coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'स्वतन्त्र र निर्भीक न्यायाधीश आवश्यक'

काठमाडौं - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश स्वतन्त्र र निर्भीक बन्न आवश्यक भएको बताएकी छन्। काठमाडौंमा शनिबार ‘न्याय’ नामक आत्मकथा सार्वजनिक गर्दै कार्कीले न्यायालयमा राजनीतिक दबाब पर्न नहुने बताइन्। ‘निर्भीक न्यायाधीशको आवश्यकता छ। न्यायालयमा राजनीतिक दबाब पर्नुहुन्न। कार्यपालिकाबाट दबाब र प्रभाव पर्ने हो भने त्यसको असर सरकारलाई पनि पर्छ,’ कार्कीले भनिन्, ‘न्यायलयमा दबाब परेमा शक्ति सन्तुलनमा प्रभाव पर्न सक्छ। दबाब दिएमा एकतन्त्रीय शासनशैली बन्न सक्छ।’

प्रधानन्यायाधीशबाट अवकाश पाएको १५ महिनापछि उनले आत्मकथा सार्वजनिक गरेकी हुन्। उनले ३६० पृष्ठको आत्मकथामा आफ्नो बाल्यकालदेखि स्कुल, क्यापस जीवन, ३१ वर्षे वकालत पेसा, न्यायाधीश नियुक्ति, प्रधानन्यायाधीशसम्मको यात्रालाई समेटेकी छिन्। ११ महिनासम्म प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गरेकी कार्कीले उमेर हदका कारण २०७४ जेठ २३ मा अवकाश पाएकी थिइन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले ३६० पृष्ठको आत्मकथामा बाल्यकाल, स्कुल तथा क्यापस जीवन, ३१ वर्षे वकालत पेसा, न्यायाधीश नियुक्तिदेखि प्रधानन्यायाधीशसम्मको यात्रालाई समेटेकी छन्।

कार्यक्रममा कार्कीले सबै दलले एक भएर लोकतन्त्र ल्याएको उल्लेख गर्दै न्यायाधीशलाई स्वतन्त्र र निर्भीक बन्न सुझाइन्। कार्यपालिका, व्यवस्थापिकाबाट यदाकदा हुने त्रुटिलाई पनि न्यायपालिकाले व्यवस्थित गर्नसक्ने उनको भनाइ थियो। न्यायपालिका स्वतन्त्र भएमात्र लोकतन्त्र फस्टाउन सक्नेमा उनले जोड दिइन्। आफू न्यायपालिकामा हुँदा देखिएका कमीकमजोरी र हस्तक्षेपलाई आफूले नढाँटेर पुस्तकमा उल्लेख गरेको उनले दाबी गरिन्। ‘जे भोगें, कहीं कतै नढाँटी लेखेकी छु। म कुनै सम्भ्रान्त, शाही परिवार वा धनाढ्यकी छोरी पनि होइन,’ कार्कीले थपिन्, ‘कसैको चित्त दुखाउने हिसाबले होइन, भावी पुस्ताले विगतको जानकारी पाऊन् भन्ने लागेर बाहिर ल्याएँ । जे देखें, त्यही लेखें।’

कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले आफू कार्कीको सरलताबाट प्रभावित भएको बताए। कार्कीविरुद्ध महाभियोग प्रस्ताव पेस भएपछि आफूसमेत सडकमा उत्रेको उनले स्मरण गरे। उनले कार्कीको पुस्तकमा न्यायालयभित्र दलालको बिगबिगी, संस्थालाई कमजोर बनाउनेलगायतका विषय समेटिएको बताए।

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले पूर्वप्रधानन्यायाधीश कार्कीको सरल, सहज र हठी स्वभाव भएको बताए। राम्रो काम गरेकै कारण महाभियोग लगाएको प्रसंग उनले कोट्याए। ‘हाम्रो देशमा यस्तो छ, महाभियोग लगाउनुपर्नेलाई पदक दिइन्छ । पदक दिनुपर्नेलाई महाभियोग लगाइन्छ।’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पुस्तक मुलुकको ठूलो प्रमाण भएको बताए। पुस्तकमा मानवीय संवेदना, संघर्षका गाथा, निष्ठा, सही कामको मुक्त प्रशंसा र गलत कामको आलोचना भएको उनले स्पष्ट पारे। ‘मुलुकमा सामाजिक रूपान्तरण गर्न आवश्यक ठानेर लेखकले सामान्य नागरिकका रूपमा पुस्तक बाहिर ल्याउनुभएको छ,’ वरिष्ठ अभिवक्ता भण्डारीले भने, ‘वकालत जीवनदेखि, न्यायाधीश र नागरिकका रूपमा आफूलाई पुस्तकमा चित्रण गर्नुभएको छ।’ कार्कीको पुस्तक विमोचनमा पूर्वन्यायाधीशदेखि, न्यायाधीश, वकील, पूर्वकर्मचारी, कलाकारसम्मको उपस्थिति थियो।

प्रकाशित: ७ आश्विन २०७५ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App