७ वैशाख २०८१ शुक्रबार
समाज

ढुवानी नरोकिँदा पनि तेल थाप्न लाम

काठमाडौं - मुलुकी अपराध संहिताका केही प्रावधान आफ्नो पक्षमा नभएको भन्दै चालक आन्दोलनमा उत्रिएपछि बिहीबार पेट्रोलियम पदार्थ ढुवानी रोकियो। राजधानीमा त्यसको प्रभाव बिहीबार अपराह्नबाटै देखियो। पम्पमा इन्धन भर्न सवारीसाधनको लामो लाम लाग्यो। शुक्रबार दिउँसोको वार्तामा चालकको मागअनुसार संहिता संशोधन गर्न सरकार तयार भयो । त्यसपछि पेट्रोलियम पदार्थ ढुवानी सुचारु भएको समाचार पनि आयो। तर, राजधानी काठमाडौंमा भने पेट्रोलियम पदार्थको हाहाकार यथावतै रह्यो। शुक्रबार दिनभर मात्र नभएर शनिबार पनि एकाबिहानै राजधानीका पेट्रोलपम्पमा सवारीसाधनको लर्को देखियो।

पेट्रोलियम पदार्थ ढुवानी सुचारु गरिए पनि उपभोक्ता आत्तिएको देखिन्थे। उनीहरु २०७२ सालमा भएको भारतको अघोषित नाकाबन्दीकै जस्तो अवस्था हुन्छ कि भनेर तर्सेका थिए। कोहीकोही भने समस्यामै परेर तेल थाप्न लाम लागेका थिए भने धेरैजसो उपभोक्ता नाकाबन्दीको जस्तो चरम अभाव होला भनेर पेट्रोल पम्पमा पुगेका थिए।

सिन्धुपाल्चोकका किरण भट्टराई आँखा उपचारका लागि शुक्रबार काठमाडौं आए। उनले शनिबार तिलगंगा आखा अस्पतालमा इमर्जेन्सीको टिकट काटेका थिए । मोटरसाइकलमा तेल सकिनै लागेको थियो। उनले आँखाको उपचार गराउन छाडेर मोटरसाइकलमा तेल हाल्ने कामलाई प्राथमिकता दिए। शनिबार बिहानै चुच्चेपाटी फ्युल सेन्टरमा लाइमा भेटिएका भट्टराईले भने, ‘अस्पताल जानुपर्नेमा तेलको लाइनमा बसेको छु। आँखा उपचार त भोलि पनि गराउँला, हाहाकारका बेला तेल हाल्न छुटाउन सकिँदैन।’ दुई दिन तेल नआउँदैमा यस्तो हाहाकार भयो भने दुईचारै दिन आएन भने झनै समस्या होला भनेर तेल हाल्ने कामलाई प्राथमिकता दिएको उनले बताए। शुक्रबार पनि उनी तेलको खोजीमा हिँडेका थिए। बौद्ध, जोरपाटी, नारायणटारसम्म तीनचारवटा पम्प घुम्दा पनि उनले तेल पाएनन्। शनिबार भने चुच्चेपाटीमा तेल आउने थाहा पाएपछि सखारै लाइन बस्न आइपुगेको उनले बताए।

कपनका सानुराजा ठकुरी पनि आफ्नो स्कुटर लिएर पेट्रोलको लाममा देखिन्थे। शुक्रबार पनि दुईतीनवटा पेटोल पम्पमा पुगे उनी। कतै तेल नपाएपछि शुक्रबार चुच्चेपाटीमा आएर लाइन बसे। नाकाबन्दीको समयमा खेप्नुपरेको इन्धन अभाव सम्झेर उनी जसरी भए पनि पेट्रोलको जोहो गर्नैपर्ने ध्याउन्नमा थिए।

नाकाबन्दीका बेला सरकारले ९० दिनसम्म पुग्नेगरी तेल भण्डारण गर्ने योजना सार्वजनिक गरे पनि त्यसलाई अझै अघि बढाएको छैन। त्यो योजना कार्यान्वयन नहुँदा राजधानीवासी भने तेल नै नपाइने अत्यासका कारण आफ्ना महत्वपूर्ण काम छाडेर पेट्रोलको लाइनमा बसेका भेटिए। पेट्रोलको लाइनमा बसेका उपभोक्ता भने सरकारप्रति आक्रोशित थिए। ‘सरकारले कहिल्यै पनि जनताको हितमा काम गर्दैन भनेर बुझियो,’ जोरपाटीको पेट्रोल पम्पमा भेटिएका नरेन्द्र पौडेलले भने, ‘नाकाबन्दीबाट सिकेर भण्डारण गर्नुपर्ने हो । तर, यसका लागि सरकारले चासो लिएन।’

पम्पमा उपलब्ध तेलको परिमाण पर्याप्त नहुनु र लाइनमा बसेका उपभोक्ताको संख्या बढी हुनाले लाम लागेकाहरू निराश र थकित देखिन्थे। ‘लाइनमा बसेको दुई घन्टा हुन लागिसक्यो, आज पनि तेल पाइएला जस्तो छैन,’ बराल पम्प जोरपाटीमा लाइन बसिरहेका चालक सविन खत्रीले भने, ‘हिजैदेखि तेल सकिएर कुनै काम गर्न पाएको छैन।’ सरकारको लापरबाहीका कारण आफूहरूको दैनिकी अस्तव्यस्त भएको उनको दाबी थियो। सरकारले दुईचार दिनलाई मात्रै तेल भण्डारण गर्न सकेको भए दुई दिन पेट्रोल ढुवानी नहुँदैमा घन्टौं लाइन बसेर कोटा प्रणालीका आधारमा तेल थाप्न उपभोक्तालाई बाध्य हुनु नपर्ने गुनासो भद्रकालीस्थित पेट्रोलको लाइनमा बसेकी शशिकला राउतको थियो।

काठमाडौंको थानकोटमा नेपाल आयल निगमको इन्धन डिपो छ। त्यो डिपोमा खन्याउने र ढुवानी गर्ने झन्झट भएको भन्दै निगमले ट्यांकर सीधै पेटोलपम्पमा पठाउने गरेको छ। जसले गर्दा एक दिन ढुवानी नहुँदा पनि राजधानीमा इन्धनको हाहाकार हुने गरेको छ। सामान्य अवस्थामा दैनिक दैनिक चारदेखि पाँच लाख लिटरसम्म राजधानीमा तेलको खपत छ। यो परिमाणमा तेल आपूर्ति नहुँदा राजधानीमा हाहाकार मच्चिने गरेको छ।

निगमका कार्यकारी निर्देशक सुशील भट्टराई भण्डारणभन्दा पनि व्यवसायी र चालकका कारण तेल अभाव भएको बताउँछन्। निगमले ट्यांकर थप गरेर तेल भण्डारण गर्ने योजना बनाएको उनले बताए।

प्रकाशित: ७ आश्विन २०७५ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App