वृद्धि भएको छ। ०७१–७२ मा १४ लाख ४६ हजार २ सय ६७ बोरा उत्पादन भएको उद्योगले ०७४–७५ मा २४ लाख ६ हजार ९ सय ७४ बोरा उत्पादन गरेको छ। ०७२–७३ मा १३ लाख ५८ हजार १ सय ८७ बोरा र ०७३–७४ मा १९ लाख ७३ हजार २ सय ९४ बोरा गैंडाछाप उत्पादन गरेको थियो। 

जिसीका अनुसार ०७४–७५ मा उद्योगले सिमेन्ट बिक्रीबाट २ अर्व ९ करोड ४० लाख ६७ हजार ३ सय ८० रुपैयाँ आर्जन गरेको छ। आसपासका स्थानीय र कर्मचारी मजदुरलाई धुलो, धुँवाको प्रदुषण खेप्नुपर्ने समस्याबाट मुक्ति दिलाउन १ वर्षअघि मात्र उद्योगमा प्रदुषणरहित यन्त्रसमेत जडान गरिसकिएको छ। वर्षमा ६–७ महिनाभन्दा बढी नचल्ने उद्योगलाई मर्मतको समयबाहेक बाह्रै महिना सुचारु राख्न गरिएको उनले बताए। 

उद्योगका अर्का डीजीएम महेश काफ्लेका अनुसार उद्योगमा पुरानो पुस्ताका कर्मचारीलाई कानुन अनुसारको सेवासुविधासहित बिदा गरेर ३ दर्जन बढी नयाँ उर्जावान, सिर्जनसिल र सक्रिय युवा प्राविधिक कर्मचारी नियुक्ती गरिएको छ। 

प्रकाशित: ७ आश्विन २०७५ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App