८ वैशाख २०८१ शनिबार
समाज

दसैँको साइत सार्वजनिक, जमरा कुन समयमा राख्ने ?

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ।

असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए। असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ।

यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ। त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ। १० बजेर २ मिनेटमा भवानीलाईस्थिर आसनमा राखिन्छ। असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दसैँको टीका परेको छ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ। देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा. डा. गौतमले बताए। विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ। भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ।

कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ। कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादसैँ समापन हुनेछ।   (रासस)

 

प्रकाशित: ६ आश्विन २०७५ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App