राजनीतिक होइन, व्यावसायिक नेतृत्व आवश्यक

आइतबार, ०७ असोज २०७५, १० : ४३ सुजन श्रेष्ठ

काठमाडौं – संघीय सरकारका खेलपदाधिकारीहरू यति बेला नयाँ खेलकुद ऐन बनाउन जोडतोडका साथ लागिरहेका छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउने सबैभन्दा बलियो माध्यम खेलकुद अब कुन दिशामा जान्छ वा कता लाने भन्ने बहस चलिरहेका बेला लामो समय खेलकुद नेतृत्वमा रहेका ध्रुवबहादुर प्रधान खेलकुद हाँक्ने संस्थामा व्यावसायिक नेतृत्व आवश्यक रहेको विचार राख्छन्।

महासचिव र अध्यक्षका रूपमा दुई दशकभन्दा लामो समय नेपाल ओलम्पिक कमिटीको नेतृत्व गरेका पूर्वप्रहरी महानिरीक्षक प्रधान खेलकुद हाँक्ने संस्थाको नेतृत्वमा नियुक्ति प्रक्रिया पूर्ण व्यावसायिक हुने ग्यारेन्टी ऐनमै गर्न सके नेपाली खेलकुदले विकासको बाटो समाउन समय नलाग्ने विश्वासमा छन्।

२०६२–०६३ पछि सुरु भएको संक्रमणकाल अझै सकिएको छैन । एक दशकभन्दा बढी समयको माथापच्चीपछि बल्लतल्ल देशको मूल कानुन संविधान बनेको छ । अहिले देश त्यही संघीय संविधानको कार्यान्वयन चरणमा छ । कानुन बनाउने क्रम चलिरहेको छ । जसमा खेलकुदको पनि नयाँ ऐन बनाउन सरोकारवालाहरूको दौडधुप जारी छ । २०४८ सालमा बनेको खेलकुद विकास ऐनबाट नै अहिलेसम्म नेपाली खेलजगत् चलिरहेको छ। 

खेलकुदको छुट्टै मन्त्रालय नभएको बेला राष्ट्रिय खेलकुद परिषद् कल्पना गरिएको हो । पञ्चालतकालमा स्थापित परिषद्लाई बहुदलअघिको एक दशक सदस्यसचिवका रूपमा शरदचन्द्र शाहले नेतृत्व गरे । उनको कार्यकाललाई नेपाली खेलकुदमा स्वर्णकालका रूपमा बयान गरिन्छ । तथापि राजनीतिक अभीष्टका लागि खेलकुदको प्रयोग गरेको भनेर उनी आलोचित पनि छन् । पञ्चायतमा दरबारसँग निकट सम्बन्ध भएका सर्वशक्तिमान् सदस्यसचिव शाहले परिषद्लाई पनि आफूअनुकूल हुने गरी चलाउन थाले । त्यहीअनुसारको नियम–कानुन बनाए । अझ भनौं, उनले परिषद्को सदस्यसचिवको पद आफ्नो हैसियत सुहाउँदो पारे।  

‘आजभोलि खेलाडीमा अनुशासनको कमी देखिन्छ । मैदानबाट हारेर निस्कदा पनि हाँसिरहेका देखिन्छन् । उनीहरूमा हारियो भन्ने अलिकति पनि पछुतो भाव देखिँदैन । यस्तो अनुशासनहीन भएर हुन्छ ? यसले राष्ट्रकै बेइज्जत भइरहेको छ।’

राजनीतिक रूपमा देशमा धेरै परिवर्तन भइसकेको छ । शाह कार्यकालको पञ्चायतबाट बहुदल, लोकतन्त्र हुँदै देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको छ । तर, खेलकुदको आधार उस्तै छ । अहिले पनि सदस्यसचिव उनै दरबारिया शाहभन्दा फरक छैनन् । २०५३ सालमा ऐन संशोधन गरिएको थियो । त्यसले पनि राजनीतिक परिवर्तनअनुसार अधिकार तल्लो तहमा सार्ने काम गर्न सकेन । सबै अधिकार शाहकालको जस्तै सदस्यसचिवमै निहित गर्याे । बरु, पछिल्लो समय पहिला दरबारले जस्तै राजनीतिक पार्टीहरूले कार्यकर्ता भर्ती केन्द्रका रूपमा विस्तार गर्न थालेपछि परिषद्लगायत यसअन्र्तगत रहेका खेल संघहरूमा विवाद बढ्न थाल्यो। 

‘यसले संस्कार बिग्रियो । चाकरी, चाप्लुसी गरे हुन्छ भन्ने भयो । कार्यकर्ता भर्ना हुन थालेपछि विकृति बढ्यो । कर्मचारीहरूलाई विभाजित गर्ने काम भयो,’ नागरिकसँगको कुराकानीमा प्रधानले भने, ‘संघहरूलाई राजनीतिक पार्टीहरूले खेल विकासभन्दा कार्यकर्ता भर्ती केन्द्रका रूपमा लिन थाले र त्यहीअनुसारका मान्छेहरू नियुक्त गरे । मन्त्रालयदेखि तल्लो तहसम्म खेलकुद नै नबुझेकाहरू नेतृत्व गर्न आइपुगे । भिजन नै नभएकाहरूलाई नियुक्त गर्ने क्रम बढ्यो । योग्य मान्छेहरू बिस्तारै छायामा पर्दै गए । राखेप र मन्त्रालयको सांगठनिक ढाँचा पनि त्यस्तै भयो।’

ओलम्पिक कमिटीमा अध्यक्ष रहँदा प्रधानले दुई पटकसम्म नयाँ ऐनको खाका बनाएर सरकारलाई बुझाइसकेका छन् । तर, हाल त्यो कुन अवस्थामा छ, उनी स्वयम्लाई पत्तो छैन । मन्त्रालयकै कुनै र्याकमा धुलाम्मे अवस्थामा थन्किएको हुन सक्छ । नेपाली खेदकुदमा अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप), ओलम्पिक कमिटी र मन्त्रालय गरी तीन शक्ति केन्द्र छन् । यसबीचमा यी तीन शक्ति केन्द्रबीचको खिचातानी र विवादले नेपाली खेलकुद सधैं विवादमा अल्झिरह्यो । खेलाडी तथा प्रशिक्षकहरू त्यही विवादको मारमा परिरहे । उनीहरूमा आफूले गरेको कर्मप्रति वितृष्णा पैदा भयो । नयाँ पुस्तामा खेलप्रति लगाव जाग्न सकेन । जसका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन खस्कँदै गयो । खेलाडीहरूमा राष्ट्रप्रेमको भाव क्षीण हुँदै गयो।

राजनीतिक पार्टीहरूले राखेपलगायत संस्थामा गरेको कार्यकर्ता भर्तीको प्रभाव बिस्तारै नेपाल ओलम्पिक कमिटीमा पनि पर्न थाल्यो । ओलम्पिक पनि विवादमुक्त हुन सकेन । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता विवाद अझै कायमै छ । सरकार परिवर्तनसँगै यस्ता विवाद चुलिँदै मत्थर हुँदै जाने क्रम निरन्तर छ । अदालतले यसको विवादलाई झनै मलजल गरिदिएको छ। 

मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ । यसअघि सबै कमजोरीमा दरबारलाई कारक देखाउने राजनीतिक दलहरूलाई अब त्यो छुट छैन । समृद्ध नेपालको नारा बोकेका पार्टीहरूसामु अब साँच्चिकै विकास गर्नुको विकल्प छैन, त्यो पनि द्रुत गतिमा । यसैबीच बन्न लागेको खेलकुद ऐन कस्तो बन्छ भन्नेमा सबै सरोकारवालाको चासो बढिरहेको छ । आफूअनुकूलको व्यवस्था गर्न सबै तँछाडमछाड गरिरहेका छन् । युवा तथा खेलकुदमन्त्रीले विभिन्न चरणमा छलफल गरिरहेका छन् । ‘नयाँ बन्ने ऐनमा राखेप र ओलम्पिक कमिटी, राखेप र मन्त्रालय, ओलम्पिक कमिटी र मन्त्रालयबीच हुने टकरावको अन्त्य गर्ने बाध्यकारी व्यवस्था आवश्यक छ,’ प्रधान भन्छन्। 

जर्मनी, दक्षिण कोरियाजस्ता देशहरूको उदाहरण प्रस्तुत गर्दै प्रधान थप्छन्, ‘सधैं झगडा गरेर हुँदैन । ओलम्पिक र राखेपलाई मर्ज गरेर एउटै बनाउन सकिन्छ । कतिपय देशमा यस्ता अभ्यास भइराखेका छन् । उनीहरू सफल भएका छन् । हामीले अहिलेको तत्कालीन अवस्थालाई मात्र हेरेर ऐननियम बनाउने होइन । यसको सान्दर्भिकता सयौं वर्षपछि पनि उत्तिकै प्रभावकारी हुनु जरुरी छ । त्यसैले अब दूरदृष्टिका साथ ऐननियमहरू बन्नुपर्छ भन्ने हो । मैले विभिन्न देशको अध्ययन गरेर ऐनको खाका बुझाएको थिएँ।’

सांगठनिक ढाँचा आफ्नै ठाउँमा छ । विकासोन्मुख देशहरूमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने गर्छ । संगठनलाई कसरी अगाडि बढाउने, कुन संस्कार दिने भन्नेमा नेतृत्वको अहम् भूमिका हुने गर्छ । नेपालजस्तो संक्रमणकालमा रहेका देशमा नेतृत्व गर्ने व्यक्तिको नियत, क्षमता र भिजन अझै महत्वपूर्ण हुने प्रधानको जोड छ। 

‘हामी अझै संक्रमणकालमा छौं । यस्तो अवस्थामा पोलिटिकल इन्ट्रेस्ट धेरै हुन्छ । सैद्धान्तिक कुरामा आफ्नो अनुकूल हेरेर मात्र हुँदैन । दूरदृष्टिका साथ काम गर्नुपर्छ । संक्रमणकालमा नेतृत्वदायी भूमिकामा कस्तो व्यक्ति आउँछ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले नेतृत्व व्यावसायिक हुनु जरुरी छ । त्यसैले पोलिटिकल मान्छेभन्दा  ब्युरोक्य्राट्सहरूलाई नेतृत्व दिँदा राम्रो हुन्छ । यसले संगठनभित्र पार्टीगत विभाजन हुन दिँदैन।’ 

राष्ट्रिय टोलीको तयारी
कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता वा खेलमेलामा सहभागिताअघि नेपाली राष्ट्रिय टोलीको तयारी झारो टार्नमै सीमित हुने गरेको छ । भर्खरै इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदको तयारी र प्राप्त नतिजाले पनि नेपाली खेलकुदको चिर हरण गरेको छ । दुई वर्षअघि भारतमा भएको १२औं सागमा पनि नेपालको कमजोर तयारीले त्यहीअनुसारको नतिजा पायो । बंगलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पनि नेपालको नियत फरक थिएन। 

हरेक पटक सहभागिताअघि तयारी राम्रो गरेको र पदक जित्ने दाबी गर्न होडबाजी गर्ने खेलपदाधिकारी पराजयपछि तयारी नपुगेको, अरूको तयारी झनै राम्रो भएको, राज्यको लगानी नभएका जस्ता बकम्फुसे कुरा गरेर उम्किइरहेका हुन्छन् । अरूले गर्ने तयारी हामी किन गर्न सक्दैनौं ? तयारी गर्न नसकेको कुरा किन हारेपछि मात्र थाहा पाउँछाैं जस्ता प्रश्नको जबाफ नेपाली खेलप्रशासनले कहिल्यै दिन खोजेको छैन। 

विश्लेषकहरू नेपाली खेलकुदको लगातारको असफलतामा कमजोर तयारी, देशभित्रको कमजोर पूर्वाधार, कम लगानीजस्ता रेडिमेड कारणमा मात्र अल्झिएर बस्नु नहुने बताउँछन् । नेपाली खेलाडी, पदाधिकारी र खेल अधिकारीहरू राष्ट्रियता र खेलप्रति गम्भीर नहुनु पनि लगातार निराशाको एउटा कारणका रूपमा लिनुपर्ने उनीहरूको जोड छ । फौजी पृष्ठभूमिबाट आएका प्रधान पनि त्यसमा सहमत छन्।

भन्छन्, ‘सबभन्दा पहिला खेलाडीलाई अनुशासित र गम्भीर बनाउनुपर्छ । खेलाडीले सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्छन् । उनीहरूमा देशका लागि खेल्न पाएको छु भन्ने गम्भीरता जगाउन सक्नुपर्छ । आजभोलि खेलाडीमा अनुशासनको कमी देखिन्छ । मैदानबाट हारेर निस्कदा पनि हाँसिरहेका देखिन्छन् । उनीहरूमा हारियो भन्ने अलिकति पनि पछुतो भाव देखिँदैन । यस्तो अनुशासनहीन भएर हुन्छ ? यसले राष्ट्रकै बेइज्जत भइरहेको छ ।’
अब के गर्नुपर्छ त ?

प्रधानकै शब्दमा , ‘राष्ट्रिय टिममा परेका खेलाडीलाई लामो समय सेनाको शिविरमा राखेर प्रशिक्षण गर्ने योजना बनाएका थियौं । बाहिर पनि कतिपय देशमा यस्तो व्यवस्था छ । यसरी फौजसँग बसेर त्यहाँको नियम पालना गर्दै प्रशिक्षण गराउँदा खेलाडीमा राष्ट्रवादी भावनाका साथै अनुशासन पलाउँछ । खेलाडी राष्ट्रका सम्पत्ति हुन् । उनीहरूले अन्तर्राष्ट्रिय जगत्मा देशलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् । उनीहरूको बोलीचाली हाउभाउबाट देशको मूल्याङ्कन हुन्छ । त्यसैले खेलाडी अनुशासित हुनु जरुरी छ।’ 

साग तयारी भाषणमा बाहेक अन्त भेटिँदैन 
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भनेजस्तै सबै काम हुने हो भने अबको पाँच महिनापछि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजना भइरहेको हुनेछ । फलानोले यति पदक जित्यो, ढिस्कानोले यति पदक जित्यो भनेर गणना भइरहेको हुनेछ । देश खेलकुदमय बनिरहेको हुनेछ।

मुखले भनेर हुने भए नेपाल अहिले विश्वकै सबैभन्दा विकसित राष्ट्रका रूपमा उदाइसकेको हुन्थ्यो । तर, धरातलमा हेर्ने हो भने नेपाल अझै विकासोन्मुख राष्ट्रको हैसियतभन्दा माथि उठ्न सकेको छैन । राजनीतिक दलका नेताहरूले समृद्ध नेपाल भनेर रटान लागएजस्तै एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ पनि तोकिएकै समय (फागुन २५ देखि चैत ४ सम्म) मा १३औं साग गर्न नेपाल सक्षम छ भनेर ढिपी गरिरहेका छन् । उनी भन्छन्, ‘एसियन ओलम्पिक काउन्सिलले पछिल्लो पटक गरेको निर्णयबाट हामी पछि हटेका छैनौं । हामी तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्न सक्छौं भन्नेमा दृढ छौं । समयमै आयोजना गर्नेमा सबै पक्ष सकारात्मक छौं।’

प्रतियोगिता आयोजना त गर्ने तर कस्तो र कसरी गर्ने भन्ने मुख्य प्रश्न हो । पाँच महिनापछि नै प्रतियोगिता गर्ने हो भने खेल आयोजना हुने भौतिक संरचनाहरू तयार भएर अहिले नेपाली खेलाडीले त्यहाँ अभ्यास गर्न पाउनुपथ्र्यो । घरेलु मैदानमा खेल्दै छु भन्ने महसुस गर्न सक्ने गरी । तर, अहिले हामीसँग अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने कतिवटा कभर्ड हल तथा रंगशाला उपलब्ध छन् ? यसको ठोस जबाफ कसैसँग पनि छैन । ‘बन्दै छ । हामी प्रतियोगिता अगाडि सबै तयार हुन्छन्,’ सबैले दिने ओठे जबाफ यही हो।

हुन त नेपाल सरकारले पछिल्लो समय सार्क शिखर सम्मेलन र विमस्टेक सफलतापूर्वक आयोजना गरेको छ । रातारात सडक र भित्ताहरू रंगाएर जसोतसो नेपालले यी दुई बैठक सम्पन्न गर्याे । त्यसका लागि रंगाइएको भित्ताका रंगहरू सुक्न नपाउँदै त्यति बेला कालोपत्रे गरिएका सडक हिलाम्मे भइसकेका छन् । के हामीले १३औं साग पनि यस्तै झाराटारे रूपमा गर्ने हो त ? अनि सागमा पनि बिमस्टेक र सार्कमा जस्तै थोरै पाहुना मात्र आउने हुन् र ? एउटा सम्मेलन हल सागलाई पर्याप्त होला र ? चाबहिलदेखि थलीसम्मको ६ किलोमिटर बाटो कालोपत्र गर्न नसक्दा गोकर्ण फरेस्ट रिसोर्टमा राख्ने भनिएको रिट्रिट सोल्टीमै गर्नुपरेको यथार्थ बाँकी रहेका पाँच महिनामा पूरै फेरिएला र ?
‘होइन । अहिलेको यही अवस्थामा साग गर्न सम्भव छैन । यस्तो प्रतियोगिता ओलम्पिक कमिटीले भन्दा पनि देशले आयोजना गर्ने हो।

देश अहिले संकक्रणकालकै अवस्थामा छ । नयाँ व्यवस्थामा प्रवेश गरेको छ । यस्तो बेला प्रतियोगिता आयोजना गर्दा नेपाल स्थिरता र विकासतर्फ उन्मुख छ भन्ने सन्देश विश्वसामु दिन सक्नुपर्छ । होइन भने हाता लाग्यो शून्य हुनेछ,’ पछिल्लो समय नेपालले आयोजना गरेको सबैभन्दा ठूलो खेल महोत्सव आठौं साग आयोजना गर्दा सुरक्षा कमान्ड सम्हालेका प्रधान भन्छन्, ‘प्रतियोगिताका लागि बनाइएका पूर्वाधारहरू संघ तथा खेलाडीहरूले पछिसम्म प्रयोग गर्न सक्ने खालको हुनुपर्छ । त्यही खालको संरचना बनाउनुपर्छ । सागका लागि आउने विदेशी पाहुनालाई नेपाल संवृद्ध छ भन्ने सन्देश दिन सक्नुपर्छ । यही धूवाँ, धूलो र खाल्डा खुल्डीमा गुडाएर, पालमुनि वा पार्टी प्यालेसमा खेलाएर देशको इज्जत धानिँदैन।’

लामो समयपछि घरमा हुन लागेको यति ठूलो प्रतियोगिताको मिति नजिकिँदै गर्दा खेल क्षेत्रमा एक खालको उत्साह देखिनुपर्ने हो । सबै संघहरूले खेलाडी छनोट गरेर प्रशिक्षण सुरु गरिसकेको हुनुपर्ने हो । तर, कहीं पनि त्यस्तो खालको उत्साह देखिँदैन । नेपालले यही फागुनमै १३औं साग आयोजना गर्दै छ भन्ने छनक केही खेल पदाधिकारीको भाषणमा बाहेक अन्त भेटिँदैन।

‘प्रतियोगिता आयोजना गर्दा हाम्रा खेलाडीले कति पदक जित्छन् भन्नेमा पनि ध्यान दिनुपर्छ । हामीले आयोजना गरेको प्रतियोगितामा हाम्रै खेलाडी हारेको हा¥यै गर्दा त्यसको सन्देश कस्तो जान्छ ?,’ प्रधानले थपे, ‘ प्रतियोगिता हामीले आयोजना गर्ने पदक सबै अरूले जित्दा राम्रो हँुदैन । त्यसैले खेलाडीले धेरैभन्दा धेरै पदक जित्ने रणनीति पनि बनाउनुपर्छ । हरेकमा हामी नेपाली भन्ने भावना पैदा गराउनुपर्छ । देशप्रेमको भावना उत्पन्न हुनुपर्छ । अनि मात्र हामीले आयोजना गरेको प्रतियोगिताले सार्थकता पाउँछ । उपलब्धिमूलक हुन्छ । यथास्थितिमा गर्दा कुनै पूर्वाधार पनि नबन्ने, अन्तर्राष्ट्रिय जगत्मा देशको राम्रो सन्देश पनि नजाने, हाम्रा खेलाडीले नजित्ने पनि भएपछि बिना बित्थामा किन त्यत्रो ठूलो धनराशि खर्च गर्ने ?’

त्यसै पनि प्रतियोगिताको मिति निर्धारितभन्दा एक वर्ष पछाडि धकेलिइसकेको छ । र अझै पनि समयमै प्रतियोगिता हुन सक्छ भन्नेमा स्वदेशमा मात्र होइन विदेशमा शंका र चासो बढिरहेको छ । श्रीलंकाले त पटकपटक नेपालले गर्न नसक्ने हो भने हामी गर्छांै भनेर मुख खोलिसकेको छ । नेपालले पहिल्यै श्रीलंकालाई त्यो अवसर दिएर अबको दुई वर्षमा राम्रो तयारी गरेर आयोजना गरेको भए खेलाडीले यसबीचमा दुई प्रतियोगिता खेल्न पाउने थियो । उमेरका कारण खेलाडी सधैं सकृय हुन सक्दैन । त्यसैले सकृय उमेरमा धेरै प्रतियोगिता खेल्न पाउनु खेलाडीका लागि फलदायी हो । तर, आयोजक राष्ट्रले यसरी झुलाउँदै समय सार्दै जाने हो भने खेलाडी खेल्न पाउने अधिकारबाट वञ्चित हुन्छन्। 

भौतिक संरचना, खेलाडीको तयारी मात्र होइन नेपाली खेलकुदका तीन शक्ति केन्द्रबीच नै राम्रो समन्वय हुन नसकेको प्रधानको बुझाइ छ । ‘सरकार र ओलम्पिकबीचको सम्बन्ध राम्रो छ जस्तो मलाई लाग्दैन । त्यसैले नेतृत्व परिवर्तन भएपछि वा सरकार र ओलम्पिकबीचको टसल सुल्झिए मात्र प्रतियोगिता हुने देखिन्छ । नभए हुँदैन,’ प्रधान थप्छन्, ‘हामीले आयोजना गर्दा भूकम्पपछि नेपालमा स्थितरता भइसकेको, राजनीतिक व्यवस्था परिवर्तन भएर देख समृद्धितर्फ गएको सन्देश प्रवाह गर्न सक्नुपपर्छ।’





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad