७ वैशाख २०८१ शुक्रबार
अर्थ

म्यादी जीवन बिमामा कमिसन हटाइयो

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारको बिमा गर्ने विभिन्न कम्पनीका एजेन्टहरूले अब म्यादी जीवन बिमा गरेबापतको कमिसन नपाउने भएका छन् । वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य गरिएको म्यादी जीवन बिमा गर्दा पीडितले अपेक्षित लाभ लिन नसकेको ठहर गर्दै बिमा समितिले उक्त निर्णय गरेको हो।

वैदेशिक रोजगार (म्यादी) बिमालेख जारी गर्दा एजेन्टले लिँदै आएको कमिसन हटाउनु पर्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले यसअघि समितिलाई आग्रह गरेको थियो । बिमांक रकम आकर्षक बनाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले म्यादी जीवन बिमा गर्ने एजेन्टलाई कमिसन नदिने व्यवस्था मिलाइदिन गरेको आग्रह बमोजिम बिमा समितिले उक्त निर्णय गरेको हो । उक्त निर्णय आउँदो साउन १ गतेदेखि कार्यान्वयनमा आउने समितिका निर्देशक श्रीमान कार्कीले बताए ।

दुईदेखि पाँचवर्षे अवधिमा गरिने म्यादी जीवन बिमाको कमिसन साढे सातदेखि चार प्रतिशतसम्म एजेन्टले लिँदै आएका थिए । वैदेशिक रोजगारीमा जाने हरेक कामदारले अनिवार्य बिमा गर्ने बोर्डले निर्णय गरेका कारण उक्त बिमा गराउन एजेन्टहरूको खासै भूमिका नहुने भएकाले कमिसन दिनु नपर्ने आवाज उठ्दै आएको थियो । समितिका निर्देशक कार्कीका अनुसार वैदेशिक रोजगारीमा जाने न्यून आय भएका वर्गलाई लक्षित गरिएको निर्णयमा एजेन्टहरूको विरोध छैन । ‘एजेन्टहरू पनि शिक्षित भएकाले दुःख पाएका सहुलियत पु¥याउन गरिएको निर्णयप्रति विरोध हुँदैन भन्ने लागेको छ,’ उनले भने, ‘आगामी दिनमा एजेन्टको साटो बिमा कम्पनीले नै म्यादी बिमा गर्नेछन् ।  

त्यस्तै समितिले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका परिवारले पाउने बिमाको रकम पनि दोब्बर गरेको छ । यसअघि वैदेशिक रोजगारीको क्रममा कुनै कामदारको मृत्यु भएको खण्डमा ५ लाख क्षतिपूर्ति पाउँदै आएकोमा अब श्रम स्वीकृति लिएका कामदारको मृत्यु भएको खण्डमा मृतकका आफन्तले दोब्बर रकम प्राप्त गर्नेछन् । सुविधा दोब्बर पाउन कामदारले अहिले तिर्दै आएको बिमा शुल्कमा ४५ प्रतिशत थप तिर्नु पर्नेछ ।  

बोर्ड पदाधिकारीका अनुसार मृतकका परिवारले हाल पाउँदै आएको रकम निकै न्यून भएकाले परिवारको सामाजिक सुरक्षा र मानवीय पक्षलाई ध्यान दिएर बिमा रकम वृद्धि गर्ने आवश्यकता ठानिएको हो । ‘बिमाबापतको रकम दोब्बर गरिएपछि हरेक मृतकका परिवारले शव ल्याउनेदेखि काजकिरिया गर्नेसम्म बिमा कम्पनीबाट १४ लाख रुपैयाँ बराबर क्षतिपूर्ति पाउनेछन्,’ बोर्डका कार्यकारी निर्देशक काफ्लेले भने । वैदेशिक रोजगारीमा जाने हरेक कामदारलाई म्यादी बिमा अनिवार्य गरिए पनि कामदारको रोजगारदासँगको सम्झौता तथा उमेर आधारमा बिमा शुल्क भने फरक पर्ने सक्नेछ । २०६४ सालपछि पहिलोपटक बिमा सुविधाको रकम वृद्धि गर्ने निर्णय गरिएको हो ।

पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वृद्धिसँगै विदेशमा ज्यान गुमाउने, अंगभंग तथा बिरामी हुनेको संख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगारीमा ज्यान गुमाउनेमा अधिकांश युवा अवस्थाका हुने गर्छन् । युवा अवस्थामै ज्यान गुमाउँदा आर्थिक समस्याका कारण कैयौं परिवारको बिचल्ली हुने गरेको छ भने अभिभावकको निधनपछि बालबालिकाको शिक्षा प्रभावित भइरहेको छ । बोर्डका अनुसार पछिल्लो समयमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्या वृद्धि भएर दैनिक तीन जनासम्म पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा ५ लाख १२ हजार युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक हजार दुईजनाको विदेशी भूमिमै निधन भएको थियो । वैदेशिक रोजगारीमा ज्यान गुमाउनुका मुख्य कारणमा मुटुजन्य समस्या, सडक दुर्घटना पाइएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म तीन लाख ५९ पाँच सय ३७ युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । रोजगारीका लागि मलेसिया, साउदी पुगेका धेरै कामदारले ज्यान गुमाएको पाइएको छ । चिकित्सकका अनुसार वैदेशिक रोजगारीमा जानुअघि गन्तव्य मुलुकको हावापानी र सडक सुरक्षाबारे यथेष्ट जानकारी नभएका कारण कामदार ज्यान गुमाउन पुग्छन् । अत्यधिक गर्मी हुने खाडी मुलुकमा काम गर्न पुगेका कतिपयले एसीको तापक्रम मिलाउन नजानेरै ज्यान गुमाउने गरेको सरकारी अधिकारी बताउँछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिर्ने हजार रुपैयाँबापत मृतकलाई उपलब्ध गराउँदै आएको ३ लाख रुपैयाँलाई ५ लाख र औषधि उपचारको ३ लाखसम्मको सिलिङलाई वृद्धि गरी ५ लाख रुपैयाँसम्म पुर्याएको बोर्डले जनाएको छ ।   समितिले म्यादी जीवन बिमा गर्न नौ वटा बिमा कम्पनीलाई अनुमति दिए पनि हाल पाँच वटाले मात्र उक्त काम गर्दै आएका छन् ।

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेहरू
आर्थिक वर्ष                                 मृत्यु संख्या
आव २०७२/७३ (साउन–फागुन)               ६५६
आव २०७१/७२                                   १००२
आव २०७०/७१                                   ८८८
आव २०६९/७०                                   ७२७
आव २०६८/६९                                   ६४६
आव २०६७/६८                                  ५४९
आव २०६६/६७                                  ४१८
आव २०६५/६६                                  ९०

 

प्रकाशित: १० असार २०७३ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App