८ वैशाख २०८१ शनिबार
समाज

लिमचुङबुङमा आगलागी, २ परिवारका ३ घर नष्ट

उदयपुर – उदयपुरको लिमचुङबुङ गाउँपालिका ५ जाँतेस्थित राख्जुँमा आगलागीबाट २ परिवारको ३ वटा घर जलेर नष्ट भएको छ। अघिल्लो साँझ एक्कासी गोठमा लागेको आगोले स्थानीय डिगबहादुर बुढाथोकी र उनकै छोरा छत्रबहादुर बुढाथोकीको घर र मतान जलेर नष्ट भएको स्थानीयले बताएका छन्। 

छोरा झलक बुढााथोकीका अनुसार आगलागीबाट लहरै रहेका ४ वटामध्ये ३ वटा जलेर त्यसभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र नगदसमेत जलेको छ। २ परिवारको लगभग ५० मुरी मकै, कोदो, धानलगायत अन्न र महत्वपूर्ण कागजात तथा १६ हजार नगद जलेर नष्ट भएको उनले बताए। आगलागीमा परेपछि दुवै पीडित परिवार छिमेकीको शरण लिएर बस्न बाध्य भएका छन्। 

आगो संक्रमण हुने डरले गाउँलेले उत्तरतर्फ रहेको अन्तिम एउटा घरको छानो उधारेर प्mयाँकेका कारण त्यो भने जल्नबाट बँचेको छ। बाँकी २ वटा घर र एउटा मतान जल्दा दुवैको गरी झण्डै १२ लाख हाराहारीको क्षति भएको प्रत्यक्षदर्शी स्थानीय राजकुमार राईले बताएका छन्। समयमै गाउँले भेला नभएको भए छिमेकका अन्य घर पनि जल्ने संभावना रहेको उनले बताए। 

गाउँपालिका हेर्ने इलाका प्रहरी कार्यालय वडा नं. ३ को बाराहामा रहेको र टेलिफोन नेटवर्कले काम नगर्ने भएकाले घट्नाबारे स्थानीयले आइतबार मात्र प्रहरीसमक्ष खबर गरेको बताएका छन्। त्यहाँबाट प्रहरी नआइन्जेलसम्म गाउँलेहरू आफैले आगलागीको क्षति विवरण मोटामोटी यकिन गरेर वडा र गाउँपालिकामा बुझाएको बताएका छन्। 

जिल्ला प्रहरीले भने आगलागीको घट्नाबारे जानकारी नआएको जनाएको छ। प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले लिमचुङबुङमा आगलागी भएको कुनै खबर नआएको बताए। उनले घट्नाबारे तत्काल बाराहा युनिटलाई जानकारी गराएर अनुगमन निरीक्षणका लागि घट्नास्थल पठाउने बताएका छन्।   

प्रकाशित: ७ आश्विन २०७५ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App