४ वैशाख २०८१ मंगलबार
राजनीति

पार्टीको नेतृत्वका लागि निर्णय लिने बेला भएकाे छैन् : महामन्त्री कोइराला

बुटवल– नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले पार्टीको नेतृत्व गर्ने या नगर्ने भन्ने बिषयमा अहिले नै निर्णय गरिसक्ने बेला नभएको बताएका छन्। विपी विचार राष्ट्रिय समाज रुपन्देहीको पहिलो अधिवेशनको बुटवलमा उद्घाटन गर्दै महामन्त्री कोइरालाले पहिले जिल्ला जिल्लामा नेता कार्यकर्तासंग छलफल परामर्श गरेर उनीहरुकै भावना अनुरुप अगाडि बढ्ने बताएका हुन। 

स्वर्गीय नेता विशेश्वर प्रसाद कोइरालाको कार्यकर्ताप्रतिको समर्पण र स्नेहभावको स्मरण गर्दै कांग्रेस महामन्त्री कोइरालाले जनताको भावना बुझेर अगाडि बढ्न सक्ने नेता मात्रै सर्वमान्य नेता बन्ने धारणा राखे। स्वर्गीय नेताद्धय विपी र गणेशमानका बीचमा रहेको त्याग र बलिदानीको स्मरण गर्दै महामन्त्री कोइरालाले कार्यकर्तालाई केन्द्रमा राखेर अगाडि बढ्ने बताएका हुन्।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य बद्री पाण्डेले विचार र व्यवहारको तालमेल नै विपी विचार भएको बताए। विपीले देखाएको त्यागको राजनीति अहिलेको नेतृत्व र कार्यकर्ता पंक्तिले पनि सिक्नुपर्ने भन्दै उनले सबैभन्दा माथि पार्टीको विधान र नीति तथा कार्यक्रमलाई राखेर समग्र पार्टीको हितमा सोच्न नेतृत्व पंक्तिलाई आग्रह गरे। 

नेता भरत कुमार शाहले कम्युनिष्ट सरकार आफ्नै चरित्रका कारण डुब्दै गएको बताए। प्रतिनिधिसभा सांसद तथा लेखा समितिका सभापति समेत रहेका शाहले नेकपाका नेताहरु आफैले आफैलाई खिल झरेको अरिङ्गाल जस्तो महसुस गर्न थालेको उल्लेख गरे। 

अर्का नेता सञ्जय गौतमले विपीको विचार बोक्ने गौरवशाली पार्टी किन पछाडि पर्यो भनेर बहस चलाउनु पर्ने बेला आएको बताए। गौतमले पार्टीलाई बिधि र विधान अनुरुप चलायमान बनाउनुपर्ने खाँचो औल्याए। 

रुपन्देहीका पार्टी सभापति अब्दुल रज्जाक, प्रदेश ५ को प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको नेता बलदेव शर्मा पोखरेल, अरुण कुमार राठोर, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्साल, समाजका अध्यक्ष शरद भट्टराई लगायतले बोल्दै विपीको विचारलाई आत्मसाथ गर्दै अगाडि बढ्न सके अबको चार बर्षमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित हुने दावी गरे।

प्रकाशित: ६ आश्विन २०७५ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App