७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको राजीनामा माग

बैगंलुरुस्थित येलाहान्का सैन्य शिविरमा सन् २०१५ को फेब्रुअरीमा आयोजना भएको ‘एरो इन्डिया एयर सो’ का क्रममा राफल फाइटर जेट। फाइल तस्बिर : एजेन्सी

नयाँ दिल्ली – फ्रान्ससँग भएको सैन्य जेट सम्झौतालाई प्रभावित पार्न खोजेको आरोप लागेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिनुपर्ने माग आएको छ।

फ्रान्सका पूर्वराष्ट्रपति फ्रान्सिस हलान्दले जेट सम्झौतामा नयाँ दिल्लीले स्थानीय साझेदारको विकल्पलाई प्रभावित पार्न खोजेको भन्ने भनाइ उद्धृत गरिदिएपछि विशेषगरी भारतीय प्रतिपक्षी नेताहरुले मोदीको राजीनामा माग गरेका छन्।

सन् २०१६ मा फ्रान्सको डासल्ट उड्डयनसँग अनुमानित आठ अर्ब डलरबराबरको राफल विमान खरिद गरिएपछि सो समयदेखि नै भारतीय राजनीतिक दलहरुले प्रधानमन्त्री मोदीमाथि प्रश्न उठाइरहेका छन्। उनीहरुले प्रधानमन्त्री मोदीले ती विमानका लागि बढी खर्च गरेको र निष्पक्ष नभएको आरोप लगाउँदै आएका छन्।

पछिल्ला केही महिनादेखि भारतका प्रतिपक्षी दलहरुले सरकारले भारतका अर्बपति व्यापारी अनिल अम्बानीको रिलान्यस डिफेन्सलाई किन डासल्टको स्थानीय साझेदार बनाउनु परेको हो भन्ने प्रश्नको जबाफ माग गरिरहेका छन्। उनीहरुले दशकौं अनुभव भएको सरकार सञ्चालित उत्पादकको विकल्पमा अम्बानीलाई किन डासल्टको साझेदार बनाइयो भन्दै प्रश्न गरिरहेका छन्।

नयाँ दिल्लीले डासल्टलाई अम्बानीको कम्पनी रिलायन्सलाई साझेदार राख्न दबाब दिएको भन्ने पदमा रहँदा अन्तरसरकारी सम्झौतालाई अन्त्य गरेका फ्रान्सका पूर्वराष्ट्रपति हलान्दको भनाइ उद्धृत गर्दै शुक्रबार विवरण बाहिरिएको थियो।

‘हामीसँग विकल्प थिएन । हामीले हामीलाई दिइएको विकल्प छान्यौं,’ फ्रान्स समाचार सेवाले राष्ट्रपति हलान्दलाई उद्धृत गर्दै शुक्रबार जनाएको छ । यो विवरण बाहिरिएसँगै भारतको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको रोयटर्सले उल्लेख गरेको छ।

भारतको रक्षा उपलब्धीसम्बन्धी नियमअनुसार कुनै पनि विदेशी कम्पनीले भारतमा करार रकमको ३० प्रतिशत लगानी गर्नुपर्छ । त्यसैका लागि फ्रान्सेली कम्पनीले राज्य सञ्चालित कम्पनी ‘हिन्दूस्तान एरोनेटिक्स लिमिटेड’को साटो रिलायन्स कम्पनीलाई छनौट गरेको थियो । हिन्दूस्तान एरोनेटिक्स लिमिटेडले दशकौंदेखि विमान उत्पादन गरिरहेको छ । उसले उत्पादन गर्ने अधिकांश विमान रुसी लाइसेन्सअन्तर्गत हुने गर्दछ।

‘प्रधानमन्त्रीले व्यक्तिगत रूपमा सम्झौता गरे र राफल सम्झौतालाई बन्द कोठाभित्र परिवर्तन गरे । फ्रान्सिस हलान्दलाई धन्यवाद, प्रधानमन्त्री मोदीले अनिल अम्बानीसँग अर्बौं डलरको व्यक्तिगत सम्झौता गरेको अब हामीले बुझेका छौं,’ भारतका प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले ट्विट गरेका छन् । ‘प्रधानमन्त्रीले भारतलाई धोका दिएका छन्,’ राहुलले गरेको ट्विटमा जनाइएको छ।

‘हलान्दले वास्तविकता खोलिदिएपछि भारतमा व्याप्त भ्रष्टाचारलाई जरैदेखि उखेलेर फ्याल्ने प्रतिबद्धता गरेर सन् २०१४ मा भारतको शक्तिमा आएका मोदीसँग अब सरकारमा रहिरहने नैतिक आधार बाँकी छैन,’ कंग्रेसका वरिष्ठ नेता आनन्द शर्मालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । कंग्रेसबाहेक भारतका साना दल पनि मोदीविरुद्ध खनिएका छन् । भारतका सन् २०१९ मा आमनिर्वाचन हुँदैछ र यो विषयले भारतको राजनीतिमा नयाँ मोड लिने अनुमान गरिएको छ । फ्रान्सका पूर्वराष्ट्रपति हलान्दको अभिव्यक्ति र त्यसपछि सिर्जित अवस्थाबारे प्रधानमन्त्री मोदीको कार्यालयले भने कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ । यस विषयमा न त भारत सरकार न नै फ्रान्स सरकारलाई केही बोल्नु रहेको भारतीय रक्षा मन्त्रालयले ट्विटमार्फत् जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७५ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App