coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘निर्देशकले महिला वा पुरुष छुट्याउँदैन’

काठमाडौं – फिल्म ‘छक्का पन्जा’बाट निर्देशनमा डेब्यु गरेकी अभिनेत्री तथा निर्मात्री दीपाश्री निरौलाले ‘छक्का पन्जा २’सम्म आइपुग्दा जति तारिफ पाइन् फिल्मको विषयलाई लिएर उस्तै आलोचना पनि खेपिन। वैदेशिक रोजगारीको विषय उठान गरिएको दुई संस्करणको फिल्मले महिलालाई गलत तरिकारले चित्रण गरेको आरोप लाग्यो।

फिल्मको तेस्रो सिक्वेल ‘छक्का पन्जा ३’को रिलिज मिति घोषणासँगै ट्रेलर सार्वजनिक कार्यक्रममा जब शनिबार दीपाश्रीले साोही प्रश्न खेपिन् उनले आलोचकले फिल्मको विषयबस्तुलाई बुझ्न नसकेको दाबी गरिन् । ‘हाम्रो उद्देश्य महिलालाई होच्याउनु थिएन। फिल्मको विषयबस्तु पनि लिंगसँग सम्बन्धित थिएन,’उनले भनिन्,‘हामी कुनै पनि विषयलाई न्याय गर्न चाहन्छाैं। राम्रो विषयवस्तुलाई दर्शकमाझ देखाउँदा गाली र फिल्म बिगारेको आरोप लाग्ने गरेको कुरा नयाँ होइन। मेरो बुझाइमा निर्देशकले फिल्ममा महिला वा पुरुष छुट्याउँदैन । कथा भन्छ।’

दीपाश्रीले फिल्मको तेस्रो संस्करण अघिल्ला दुई संस्करणभन्दा फरक रहेको बताइन् । ‘हामी प्रत्येक संस्करणमा दर्शकलाई फरक विषयवस्तु दिन चाहन्छौं । यो पटक फिल्ममा दर्शकले नेपालको शैक्षिक विकृतिलाई हेर्न पाउनुहुनेछ,’ दीपाश्रीले खुलाइन्,‘एउटै नाममा तीन संस्करणको फिल्म बनाएको भन्दै आलोचना पनि भइरहेको छ । त्यसकारण आगामी प्रोजेक्टमा छक्का पन्जा नाम नराखी अर्को नाम राखेर फिल्म बनाउनेछौं ।’ उनका अनुसार तिहारपछि नयाँ फिल्मको काम सुरु हुनेछ।

दसैंमा दुई फिल्म ‘जय भोले’ र ‘छक्का पन्जा ३’ कुन मितिमा रिलिज हुने अन्यौलता बढिरहँदा ‘छक्का पन्जा ३’का निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म घटस्थापनाको दिन अर्थात असोज २४ गते रिलिज हुने घोषणा गरे । ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिन  र ‘जय भोले’ फूलपातीको दिन । लामो समयदेखिको मितिको अन्यौलता हटेको छ,’ दीपकराजले भने,‘म फिल्म लाइनमा आउनु अघि राजनीतिमा थिएँ । मलाई कुनै पनि समस्याको समाधान वार्ता र सहमतिबाट हुन्छ भन्ने थाहा छ । त्यसै अनुरुप ‘जय भोले’का निर्देशक अशोक शर्मा दाइसँग सहमति भएर नै घटस्थापनामा आउने भएका हौं ।’
 दीपकले फिल्मका लागि प्रदर्शन मिति ठूलो कुरा नभइ दुई फिल्म जुध्नु हुन्न भन्ने आफूहरूको मान्यता  अनुसार सम्झौता गरेको बताए। 

‘दुई फिल्म जुध्दा फिल्म उद्योगको भलाई नचाहने तत्वहरू सलबलाउँछन् । यसकारण मिलेर अगाडि बढ्नु पर्छ भनेर म र अशोक दाइबीच धेरैपटक वार्ता भएपछि मैले उहाँलाई फूलपाती या घटस्थापनामध्ये एक मितिमा आउनु भने । उहाँले फूलपाती रोज्नुभयो, मैले घटस्थापना,’दीपकले भने,‘एकैदिन आउँदा पनि त हल बाँडफाँड हुन्थ्योे । अब त एक हप्ताको अन्तर छ । एक हप्ताको व्यापार हामीले राम्रोसँग गर्न पाउँछौं।’

सार्वजनिक ट्रेलरमा जातीय विभेद, विद्यालयमा हुने राजनीति र अशिक्षित युवाहरूको पीडालाई देखाइएको छ । ट्रेलरमा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलगायतले ठाउँ पाएका  छन्।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा नीर शाह, शिवहरी पौडेल, विल्सनविक्रम राई, किरण केसी, बसन्त भट्ट, अनुराग कुँवर, जयनन्द लामालगायतको पनि अभिनय छ। फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला अतिथी भूमिकामा छन्।

दीपककै कथा र पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र यमन श्रेष्ठको संवाद, पुरुषोत्तम प्रधानको छायांकन, दीपक शर्मा र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व र विपिन मल्लको सम्पादन छ । सुमन गिरी ‘भान्जा’, शिवहरि पौड्याल, किरण केसी, ताराचन्द्र बजगाई ‘निशान’, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माता रहेको फिल्ममा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता छन्।

प्रकाशित: ७ आश्विन २०७५ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App