८ वैशाख २०८१ शनिबार
खेल

शहीद स्मारक ‘ए’ डिभिजनका लागि १४ टाेलीले गराए खेलाडी दर्ता

काठमाडौं -  असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा खेलाडी दर्ता गराएका छन्। 

एन्फाले दिएको शुक्रवार सम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका छन्। एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो। एन्फाले कम्तीमा १८ खेलाडी अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखेको थियो।

खेलाडीको दर्तासँगै मेडिकल इन्स्योरेन्स तथा खेलाडीले पाउने पारिश्रमिकको सम्झौता पत्र समेत क्लबले एन्फामा दर्ता गराएको महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। एन्फाले शुरुमा भदौ ३० गतेको समयसीमा राखेर खेलाडी दर्ताका लागि क्लबलाई आह्वान गरको थियो। तर क्लबले तयारी नपुगको भन्दै समय मागेपछि एक साता समय थप गरिएको थियो।

क्लबले दर्ता गरेको खेलाडीलाई सूचीकृत गर्ने काम भइरहेको बताउँदै ‘ए’ डिभिजनका लिग निर्देशक सञ्जीव मिश्रले एक दुई दिनमै खेलाडीको नामावली सार्वजनिक गर्ने बताए। लिग सञ्चालनका समयमा समेत क्लबलले आवश्यक परेको अवस्थामा खेलाडी दर्ता गर्न पाउने एन्फाले जनाएको छ।

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन्। लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख पाउनेछ।

यस्तै लिगको चौंथो टोलीले रु १५ लाख, पाँचाै टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछ। फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ। रासस

प्रकाशित: ६ आश्विन २०७५ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App