८ वैशाख २०८१ शनिबार
समाज

मुस्लिम समुदायको धार्मिक स्थल कब्जा

अतिक्रमित कब्रस्थान र इदगाह। तस्विरः योगेश/नागरिक

टीकापुर – टीकापुर नगरपालिकामा बसोबास गर्दै आएका मुस्लिम समुदायले केहि व्यक्तिहरुले आफ्नो धार्मिक आस्थामाथि प्रहार गरेको आरोप लगाएका छन्।

उनीहरुले वर्षौदेखी कब्रस्थान र इदगाहका रुपमा प्रयोग गर्दै आएको जमिन कब्जा गरेर ती व्यक्तिहरुले धार्मिक क्रियाकलापमा रोक लगाई आफूहरुको धार्मिक आस्थामा प्रहार गरेको बताए।

मुस्लिम समुदायका व्यक्तिहरु टीकापुर नगरपालिका–१ जमरा किनारमा रहेको इदगाहमा शुक्रबार मोहरमको समापन गर्न जाँदा केही व्यक्तिहरुले अवरोध गरेको बताइएको छ। ‘हामी हरेक वर्ष झैं मोहरमको समापनका लागि त्यहाँ पुग्दा केही व्यक्तिले अवरोध गरे’ स्थानीय चुन्ना कुरेसीले भने, ‘उनीहरुले हाम्रो धार्मिक आस्था माथि प्रहार हुने व्यवहार देखाए।’

मुस्लिम समुदायले ती व्यक्तिहरुले गालीगलौज गर्नुका साथै हातपात समेत गर्न खोजेको बताएका छन्। ‘हामीले संयमता नअपनाएको भए ठूलै दुर्घटना हुन्थ्यो’ एक मुस्लिम समर्थकले भने, ‘हामी चाडबाडको रमाइलोमा थियौं। जेजसो भनेपनि सहेर बस्यौं।’

टीकापुर बहुमुखी क्याम्पसको जमिन कब्जा गरेका कथित भूमिहिन सुकुम्वासीहरुले नै मुिस्लम समुदायको कब्रस्थान र इदगाह समेत कब्जा गरेको बताइएको छ। उनीहरुले सो ठाउँमा यसैवर्ष करिव १० वटा घरटहरा निर्माण गरेका छन्। कतिपय घरटहरामा मानिस बस्दैनन्।

मुस्लिम समुदायले आफ्नो धार्मिक आस्थामाथि प्रहार हुने गरी कार्य नगर्न आग्रह गरेपनि उनीहरुले उल्टै धम्काएको स्थानीय अकबर अली कुरेसीले दुःखेसो पोखे। उनका अनुसार अतिक्रमणकारीहरुले मुस्लिम समुदायलाई कब्रस्थान र इदगाहका लागि अन्यत्र जग्गा खोज्न धम्की दिएका छन्।
‘तिमीहरु अन्यत्र खोज यो हामीले कब्जा गरिसकेको हो भन्छन’, उनले भने, ‘वर्षौदेखीको आस्था छोडेर हामी कहाँ जाने।’ सो ठाउँ मुस्लिम समुदायले २०३० सालदेखी कब्रस्थान र इदगाहका रुपमा भोगचलन गर्नै आएको वृद्ध मोहम्मद अब्दुल अली कुरेसी (८६) ले जानकारी दिए। उनी २०२७ सालदेखी टीकापुरमा बस्दै आएका छन्। उनले सो ठाउँमा अहिलेसम्म करिव २५ जनाको अन्तिम संस्कार भइसकेको बताए।

मुस्लिम समुदायले तत्कालिन टीकापुर विकास समितिका अध्यक्ष स्व. खड्गबहादुर सिँहलाई अन्तिम संस्कारका लागि जमिन माग गरेका थिए। स्व. सिँहले नै सो ठाउँ उपलब्ध गराएको वृद्ध कुरेसी बताउँछन्। उनका अनुसार करिव ३ विगाह क्षेत्रफलमा कब्रस्थान र इदगाह बनाइएको छ।

मुस्लिम समुदायलाई मान्छे मर्दा कहाँ गाड्ने भन्ने चिन्ता छ। अल्पसंख्यक रुपमा रहेका उनीहरु फेरी पनि अवरोध हुनसक्ने भन्दै निकै डराएका छन्। उनीहरुले केही व्यक्तिहरुले राजनीतिक आडमा त्यसो गरेको बताएका छन्। ती व्यक्तिहरुले कुनैपनि बेला आफूहरुमाथि आक्रमण गर्न सक्ने भन्दै मुस्लिम समुदायले सुरक्षाको माग समेत गरेका छन्।

प्रकाशित: ७ आश्विन २०७५ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App